शनिबार, वैशाख २९, २०८१

सेती लोकमार्ग निर्माणप्रति प्रधानमन्त्रीले किन लिए चासो ?

हरि भट्ट २०७८ भदौ १९ गते १०:१७

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना तथा बहु प्रतिक्षित सेती लोकमार्गको निर्माणमा ढिलाई भएको छ । सेती लोकमार्ग निर्माणका लागि उत्तरी र दक्षिणी गरी दुई वटा योजना कार्यालय राखिएपनि अपेक्षा अनुसार निर्माण हुन सकेको छैन । सेती लोकमार्ग अन्तर्गत डिपीआर तयार भएको सेती लोकमार्गको निमार्णमा झण्डै १३ अर्ब लाग्ने अनुमान गरिएको छ ।

Advertisement

दक्षिणी खण्ड
सेती लोकमार्गको दक्षिण खण्ड अन्तर्गत कैलालीको टिकापुरदेखि बझाङको चैनपुरसम्म पर्छ । यो खण्डलाई पनि विभिन्न भागमा विभाजन गरिएको छ । यो खण्डमा कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ पर्छन् ।

यो खण्ड कैलालीको टिकापुरदेखि बौनियाँ, बौनियाँदेखि डोटीको ठुलीगाड, ठुलीगाडदेखि सेलीगाडसम्म रहेको छ । यस्तै सेलीगाडबाट अछामको साफेबगर, साफेबगरबाट भसगरकोट, भसगरकोटदेखि देविस्थान, देविस्थानबाट बाजुरा जिल्लाको भेडासैना, उनैन्सिनहुँदै बझाङको टमिलबाट चैनपुरसम्म रहेको छ ।

सेती लोकमार्गको दक्षिण खण्ड २४२ किलोमिटर रहेको छ । २४२ किलोमिटरमा खासै कुनै काम नभएको सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी दमनकुमार बिष्टले बताए । उनका अनुसार कैलालीको टिकापुरदेखि बौनियाँसम्म काम भइरहेको छ ।

यस्तै बौनियाँदेखि ठुलीगाडसम्मको ५५ किलोमिटर ठेक्का भएर काम सुरु भएको छ । डोटी खण्डमा जंगलको काम भइरहेको छ । वन तथा वातावरण मन्त्रालयले रुख कटानको आदेश दिएकाले त्यो खण्डमा रुख कटानको काम भइरहेको सूचना अधिकारी बिष्टले बताए ।

अछाममा ठेक्का प्रक्रियामा रहेको छ । त्यहाँ एउटा गाड रहेकाले पुलको लागि ठेक्का प्रक्रिया सुरु भएको बिष्टले बताए । यस्तै बाजुरा र बझाङ क्षेत्रमा चार वटा पुल रहेका छन् । त्यसको पनि ठेक्का प्रक्रिया सुरु भइरहेको उनले बताए । दक्षिण खण्ड अन्तर्गत एउटा ठेक्का ३० करोडमा भएको छ । त्यसको काम सुरु भएको सूचना अधिकारी बिष्टले बताए ।

उनले बाँकी खण्डमा पनि ठेक्का प्रक्रियामा रहेको बताए । उनले ३० करोड थप बजेट आएकाले अन्य खण्डको पनि काम सुरु गर्ने बताए । ट्रयाक खोल्न बाँकी रहेको भन्दै उनले ठेक्का र ट्रयाक खोल्नको लागि अनुमति आइसकेको बताए ।

उत्तरी खण्ड
सेती लोकमार्ग निर्माणको कार्य दक्षिण खण्ड जस्तै उत्तरी खण्डको रहेको छ । उत्तरी अर्थात चैनपुर–ताक्लाकोट खण्डको निर्माण पनि सुस्त रहेको छ ।

कैलालीको बैनियाँबाट सुरु भएको यस लोकमार्गले डोटी, अछाम, बाजुरा हुँदै बझाङको चैनपुर भएर ताक्लाकोट जोड्छ । त्रिदेशीय नाका जोड्ने यो सडक सुदूपश्चिम प्रदेशको गौरवको योजना हो ।

उत्तरी खण्ड बझाङको सदरमुकाम चैनपुरबाट तिब्बतको सिमाना ताकलाकोट (उरैभञ्ज्याङ)सम्म १ सय १७ किलोमिटर रहेको छ । चैनपुरबाट साइपाल गाउँपालिका धुलीसम्म दुई प्याकेजमा राजेन्द्र निर्माण सेवा र नागार्जुन निर्माण सेवाले काम गरिरहेको छ ।

बजेट अभाव

सेती लोकमार्गले भारत र चीन दुई छिमेकी देशको नाकालाई छोएको छ । कैलालीको टीकापुर नाकाबाट भारत र बझाङको ताक्लाकोट नाकाबाट चीनलाई छोएको छ । सेती लोकमार्ग निर्माणको चर्चा एक दशकअघिदेखि चलेको थियो । तर अहिलेसम्म अपेक्षाअनुसार काम भने भएको छैन ।

२०७२ भदौ ३१ गतेको सरकारको निर्णयानुसार सेती लोकमार्ग सडक योजनाको कार्यालय पनि खोलिएको छ । तर कार्यालयमा कर्मचारी नभएको बताइएको छ ।

सन् २०१२ मा यस आयोजनाको डीपीआर तयार भएको थियो । सरकारले सेती लोकमार्गको लागि बजेट विनियोजन गरेपनि समयमा ठेक्का नहुँदा बजेट फ्रिज हुने गरेको बताइएको छ ।

सडक डिभिजन कार्यालय अछामका अनुसार बार्षिक रुपमा ३० करोड बजेट आउने गरेको छ । तर सबै क्षेत्रको ट्रयाक खोल्न बाँकी रहेको छ ।

सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी विष्टका अनुसार ३० करोड बजेटको ठेक्का भएको र बाँकी आएको ३० करोड बजेटको ठेक्का हुन बाँकी रहेको छ । पर्याप्त बजेटको अभावले ठेक्का लगाउन नसकेको उनले बताए ।

सेती लोकमार्ग निमार्णमा प्रधानमन्त्री देउवाको चासो

प्रधानमन्त्री शेरबहादुर देउवाले सेती लोकमार्गमा चासो राखेका छन् । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना ‘सेती लोकमार्ग’ लाई विशेष प्राथमिकतामा राखी निर्माणमा तीव्रता दिने प्रधानमन्त्री देउवाले बताएका छन् ।

देउवाले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस पार्टीका केन्द्रीय तथा प्रदेश स्तरीय नेता र जनप्रतिनिधिसँगको भेटमा सेती लोकमार्ग निर्माणको कार्यलाई तीव्रता दिने बताएका हुन् । देउवाले बजेटलाई संशोधन गरेर सेती लोकमार्गलाई प्राथमिकतामा राख्ने बताएको भेटमा सहभागी कांग्रेस नेता एनपी साउदले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले अहिले अध्यादेशबाट ल्याएको बजेटमा हामी काम गरिरहेका छौं । अब हामी पुरक बजेट ल्याउन लागेका छौं । त्यसमा सेती लोकमार्गलाई उच्च महत्व दिएर बजेट विनियोजन गरिने बताउनुभयो ।’ प्रधानमन्त्रीले सेती लोकमार्ग राष्ट्रकै गौरवको आयोजना भएकाले यसलाई विशेष रूपमा लिएको बताएको साउदले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा साउदको नेतृत्वमा कैलाली, डोटी, अछाम, बाजुरा र बझाङका नेताहरू सहभागी भएका थिए । भेटका क्रममा उनीहरुले देउवालाई सेती लोकमार्ग भारत–नेपाल–चीनबीच त्रिदेशीय सम्बन्धसँगै बहुउपयोगी रहेको भन्दै सेती लोकमार्ग सुदूरपश्चिमको मात्र नभई राष्ट्रिय गौरवको आयोजना भएकाले उच्च प्राथमिकतामा राखेर निर्माण कार्यमा तीव्रता दिन र पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए ।

जवाफमा देउवाले सेती लोकमार्गलाई छिटो निमार्ण गर्न पर्याप्त बजेट विनियोजन गर्ने बताएका थिए । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले ल्याएको बजेटलाई संशोधन गरेर पूरक बजेट ल्याउने तयारी गरेको छ ।

सेती लोकमार्गले जनतालाई सुविधा मात्र नभई बाटो पनि छोटो हुने भन्दै साउदले सेती लोकमार्गले आर्थिक लागत पनि घटाउने बताए । भारत–नेपाल–चीन जोड्ने सेती लोकमार्ग बहुउपयोगी रहेको छ । यसले कैलालीको टीकापुरबाट डोटी, अछाम, बाजुरा र बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ (ताक्लाकोट सीमानाका) जोड्ने गर्छ ।

सेती लोकमार्गलाई तीव्रता दिन सरकारले उत्तरी खण्डको निर्माणका लागि बझाङको चैनपुर र दक्षिणी खण्डका लागि अछामको साँफेबगरमा छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना गरेको छ ।

तर, अपेक्षा अनुसारको काम भने हुन सकेको छैन । सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने छ । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्ने छ ।

यो लोकमार्ग सम्पन्न भए नेपालको चार धाम मध्येको बैद्यनाथ धाम क्षेत्र, जडीबुटीको प्रचुर सम्भाव्यता रहेको क्षेत्र, खप्तडको प्रवर्दन तथा सहज पहुंँच हुने छ । यस्तै भारतबाट मानसरोवर क्षेत्रमा जाने तिर्थयात्रीहरुलाई पनि सहज हुने छ ।

सेती लोकमार्ग सम्पन्न भए सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र कैलालीबाट पहाडी जिल्ला जान छोटो र सहज पनि हुने छ ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया