मंगलबार, चैत ६, २०८०

दशौं महाधिवेशनबाट कस्तो बन्ला ओलीको टिम ?

तेस्रो धारको बुता, यता न उता

हरि भट्ट २०७८ असोज ८ गते १६:४३

काठमाडौँ । नेकपा एमालेले पाँच वर्षको लागि नयाँ नेतृत्व चयन गर्न आगामी मंसिरमा १० औं महाधिवेशन गर्दैछ । महाधिवेशनको पूर्व सन्ध्यामा एमालेले पहिलो विधान महाधिवेशन यही असोज १५, १६ र १७ गते गर्दैछ ।

विधान महाधिवेशनले पार्टीको पाँच वर्षका लागि नीति तथा दस्तावेज पारित गर्नेछ । त्यसैअनुसार १० औँ महाधिवेशनमा पाँच वर्षका लािग नयाँ नेतृत्व चयन गर्दैछ ।

नेतृत्वका लागि आकांक्षी अहिलेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओली दोहोरिन चाहिरहेका छन् भने ईश्वर पोखरेलले पनि पार्टी अध्यक्ष बन्ने आकांक्षा देखिएका छन् । तर पोखरेललाई अध्यक्ष हुनबाट ओलीले रोक्ने पक्का देखिएको छ ।

एमाले महाधिवेशन, नेतृत्वको आकांक्षी कम

नेकपा एमालेको महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म काठमाडौंमा हुँदैछ । विधान महाधिवेशनबाट पार्टीको नीति तथा प्रस्ताव पारित गरेर एमालेले मंसिरमा १०औं महाधिवेशन गर्न लागेको छ ।

Advertisement

महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि अहिलेसम्म कसैले पनि सार्वजनिक रुपमा आकांक्षा भने देखाएका छैनन् । जसले र्दा ओलीले नै आगामी नेतृत्व गर्ने सम्भावना देखिएको छ । तर त्यसका लागि मंसिरमा तय भएको महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने देखिएको छ ।

महासचिव ईश्वर पोखरलेले १०औं महाधिवेशनमा अध्यक्षको लागि आकांक्षा राखे पनि ओलीविरुद्ध जाने हिम्मत राख्दैनन् । ओलीले भने पोखरेललाई उपाध्यक्ष बनाउने योजनामा छन् । प्रत्येक पाँच वर्षमा हुने एमालेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गर्दछ ।

ओली नवौं महाधिवेशनबाट माधव नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए भने आठौं महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएका थिए ।

नेतृत्वका लागि ओलीका मुख्य प्रतिष्पर्धी नेपाल र खनाल पार्टी छाडेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका छन् भने अर्का प्रतिष्पर्धी बामदेव गौतमले पनि पार्टीबाट राजीनामा दिएका छन् । जसले गर्दा विधानले नरोक्ने गरी पार्टी नेतृत्व हत्याउन ओलीलाई निकै सहज देखिएको छ ।

पार्टी अध्यक्षबाहेक अन्य पदाधिकारी केन्द्रीय कमिटीले मनोनयन गर्ने एमालेको प्रस्तावित विधानमा व्यवस्था गरिएको छ ।
केन्द्रीय कमिटीबाट पारित भएमा अन्य पदाधिकारी ओलीले मनोनित गर्नेछन् ।

विधानमा पदाधिकारी थपघट

एमालेले प्रस्तावित विधानमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन सचिव, स्थायी कमिटी, केन्द्रीय कमिटीको व्यवस्था गरेको छ ।

अध्यक्ष र केन्द्रीय कमिटीका सदस्यहरु महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अन्यलाई केन्द्रीय कटीले मनोनित गर्ने व्यवस्था गरिएको छ । यस्तो अवस्तामा ओलीले आफू अनुकुलको पदाधिकारी बनाउनेछन् ।

कस्तो होला ओलीको टिम ?

ओलीले १०औं महाधिवेशनबाट आफू अनुकुलको टिम बनाउने निश्चित छ ।

उनी आफू अध्यक्ष भएर उपाध्यक्षमा ईश्वर पोखरेल, सुवास नेम्वाङ र रामबहादुर थापालाई बनाउने तयारी गरिरहेका छन् । महासचीवमा विष्णु पौडेल र शंकर पोखरेल मध्ये एउटालाई बनाउने ओलीको योजना छ ।

यसअघि माओवादी केन्द्रसँगको एकतापछि बनेको नेकपामा पनि पौडेल महासचिव भएकाले उनलाई नै महासचिव बनाउने सम्भावना धेरै छ ।

यस्तै ओलीले सचिवमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, माओवादी केन्द्र छाडेर आएका लेखराज भट्ट, प्रदीप ज्ञवाली लगायतका नेतालाई बनाउने बताइएको छ । ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा पनि आफू निकटका नेतालाई ल्याउने तयारी गरिरहेका छन् ।

तेस्रो धारको बुता, यता न उता

एमाले विभाजनकाबेला माधव नेपाल गुटमा रहेका नेताहरु नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेमै फर्किए । नेता नेपालले नयाँ पार्टी गठन गर्दा साथ छाडेका नेपाल पक्षका नेताहरु अहिले एमालेका तेस्रो धारका रुपमा देखिएका छन् ।

भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुको तेस्रो धार एमालेमा निकै कमजोर छ । उक्त समूहलाई ओलीले अहिले पनि हेयकै दृष्टिले हेर्छन् ।

नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेपछि एमालेकै रहेका तीनै तेस्रो धारका नेताहरुलाई लक्षित गरी ओलीले ‘पिलो निचोरिए पनि खिल अझै बाँकी नै रहेको’ भने सार्वजनिक अभिब्यक्ति नै दिए ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन तीनै तेस्रो धार भनिएका नेताहरु निर्णायक थिए । ओलीको प्रधानमन्त्रीबाट हट्नु परेको रिस नेपालसँगै एमालेमै रहेका ती नेताहरुसँग छ । ओलीलाई कमजोर बनाउने निर्णायक भूमिकामा रहेका उनीहरु एमाले चोइटिएपछि भने अल्पमतमा छन् ।

एमाले एकता कायम राख्न गठित कार्यादलको दश बुँदे अनुसार पार्टीलाई अगाडि बढाउने ओलीको बचनले एमालेमै रहेका उनीहरु १० बुँदे कार्यान्वयन नभएपछि भने तरंगित छन् ।

एमालेको महाधिवेशन नजिकिएसँगै तेस्रो धारका उनीहरु पनि कुनै न कुनै पद पाउने आशमा छन् । तर ओलीले उनीहरुलाई पद दिने सम्भावना भने कम रहेको छ । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली उपाध्यक्षका दाबेदार हुन ।

यसअघि पाँच जना उपाध्यक्ष रहने व्यवस्था रहेको एमालेमा ओलीले टाउको गनेर पदाधिकारीको पद विभाजनको प्रस्ताव अघि सारेका छन् । जसअनुसार, अहिले तीन जना मात्र उपाध्यक्ष रहने व्यवस्थाले उनीहरु अफ्ठ्यारोमा पर्नेछन् ।

महासचिवमा सुरेन्द्र पाण्डे, र घनश्याम भुसालको सम्भावना रहे पनि उनीहरुको पनि सम्भावना टर्दै गएको छ ।

यस्तै योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य सचिवका दावेदार हुन् तर उनीहरुलाई ओलीले ग्रीन सिङ्नल दिने सम्भावना कम छ । तेस्रो धारमा रहेका अन्य नेतालाई पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा अटाउन पनि त्यति सजिलो छैन ।

उमेर हद, अर्को समस्या

एमालेमा उमेर हद लागू गरे अध्यक्ष ओलीसहित पहिलो पुस्ताका नेताहरु एक कार्यकाल पूरा पनि खान पाउने छैन्न । एमालेमा यसअघि ७० वर्षको उमेर हद लागु गरिएको थियो ।

एमालेको विधान महाधिवेशनबाट उमेर हदको व्यवस्था गरेमा ओलीसहितका धेरै नेता विदाई हुनेछन् । महाधिवेशन नजिकिएसँगै एमालेमा नेतृत्व र नेतृत्वको उमेरको बहस हुन थालेको छ । एमाले अध्यक्ष ओली फागुनमा ७० वर्ष पुग्दैछन् । त्यसैले मंसिरमै महाधिवेशन गर्न चाहनुले पनि ओलीले आगामी नेतृत्वका लिन चाहेका छन् ।

यस्तै, ईश्वर पोखरेल ६८ वर्ष, अमृतकुमार बोहोरा ७४ वर्ष, सुवास नेम्वाङ ६९ वर्ष, अष्टलक्ष्मी शाक्य ६८ वर्ष, रामवहादुर थापा (बादल) ६६ वर्ष, प्रदीप ज्ञवाली ६० वर्ष, भीम रावल ६६ वर्ष, घनश्याम भुसाल ६१ वर्ष, विष्णु पौडेल ६३ वर्ष, सुरेन्द्र पाण्डे ६४ वर्षका छन् ।

एमालेमा उमेर हदको लागू भएमा धेरै नेताहरुले एक कार्यकाल पनि पूरा रहन पाउने छैनन् उमेर हदका कारण यसअघि मनमोहन अधिकारी लगायतका नेताले सक्रिय राजनीतिबाट बिदा भएका थिए ।

एमालेमा अहिले ओलीलाई चुनौती दिने अरु नेता कोही छैनन् । एमालेको दशौं महाधिवेशनमा टिम बनाएर चुनावमा जाने अवस्था देखिछैन । यसअघि नै एमालेले प्यानल बनाएर महाधिवेशनमा जान नपाउने व्यवस्था गरेको छ ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया