सोमबार, जेठ ७, २०८१

उद्याेगी महिलाले यसरी मनाउँदैछन् तीज

किरण अधिकारी २०७८ भदौ २३ गते १८:०५

काठमाडौं । तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

Advertisement

नेपाली हिन्दू महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ । भनिन्छ, आरद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् । त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरुले यो पर्व मनाउदै आएका छन् ।

गत वर्षदेखि कोरोनाका कारण सचेत रहन चिकित्सक, स्वास्थ्य मन्त्रालय, सञ्चार गृह सबैले आग्रह गर्दा पनि तीजको झलक बजारमा देखिएको थियो ।

सधै आफ्नो उद्याेग ब्यवसायमा समय खिर्चिने महिला उद्यमीहरुले यसपटक तीज कसरी मनाउँदैछन त ? केही उद्यमी महिलाहरुको तीज योजना उनीहरुकै शब्दमा ।

अग्रिम तीज मनाउँदा आर्थिक कारोबार बढ्छ

भवानी राणा निर्वतमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

म तीजमा व्रत बस्छु । मन्दिर जान्छु र पूजा पनि गर्छु । विभिन्न दर खाने कार्यक्रममा सहभागी हुन्छु । दुई वर्षदेखि कोरोनाका कारण पहिला जस्तो मनाउन पाइएन । यो वर्ष अलि खुकुलो भएकाले सहज भएको छ । त्यसैले यो वर्षको तीजमा धेरैवटा दर खाने कार्यक्रममा सहभागी भए ।

बुधबार मैले घरमै दर खाने कार्यक्रम राखेकी छु । घरका परिवार र सानो समुहका साथीभाईबीच ‘रमाइलो’ तीज मनाइदैछ ।

खासगरी तीजमा चुरा, सारीलगायतका गिफ्ट किनेर दिइन्छ । मैले पनि त्यसै गरे । आफ्ना लागि पूजाका सामानहरु किनेकी छु । तीजको व्रत वस्न थालेको २७ वर्ष भयो । सुरुका २/३ वर्ष पानी पनि नखाई व्रत बसेकी थिएँ । तर अचेल पानी र जुस भने खान्छु । राति पूजा गरेर बत्ति बालेपछि फलफूल खान्छु ।

मेरो मुमा–बुबा बितिसक्नु भएकाले तीजमा माइत जाने गरेकी छैन । माइतीबाट पनि म आफ्नै घरमा बोलाउँछु । हामी नन्द, आमाजू, देउरानी, जेठानी सबैजना एकैठाउँमा बसेर तीज मनाउने गर्छौं ।

तीजको व्रत भनेको पहिलेदेखि चलिआएको धार्मिक आस्था पनि हो । म यस्तो संस्कार र आस्थालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्छु । पहिले गाउँघरमा महिला दिदीबहिनीहरु तीजमा गीत र गितीकथामार्फत् आफ्ना दुःख पोख्ने गर्नुहुन्थ्यो । तीज महिलाका लागि मेलमिलाप र दुःखसुख बाँड्ने अवसर पनि हो ।

अहिले आर्थिक सवलताका कारण तीजमा पनि ठूलो सेलिब्रेसन हुन थालेको छ । म यसलाई सकरात्मकरुपमा नै लिन्छु । सबैले आआफ्नो आर्थिक हैसियतअनुसार तीज मनाउनु पर्छ ।

तीज आउनुभन्दा १५ दिन अघिदेखि नै तीज मनाउने चलनलाई म सकारात्मक रुपमा लिन्छु । यो व्यापारिक दृष्टिले राम्रो हो भन्छु । किनभने तीजलाई लक्षित गरी विभिन्न एक्पो तथा मेलाहरु आयोजना हुन्छ । आर्थिक कारोबारहरु बढ्छन् ।

चुरा र धागो बनाउनेहरुले काम पाउँछन् । यसले उनीहरुको जीवनमा आर्थिक कारोबार बढ्छ । रोजगारी सिर्जना हुन्छ । त्यसैले तीज अगावै अग्रिम तीज मनाउनुलाई आर्थिक हिसाबले राम्रो मान्नुपर्छ जस्तो लाग्छ ।


तीजको खर्च जोगाएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ

रीता सिंहा, अध्यक्ष, महिला उद्यमी महासंघ


म सानै हुदाँदेखि नै दर खान्थे अनि अरुको देखेर व्रत बस्ने पनि गर्थे । तर पछि तीज व्रत भनेर बस्दिन । रमाइलो गर्छु, साथीभाइ, परिवारका सदस्यसँग ।

हामी महासंघका महिला उद्यमीहरुले आज सामान्य तवरले तीज मनायौ । तीज भनेको महिलाहरुले वर्ष दिनभरीको दुखेसो माइतमा गएर सानैदेखिका साथीहरुसँग गीतका माध्यमबाट पोख्नु हो भनेर मनाइने हो तर पछिल्लो समय भिन्न किसिमले मनाउन थालिएको छ । यो राम्रो होइन, तीज मनाउनेमा पैसा खर्च गर्ने प्रवृत्तिले कोरोनाको बेला समस्या बढाउँछ ।

गत वर्षदेखि कोरोनाका कारणले हो होइन भने १ महिना अगाडिबाटै पार्टि प्यालेस र रेष्टुराँ तिर भड्किला गीतहरु चर्को स्वरमा बजाएर, रक्सी खाएर मनाउन थालेका छन् । जुन राम्रो होइन ।

महिलाहरु तीजलाई नै भनेर अनावश्यक खर्च गरिरहेका छन् । त्यो खर्च जोगाएर उत्पादनमुलक ठाँउमा लगानी गर्नुपर्छ । सानो भएता पनि उद्यम तथा व्यापार गरी उद्यमी व्यवसायी बन्नतर्फ महिलाले सोच्नुपर्छ । परम्परालाई अगाडि बढाउदै लैजानुपर्छ । तर परम्पराका नाममा भड्किलो भने हुनुहुँदैन ।


आफ्नै लागि तीजको व्रत बस्छु

बन्दना पाठक, एनसीसी बैंक


म सानैदेखि तीज मनाउँथे । मेरो १५ वर्षकै उमेरमा बिवाह भएको थियो । बिवाहपछिका केही वर्ष म पतिको दीर्घायुको कामना गर्दै पानी पनि नखाइ व्रत बसेँ । केही वर्षयता भने आफ्नो स्वास्थ्यको ख्याल गर्दै पानी तथा जुस र साँझमा फलफुल खाएर तीजको व्रत बस्छु ।

यस वर्षको तीजमा भने मैले आफ्ना लागि भन्दा पनि परिवारका सदस्य र साथीका लागि कपडा र श्रृंगारका सामग्री किनमेल गरेकी छु ।

कार्यालयको कामले फुर्सद नहुँदा मलार्ई अग्रिम दरका कार्यक्रमको रौनकले अझै छोएको छैन । बैंकमा डिपार्टमेन्ट अनुसार पुरुष कर्मचारीले महिला कर्मचारीलाई दर खुवाउँदै आएका छन् । साथै बैंकका स्टाफ नै मिलेर कुनै रेष्टुराँ वा अन्त कतै गएर तीज मनाउँने गर्छौं ।

तीजमा बिवाहित महिलाहरु पतिको दीर्घायुको कामना र अबिवाहित महिलाहरु राम्रो श्रीमान पाउने अपेक्षा गर्दै व्रत बस्ने गर्दछन् । म भने व्रत अरुका लागि नभइ आफ्नै स्वास्थ्यका लागि बस्नु पर्छ भन्छु । तीजदेखि बाहेक पनि महिनामा १/२ पटक व्रत बस्दै आएकी छु ।

पछिल्लो समय तीजको नाममा भित्रिएका विकृतिले गर्दा सामान्य आयस्तर भएका महिला र उच्चआयस्तर भएका महिलामा छुट्टिनुका साथै मनमुटावको भावना पनि सिर्जना भएको छ । सामाजमा नराम्रो असर नपर्ने गरी चाडपर्व मानउँदै आफ्नो परम्परालाई अर्को पुस्तासम्म पुर्याउनु पर्छ भन्ने मान्यता पनि राख्छु ।

तीजमा माइत जान मलाई कुनै समस्या छैन । मेरो घर र माइत नै काठमाडौंको ज्ञानेश्वरमा छ । घरबाट माइत जान ५ मिनेट पनि लाग्दैन् । तीजमा सबैभन्दा धेरै रामाइलो माइत गएर आमाको हातले बनाएको खानेकुराका परिकार खान पाउँदा असाध्यै रमाइलो लाग्छ ।

आजसम्म व्रत बसेकी छैन

रवीना देशराज श्रेष्ठ मेगा बैंक

अफिसका कर्मचारीहरुलाई तीजको दर खाने कार्यक्रम आयोजना गरेका थियौं । अफिसकै कामले बाहिरतिर हिँड्नु परेर, कोरोनाका कारण सर्तक रहनुपर्ने र व्यस्त भएर होला मलाई यो वर्ष अरु महिलाहरुलाई जस्तो अग्रिम तीजको रौनकले छोएको छैन । गत वर्षदेखि रमाइलो छैन तीजमा तर सहज भएकाले अफिसमा दर खाइयो ।

परिवारका सदस्यबीचको भेटघाट गर्ने संस्कृति अनुसार परिवारका सदस्यलाई बोलाउछौँ । मलाई तीजमा रातो साडी लगाउन असाध्यै मनपर्छ । तर तीजमा व्रत भने म आजसम्म पनि बसेकी छैन ।

तीजको लागि नै भनेर म हरेक वर्ष नयाँ पहिरन गहना तथा श्रृंगारका सामानहरु किन्ने गर्छु । यो वर्ष पनि रातो साडी, कुर्ता र त्यसमा लगाउने गहनाहरु किनेकी छु । परिवारका सदस्य र अफिसका स्टफहरुलाई श्रृंगारका सामानहरु किनेर दिएकी छुँ ।

अन्य क्षेत्रका महिलाहरुलाई जस्तो बैकिङ क्षेत्रका महिलाहरुलाई अग्रिम तीज मनाउन गाह्रो हुन्छ । अग्रिम तीजको कार्यक्रम छ भन्दैमा बैंकले बिदा दिदैनन् । बिदा पाउने भनेको १ दिनमात्र हो । तीजको दर खाने दिनमात्रै दर खानुपर्छ भनेर म भन्दिन । धेरै ठाँउमा पुग्नुपर्ने हुन्छ । समय अनुसारको परिवर्तन हो भनेर हाम्रो सोच पनि बदल्नुपर्छ ।


तीज महिलाहरुका लागि अवसर पनि हो

सीमा गोल्छा, व्यवसायी

हाम्रो मारवाडी समूदायमा तीजको खासै चलन छैन । तर म साथीहरुसँग भेटेर सेलिब्रेट गर्छु । गत वर्षदेखि कारोनाको कारणले रमाइलो गरिएको छैन । घरमा पनि कसैलाई बोलाएको छैन । आफू पनि कतै गएको छैन ।

वास्तवमा पछिल्लो समय सबै समूदायले तीज मान्न थालेका छन् । यो सकरात्मक पक्ष हो । तीज कल्चरल्ली एसेप्टेबल भइसकेको छ ।

तीजकै लागि भनेर विशेष किनमेल गर्ने गरेकी छैन । तीज आआफ्नो आर्थिक हैसियतअनुसार मनाउनु पर्छ । हाइ क्लासका महिलाहरु त बाहिर गइरहेका हुन्छ । तर, कतिपय महिलाका लागि भने तीज बाहिर निस्कने ठूलो अवसर पनि हो । त्यसैले मलाई तीज मनपर्छ ।


किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया