शुक्रबार, वैशाख १४, २०८१

आजबाट जनगणनाकाे पहिलो चरण सुरु

मेरोन्यूज २०७८ भदौ ३० गते ९:५६

काठमाडौँ । देशभर आजबाट राष्ट्रिय जनगणनाको पहिलो चरण सुरु भएको छ । आजबाट १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । नेपालमा हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ ।

जनगणनाको पहिलो चरणअन्तर्गत सुपरिवेक्षकले घर तथा घरपरिवारको सूचीकरण गर्ने छन् । ८ हजार ५ सय सुपरिवेक्षकहरुले भदौ ३० देखि असोज १८ गतेसम्म घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने बताइएको छ । मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

मूल जनगणनामा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने र विवरण भर्ने काम गर्ने बताइएको छ । जेठबाट सुरु हुने भनिएको गणना कार्य कोरोना महामारीका कारण ढिलो भएको हो । सरकारले यो वर्ष कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने जनाएको छ ।

यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । नेपालमा विसं १९६८ देखि राष्ट्रिय जनगणना सुरु भएको हो ।

प्रतिक्रिया