शुक्रबार, वैशाख १४, २०८१

सम्पादकसँग ओली

एमालेको ‘जबज’ बहस र बीपीको अन्तर्वार्ता

मेरोन्यूज २०७८ असोज १२ गते २०:०७

काठमाडौं । विधान महाधिवेशन गर्ने तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा यतिबेला जनताको बहुदलीय जनवाद (जबज) बहस चलिरहेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा तीनसम्म चलेको एमालेको केन्द्रीय समिति बैठकमा एमाले उपमहासचिव घनश्याम भुसालले ‘जबज’लाई लाई परिभाषित नगरीकन अघि बढ्नै नसकिने भन्दै तीन बुँदे फरकमत राखेका थिए ।

भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा फरक मत राख्दै पार्टीको ‘जबज’को सिद्धान्तलाई ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ हुने भनी टिप्पणी गरेका थिए ।

मंगलबार पार्टीको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन अल्फाबिटा कम्प्लेक्समा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा पत्रकारहरुले पनि जबजबारे स्पष्ट हुन चाहे ।

एमाले अध्यक्ष ओलीले पनि जबज गतिशील सिद्धान्तका रुपमा अथ्र्याए । ‘जनताको बहुदलीय जनवाद गतिहिन जड सिद्धान्त होइन, गतिशील सिद्धान्त हो’, ओलीले भने–‘ यो अवश्य पनि महाधिवेशनको विषय हुन्छ ।’

एमालेको ०४९ सालको पाँचौ महाधिवेशनमा विकसित गरेको सिद्धान्तले पछिसम्मका लागि दृष्टिकोण दिएको ओलीले स्मरण गराए । उनले जबजलाई पूर्ण प्रजातान्त्रिक समाजवादका रुपमा ब्याख्या गर्दै समाजवादमा पुग्ने गन्तब्यसमेत भनेका छन् ।

‘लोकतन्त्र भनिसकेपछि किन पूर्ण÷परिपूर्ण लोकतन्त्र भन्नुपर्यो भन्लान् तर यसबारेमा बीपीको अन्तर्वार्ता हेरे पनि हुन्छ भन्ने लाग्छ’, ओलीले भने– ‘किन बीपी कोइरालाले पूर्ण लोकतन्त्र भन्नुभयो, के अर्थमा भन्नुभयो भन्ने कुरा ।’

उनले जनताको बहुदलीय जनवादका अंशहरु अहिलेको ब्यवस्थामा पनि रहेको बताए ।

अदालतको फैसला नजिर बन्छन्

एमाले अध्यक्ष ओलीले पछिल्लो समय आफू प्रधानमन्त्रीबाट विस्थापित भएको घटनालाई अदालतको त्रुटीपूर्ण फैसला भन्ने गरेका छन् ।

अदालतको फैसला त्रुटीपूर्ण भएको अर्थमा ओलीले मंगलवार सम्पादकहरुसँग सत्यभन्दा ठूलो केही नहुने बताए । उनले न्यायालयबाट सत्यको सत्य र न्यायनिसाफको भूमिकाको अपेक्षा रहने बताए ।

‘अदालतको फैसला मान्नु पनि पर्छ । हार्ने र जित्नेको पक्षमा होइन’, ओलीले भने–‘ अदालतप्रति जनताको विश्वासको कमी भयो भने शक्ति पृथकीकरणको सिद्धान्त र लोकतन्त्र कमजोर हुन्छ कि भन्ने चिन्ता हो ।’

उनले पाकिस्तानको अदालतको दलिल पेश गर्दै अदालतका फैसलाहरु नजिरका रुपमा रहने उल्लेख गरे ।

ओलीले लोकतन्त्रको मूल्य मान्यता र न्यायसंगत कुराका चर्चा गर्दै आफूहरुले अदालतको फैसलालाई मानेको उल्लेख गरे । तर परमादेशको आदेश गलत भएको उनको भनाइ थियो ।

पत्रकारसँग सम्बन्ध सुधार

एमाले अध्यक्ष ओलीले पत्रकारहरुसँग आफूले सम्बन्ध सुधार गर्न खोजेको पनि स्पष्ट गरे । आफ्नो सरकारलाई बारम्बार प्रश्न उठाउने गरेका सम्पादकहरुले अहिलेको सरकारलाई खबरदारी नगरेको ओलीको भनाई थियो ।

तर ओलीको भनाई सम्पादकहरुले चित्त बुझाएनन् । उनीहरुले प्रतिवाद गरे । अहिलेको अध्यादेशलाई पनि गलत भनेर लेखेकै हो तर तपाईँले आफूले गरेको गल्ती किन स्वीकार गर्नु हुँदैन भन्ने सम्पादकहरुको प्रश्नमा सवालजवाफ गर्दै ओलीले आफू लोकतन्त्र सुदृढ गर्नमै लागेको र सम्पादकहरुलाई पनि लोकतन्त्र सुदृढ गर्नमै लागेको भन्दै हो मा हो मिलाए । ‘तपाईँ हामीबीच खटपट छ भने खटपट बन्द गरौं । मेरो तर्फबाट खटपट हो भने मेरो अर्घेल्याई भयो ।’– ओलीले भने ।

अध्यादेशमार्फत पार्टी फुटाउन भूमिका खेलेको भन्दै ओलीले पटक पटक त्यसलाई लोकतन्त्रको रक्षाका रुपमा अर्थ लगाए ।

प्रतिक्रिया