शुक्रबार, वैशाख १४, २०८१

रेमिट्यान्स घटेसँगै आर्थिक सुधारमा समस्या

किरण अधिकारी २०७८ असोज २३ गते १०:२९

काठमाडौँ । वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्समा गिरावट आएसँगै अर्थतन्त्रमा समस्या देखिने भएको छ । यद्यपि, केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक अवस्थामा सुधार आउने बताएको थियो ।

विश्व बैंकले कोरोना खोप लगाएसँगै नेपालको आर्थिक सुधार हुने बताएको हो । तर, रेमिट्यान्समा देखिएको निराशापनले आर्थिक अवस्थतामा चोट पुर्याउनेमा देखिएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना गत श्रावणमा रेमिट्यान्स १८.१ प्रतिशतले घटेर रु. ७५ अर्ब ९६ करोडमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा २३ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स दशैँको मुखैमा कम हुँदा समग्र अर्थतन्त्रमा प्रभाव पर्ने देखिएको हो । गत वर्षको साउन महिनामा भने रु. ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको थियो ।

गत आर्थिक वर्षमा समग्रमा ९ प्रतिशले रेमिट्यान्स बढेको देखिए पनि आर्थिक वर्षको अन्तिमतिर घट्न थालेको रेमिट्यान्स नयाँ आर्थिक वर्षको सुरुआतदेखि नै ऋणात्मक बनेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । रेमिट्यान्समा आधारित अर्थतन्त्र भएको नेपालमा रेमिट्यान्समा आएको गिरावटले समग्र आर्थिक अवस्थामा प्रभाव पार्ने सम्भावना प्रष्ट छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष २४ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको कारोबारको साराशं चालु खाता चालु आर्थिक वर्षको सुरुआतमा ४७ अर्ब ९० करोडले ऋणात्मक अवस्थामा पुगेको छ । यस्तै शोधनान्तर स्थितिसमेत अहिले ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा रहेको देखिएको छ ।

अघिल्लो वर्ष यही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो । यस्तो अवस्थामा विदेशी मुद्रा विनियम सञ्चिति समय घटेको बताइएको छ । साउन महिनामा यस्तो सञ्चिति रकम १३ खर्ब ९९ अर्ब रुपैयाँबाट १३ खर्ब ५३ अर्ब रुपैयाँमा झरेको देखिएको छ । यो संख्या अघिल्लो महिनाको तुलनामा ४६ अर्बले कमी हो ।

पछिल्लो समय आयात–निर्यात असन्तुलन पनि निकै बढेको छ । चालु आवको साउन–भदौमा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.८६ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । दुई महिनामा निर्यात भने ४४ अर्ब रुपैयाँ बराबरको भएको राष्ट्र बैंकको तत्थ्यांकमा उल्लेख छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया