शनिबार, वैशाख २९, २०८१

एमालेमा विधान महाधिवेशन

के गर्छ यो महाधिवेशनले ? को को हुन पाउँछन् सहभागी ?

हरि भट्ट २०७८ असोज ८ गते ९:४३

काठमाडौँ । नेकपा एमालेले पहिलो पटक विधान महाधिवेशन गदैछ । एमालेमा अलग्गै विधान महाधिवेशन गर्नुपर्ने आवाज छैटौँ महाधिवेशनबाट उठ्दै आएको थियो । तर नवौं महाधिवेशनले नेतृत्व चयन र विधान महाधिवेशन अलग अलग गर्ने गरी विद्यानमै ब्यवस्था गरेपछि अहिले विधान महाधिवेशनको तयारीमा एमाले लागेको हो ।

Advertisement

अहिले उसले विधान महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनका विषयमा पार्टी स्थायी समितिमा एक चरण छलफल गरेर केन्द्रीय समितिमा छलफल गर्ने सुरसार गरिरहेको छ ।

दुवै प्रतिवेदनमा केन्द्रीय सदस्यहरुसम्मको सुझाव केन्द्रीत गरी त्यसलाई परिमार्जन गरेर विधान महाधिवेशनमा केन्द्रीय समितिको तर्फबाट अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन र महासचिव इश्वर पोखरेलले सागठनिक प्रस्ताव पेश गर्नेछन् ।

एमाले केन्द्रीय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले महाधिवेशनमा पहिला नीतिको छलफल गरेर नेतृत्व चयन गर्ने गरेपनि नीति र नेतृत्वको महाधिवेशल अलग अलग पहिलो पटक हुन लागेको बताए ।

‘यसअघि हाम्रो पार्टीले नीति पास गरेर मात्रै नेतृत्व चयन गर्ने गरेको थियो एउटै महाधिवेशनवाट । अव अलग अलग गर्न लागेका हौं,’ तामाङले मेरोन्यूजसँग भने,–‘विधान महाधिवेशनमा राजनीतिक दृष्टकोणमाथि छलफल गरेर पार्टीको नीति पास गरिन्छ ।’

पार्टी महाधिवेशनमा नीति र नेतृत्वबारे छलफल एकै चोटी हुने भएकाले नेता तथा कार्याकर्ताको सबै ध्यान नीतिभन्दा पनि नेतृत्वमा जाने भएकाले विधान महाधिवेशन गर्न लागेको केन्द्रीय पार्टी कार्यालय सचिव तामाङले बताए ।

कहिले हुँदैछ विधान महाधिवेशन ?
एमालेले विधान महाधिवेशन खासमा तय गरेको समयमा गरेको भए यतिवेला भईसक्थ्यो । तर तयारी नपुग्नु, पार्टी विभाजन हुनु र मझधारमा रहेका नेताहरुलाई पार्टीभित्रै ब्यवस्थापन गर्नुमा समय खर्चेका कारण समय अलिक लम्विएको नेताहरुको भनाई छ ।

तर पनि उसले असोज विधान महाधिवेशन अवको एक सातापछि अर्थात असोज १५, १६ र १७ गते ललितपुरको गोदावरीमा आयोजना गदैछ । त्यसको तयारी करिव सम्पन्न भएको नेताहरुको जिकिर छ ।

विधान महाधिवेशन गर्न एमालेले स्थायी कमिटी बैठकबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित गरेको छ । उक्त प्रतिवेदन तथा प्रस्तावहरुलाई ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी पारित गर्ने योजना बनाइएको छ ।

विधान महाधिवेशनमा एमालेले पार्टीको सिद्धान्त, पार्टी नेतृत्व, पार्टी संगठनको बारेमा छलफल गर्ने छ । विधान महाधिवेशनबाट पारित नीतिअनुसार नै एमालेले १० औँ महाधिवेशनमा नेतृत्व चयन गर्ने छ । एमालेको विधान महाधिवेशनमा पार्टी नेतृत्वको उमेर हदको कुरा पनि उठ्ने छ । महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रस्तावमा ७० वर्षे उमेरहदको प्रस्ताव उल्लेख गरिएको छ ।

उमेरहदको यो प्रस्ताव यसले यस अगाडी नै कार्यान्वयनमा ल्याईसकेको छ । यसपटक अव के गर्ला ? भन्ने वहस एमालेमा थियो । तर त्यसलाई समेटेरै प्रस्ताव आएको प्रचार विभाग प्रमुख योगेश भटटराईले जानकारी दिए ।

एमालेले ७० वर्षे उमेरहद कार्यान्वयनमा ल्याईरहेकै बेला एमाले र माओवादी एकता हुँदा भने त्यसलाइृ हटाईएको थियो । तर एकता नटिकेपछि र पूर्ववत पार्टी अस्तित्वमै दुवै पार्टी फर्केपछि उमेर हद अव के होला ? भन्ने जिज्ञासाका वीच उमेरहद कार्यान्वयन गर्ने गरी नै एमालेको संगठनात्मक प्रस्ताव आएको छ ।

यो प्रस्ताव विधान महाधिवेशनवाट पारित भएमा अध्यक्ष ओलीले एक कार्यकाल मात्र अध्यक्ष बन्न पाउनेछन् । तर उनी फागुनमा ७० वर्ष पुग्छन । त्यसपछि के हुने प्रश्न पनि छ । त्यस्तै इश्वर पोखरेल, भीम रावल, रामवहादुर थापा, अष्टलक्ष्मी शाक्य लगायत सवै नेता अर्काे महाधिवेशनवाट पार्टीवाट स्वतः रिटायर्ड हुनुपर्ने हुन्छ । त्यस्तो भए एमाले नेतृत्व अर्काे पुस्तामा स्वतः सर्नेछ ।

एमालेमा उमेर हदका कारण यस अगाडी अहिले दिवंगत भईसकेका नेता भरतमोहन अधिकारी लगायत नेताले पार्टी जिम्मेवारी छोडेका थिए ।

एमालेमा अव केन्द्र देखि पालिका, वडा कमिटि सम्मका पार्टी संरचना कस्तो बन्छ ? कुन कमिटिमा कति पदाधिकारी र सदस्य रहन्छन् ? सम्मका विधानको ब्यवस्था पनि यही महाधिवेशनले टुग्गो लगाउनेछ ।

त्यसका लागि संगठन विभागका तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान मस्यौदा बनाएका छन् । उक्त प्रस्तावमा यही विधान महाधिवेशनले छलफल गरेर अवको नेतृत्व चयनको महाधिवेशनमा त्यही अनुसारको नेतृत्व चयन हुनेछ ।

पार्टी नेतृत्वको संख्या र निर्वाचन प्रणालीको बारेमा पनि विधान महाधिवेशनमा छलफल हुने छ । एमालेमा अहिले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव रहने व्यवस्था छ ।

तर विधान महाधिवेशनमा छलफलका लागि ल्याइएको शुरुको मस्यौदा प्रस्तावमा अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, ७ सचिव राख्ने जस्ता प्रावधान समेटेर मस्यौदा आएको थियो । अध्यक्ष, महासचिव र केन्द्रीय सदस्यमात्र निर्वाचित हुने र त्यसपछि निर्वाचित केन्द्रीय समितिले अन्य पदाधिकारी मनोनित गर्ने गरी प्रावधान ल्याईएको थियो ।

पदाधिकारी मनोनयन गर्ने कुराले अवको एक कार्यकाल ओली नै अध्यक्ष हुने र उनी अध्यक्ष चयन भएसँगै आफुप्रति अनुदार र आलोचक मानिने नेताहरुलाई पदाधिकारीमा आउनै वन्देज लगाउन सक्ने र थप उनी निरंकुश बन्न सक्ने भय नेताहरुले देखेपछि त्यसमा केही संसोधन भएको प्रस्ताव तयार भएको छ । पछिल्लो पटक सवै पदाधिकारी पनि निर्वाचित हुने र ३ उपाध्यक्ष रहने सम्मको प्रस्ताव आएको छ ।

अहिले विधान पारित गरेपछि आगामी मंसिरमा पार्टी महाधिवेशन गरेर एमालेले नेतृत्व चयन गर्ने छ ।

महाधिवेशनमा सहभागी हुन्छन् को ?

पार्टीको विधान सहितको नीति पारित गर्ने यो महाधिवेशनमा सहभागी हुनेहरुको मापदण्ड स्थायी कमिटि बैठकले पारित गरिसकेको छ । त्यस अनुसारको सहभागीताका लागि उसले देशभर पार्टीभित्र आन्तरिक सर्कुलर गरिसकेको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव तामाङका अनुसार, विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्यहरु स्वत सहभागी हुन पाउनेछन् । त्यस्तै, केन्द्रीय आयोग र केन्द्रीय निकायबाट सबै, संघीय सांसद, प्रदेश सांसद सहभागी हुन पाउने छन् ।

केन्द्रीय विभागबाट १५/१५ जना, जनसंगठनबाट १०/१० जना, प्रदेश कमटिका पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, संघिय निर्वाचन क्षेत्रबाट एक जना महिला सहित दुई जना, हरेक जिल्लाबाट एक जना दलित सहभागी हुने छन् ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया