शुक्रबार, वैशाख १४, २०८१

रुपान्तरणको अर्थ र औचित्य

नारायण शर्मा २०७८ असोज २३ गते १६:०९

रुपान्तरण भन्नाले सामान्यतया कुनै समाज, वस्तु, व्यक्ति वा चेतना एक अवस्थाबाट अर्को गुणात्मक रुपले भिन्न र नयाँ अवस्थामा र विशेषतः राम्रो, उच्च र सशक्त अवस्थामा बदलिने प्रक्रिया हो । अंग्रेजीको ‘ट्रान्सफर्मेशन’लाई नेपालीमा रुपान्तरण भनिन्छ । यसको अंग्रेजीमा ‘अ सडेन डाइनामिक चेञ्ज अफ स्केनेरी अन स्टेज’ भन्ने अर्थ हुन्छ ।

यद्यपि, यहाँ कसैको रुप र अवस्थामा मात्र एक्कासी वा नाटकीय परिवर्तन भनिएको छ तापनि रुपान्तरण भन्नाले प्रायः स्वरुप र गुण अनि बाह्य र आन्तरिक दुवै रुपमा एकदमै अन्तर आउनु भन्ने नै हो । सामान्यतया प्रक्रिया र परिणामका दृष्टिले रुपान्तरण दुई थरीका हुन्छन् : एउटा हो, मात्रात्मक अर्थात अंश–अंश हुँदै सुस्त–सुस्त र क्रमशः हुने परिवर्तन । अर्को : गुणात्मक अर्थात् एकैपटक फड्को स्वरुप एक्कासी र अविश्वसनीय रुपले पूर्ववत् अवस्थाबाट आन्तरिक र बाह्य रुपमा समेत नितान्त भिन्न र नयाँ रुप–रङ्ग, गुण–सार, आकार–प्रकार र प्रकृति–प्रवृत्तिमा हुने परिवर्तन ।

यसका पनि सकारात्मक र नकारात्मक, राम्रो र नराम्रो, प्रगतिशील र प्रतिगामी, अग्रगामी र पश्चगामी, उर्ध्वोन्मुख र उँधोन्मुख अनि जीवनशील र मरणशील अवस्था हुन्छन् । यो सकारात्मक र जीवनशील प्रकृया र परिणाममा बदलिने कार्य अलि कठिन, जटिल र चुनौतीपूर्ण हुन्छ । यो प्रक्रियामा धेरै नै समय, श्रम, शक्ति, बुद्धि, आँट र लगन लाग्ने गर्छ भने त्यसको तुलनामा नकारात्मक र मरणशील प्रक्रिया सरल र शीघ्र नै हुने गर्छ । लगानी पनि कम नै हुन्छ ।
अहिले हाम्रो मुख्य चासो र चिन्ता मान्छे र समाजको चिन्तन, चरित्रसँगै यिनको अवस्था र व्यवस्थाको रुपान्तरण अर्थात् पूर्ण परिवर्तन (क्रान्ति)सँग सम्बन्धित छ ।

मान्छेको आफ्नो रुपान्तरणको अर्थात् आफैभित्रको विचार र आचारमा गर्ने र हुने क्रान्तिको प्रस्थान बिन्दु, केन्द्रबिन्दु वा मुख्य बिन्दु स्वयं उही व्यक्ति नै हो । यद्यपि, मान्छेको रुपान्तरणलाई विभिन्न विचार, व्यक्ति, विधि, व्यवहार, शिक्षा दीक्षा, ज्ञानगुन आदि केही विषय वा घटना र कारणले प्रभावित र प्रेरित गर्द छन् ।

तथापि, मान्छेको रुपान्तरण स्वयं ऊ आफैबाट, आफूभित्रबाट हुन्छ, गर्छ । अनि मात्र त्यो सम्भव, सार्थक र सफल हुन्छ । उसले आफ्ना सोँच–शैली, विचार–आचार, भावना–प्रवृत्ती, बानी–व्यहोरा र संस्कार–संस्कृतिमा फेरबदलबाट रुपान्तरणको प्रक्रिया थालनी गरी त्यसमा सफलतासँगै परिवार, समाज, पार्टी, राज्य र विश्वलाई बदल्ने अर्थात् रुपान्तरण गर्ने प्रकृया अघि बढाउनु पर्छ । यसरी मात्रै यो अघि बढ्छ र सफलतासम्म पुग्छ ।

एउटा सचेत र जिम्मेवार मान्छेले आफ्नो रुपान्तरणसँगै सबैलाई रुपान्तरण गर्दछ वा गर्न कोशिस गर्दछ । र परिवार, समाज, राज्य र सम्पूर्ण मानव जातिप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्दछ । यो कुरा बेग्लै हो कि रुपान्तरण कसैको आन्तरिक मामला र प्रक्रिया हुनाले बाह्य प्रयास र प्रभावको भूमिका कम हुन्छ । तर, रुपान्तरणको लागि बाह्य वातावरणको भूमिका महत्वपूर्ण, अनिवार्य र अपरिहार्य हुन्छ । अनि, कतिपय अवस्थामा निर्णायक हुन्छ । जे होस्, रुपान्तरण मूलतः आन्तरिक कारणबाटै सम्भव हुन्छ ।

रुपान्तरण अर्थात् परिवर्तनका मात्रात्मक र गुणात्मक प्रकृतिबारे उदाहरण दिँदा प्रायः पानी तात्ने र बाफ बन्ने प्रक्रिया र परिणामलाई उदाहरण दिइन्छ । चिसो पानीलाई आगो वा बिजुलीले ताप दिई तताउँदा र त्यो पानी तात्दा सुस्त गतिमा तातो हुँदै जान्छ । यो तातो हुने प्रक्रिया परिणाम त प्राप्त हुने तर पानीको पानी नै रहिरहने प्रक्रिया र परिणामलाई मात्रात्मक रुपान्तरण वा परिवर्तन भनिन्छ ।

यसैगरी चिसो पानीलाई तातो गर्दै जाँदा जब त्यो उम्लिएर बाफमा परिणत हुन्छ, तब त्यो प्रक्रिया र परिणामलाई रुपान्तरण वा गुणात्मक मानिन्छ । किनकी, पानीको चिसो गुण चरम तातोमा बदलियो, उम्लियो र पानीको तरल र बग्ने स्वरुप उड्ने बाफको अवस्थामा बदलिन्छ ।

मान्छेका सन्दर्भमा भन्नुपर्दा, जब एउटा सामान्य मान्छे काम व्यवहार, शिक्षा दीक्षा, ज्ञानगुन र संस्कारले सिपालु, शिक्षित, सचेत र सभ्य हुन्छ त्यो उसमा आएको रुपान्तरण हो । सामान्यतया मान्छेको रुपान्तरण भनेको कुनै खराब, गलत र दुष्ट मान्छे उसको आफ्नो पूर्ववत अवस्थाको विपरीत, उच्च र सुन्दर अवस्थामा अर्थात् असल, सही र सभ्य–सेवक मान्छे बन्नु हो ।

नराम्रो मान्छेबाट राम्रो मान्छेमा बदलिनु रुपान्तरण हो । तर, एउटा सामान्य मान्छे क्रमशः अलिकति राम्रो बन्नु मात्रात्मक परिवर्तन वा आंशिक रुपान्तरण मात्र हो भने कुनै खराब मान्छे पूरै असल मान्छे बन्नु गुणात्मक परिवर्तन वा सकारात्मक रुपान्तरण हो । उदाहरणको लागि एउटा साधारण मान्छे रत्नाकर एक कुख्यात डाँकामा बदलिनु उसमा आएको नकारात्मक वा विकृत रुपान्तरण हो भने त्यही रत्नाकर डाँका नै पुनः वाल्मीकि ॠषि बन्नु सही र सकारात्मक रुपान्तरण हो । तर यो अघिल्लो रुपान्तरण केही सरल र सहज हुन्छ भने पछिल्लो रुपान्तरण बढी कठिन र जटिल हुन्छ । त्यसैले प्रायः मानिसहरूले सामान्यतया सकारात्मक वा सही अग्रगामी रुपान्तरण हुने काम कुरालाई प्रायः अविश्वसनीय र असम्भव जस्तै ठान्दछन् ।

यस सन्दर्भमा कुनै अवसरवादी, स्वार्थी, व्यक्तिवादी, भ्रष्ट र दुष्ट मान्छे क्रान्तिकारी, त्यागी, समूहवादी, स्वच्छ र इष्ट मान्छेमा बदलिनु नै सही अर्थमा रुपान्तरण हो । तर, त्यस्तो भएको प्रायः पाइँदैन । बरु त्यसविपरीत असल र राम्रो मान्छे चरम खराब र नराम्रो मान्छेमा रुपान्तरण भएको देखिन्छ । हिजोका राजनीतिक क्षेत्रका प्रायः असल, नैतिक, स्वच्छ, जनसेवी, देशभक्त र त्यागी नेता कार्यकर्ता र राज्य संचालकहरु आज जसरी खराब, अनैतिक, भ्रष्ट, जनविरोधी, देशघाती र भोग विलासीजस्ता परमविपरीत अवस्थामा सजिलै बदलिएका छन् । यो पनि रुपान्तरण त हो । तर, यो नकारात्मक रुपान्तरण हो ।

यदि, यी र यस्ता मान्छेहरू पुनः सप्रन्छन् र क्रान्तिकारी, देशभक्त र जनसेवी बन्छन् भने त्यो पनि रुपान्तरण नै हो । र, त्यो रुपान्तरण नै सच्चा र सकारात्मक रुपान्तरण हो । हो, यही रुपान्तरणलाई नै सामान्यतया रुपान्तरण भनिन्छ ।

नेता शासकहरुको यस प्रकारको रुपान्तरण नै नेपाली समाजको रुपान्तरणको लागि अत्यावश्यक भएको छ । यद्यपि, यस्तो रुपान्तरण जटिल र कठिन छ । तर, अहिले यसको औचित्य र आवश्यकता दिन दुई गुणा, रात चौगुनाका दरले बढ्दै गएको छ ।

आज यस प्रकारको रुपान्तरण हुने कुरामा आम जनतालाई विश्वास नभए पनि सिद्धान्ततः यिनमा रुपान्तरण हुँदै हुन्न र असम्भव नै छ भन्ने चाहिँ होइन । सके सकारात्मक रुपान्तरण होला, नभए यिनको नकारात्मक रुपान्तरण त अनिवार्य र अवश्यम्भावी छ, र अन्ततः यिनको निषेध हुने कुरामा कुनै शंका छैन । यो नै अहिलेको हाम्रो नेपाली समाजको समयको परम आवश्यकता र माग बनेको छ ।

यस प्रकारका हालका व्यक्ति, शक्ति र समाजको अवस्था र व्यवस्थालाई रुपान्तरण वा निषेध गर्नका लागि भने सचेत, संगठित, साहसिक, संयुक्त र सशक्त संघर्षसमेत गर्नु जरुरी छ । यही जरुरत पूरा गर्न गराउन समर्पित र सामूहिक रुपले लाग्नु नै अहिलेका सम्पूर्ण सचेत समुदाय, शक्ति र व्यक्तिको सही कर्तव्य हो ।

प्रतिक्रिया