शनिबार, वैशाख २९, २०८१

आफ्नै जिल्लामा एक्लिन् रामकुमारी झाक्री

हरि भट्ट २०७८ भदौ १५ गते १६:४७

काठमाडौँ । एमाले छोडेर नेकपा एकीकृत समाजवादी गठनका लागि अग्र पंक्तिमा खटिएकी नेतृ रामकुमारी झाक्री आफ्नै गृहजिल्ला गुल्मीमा एक्लिएकी छन् । गुल्मी जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि एमालेमा रहेपछि उनी जिल्लामा एक्लिएकी हुन् ।

Advertisement

जिल्लाबाट नेकपा एकीकृत समाजवादी पार्टीमा जानेको संख्या न्युन रहेको एमालेले जनाएको छ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको पकड जिल्लाका रुपमा गुल्मीलाई लिइन्थ्यो । विगतमा यही जिल्लामा नेपाल समूहका पिल्लरका रुपमा गोकर्ण विष्ट थिए ।

तर, विष्टले अन्तिम समयमा नेपाललाई साथ नदिई एमाले नै रोजेपछि जिल्लाका नेता कार्यकर्ताले पनि नयाँ पार्टी नरोजेको देखिएको छ । विष्ट एमालेको नवौं महाधिवेशनमा नेपाल समूहबाट सचिवमा निर्वाचित भएका थिए ।

प्रदीप ज्ञवालीको गृहजिल्ला पनि हो –गुल्मी । जिल्लाका प्रभावशाली नेताहरू विष्ट र ज्ञवाली दुवै एमालेमै रहेपछि पनि नेता कार्यकर्तालाई नयाँ दल रोज्न र एमाले छोडन त्यक्ति मन नलागेको देखिएको छ । तर झाक्री भने एक्लै भए पनि नेपालको नयाँ पार्टी निर्माणका लागि जुटेकी छिन् ।

गुल्मीबाट निर्वाचित चार जना प्रदेश सभा सदस्य मध्ये तीन जना एमालेमा रहेको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी गराए । यस्तै १२ स्थानीय तह मध्ये ८ स्थानीय तहमा एमालेले जितेको थियो । त्यसमध्ये ओली पक्षबाट एक स्थानीय तहमा जितेको थियो भने बाँकी सात स्थानीय तहमा नेपाल पक्षले जितेका थिए । पार्टी विभाजनपछि सबै स्थानीय तहका जनप्रतिनिधि एमालेमा रहेको पन्तले बताए ।

एमालेमा हुँदा नेपाल पक्षले गुल्मीमा बनाएको समानान्तर कमिटीमा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा जिल्ला अध्यक्ष भएका थिए । तर पार्टी विभाजनपछि उनी पनि एमालेमा रहेको बताइएको छ ।

गुल्मीका स्थानीय तह, प्रदेश र प्रत्यक्षबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एमालेमा रहेपनि समानुपातिक सांसद रामकुमारी झाक्री एकीकृत समाजवादी पार्टीमा लागेकी छन् । उनी नेपाललाई पार्टी विभाजन गर्न सुझाव दिनेदेखि निर्वाचन आयोगमा दल दर्ता गर्न जादा माधव नेपाललाई हातै समातेर तान्ने सम्मको काममा सक्रिय थिइन् ।

तर उनी आफ्नो जिल्लामा एक्लै परिकी छन् । एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएपछि चर्चामा आएकी झाकी्र पछिल्लो समयमा राष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उत्रिएपछि निकै चर्चामा आएकी थिइन् । तर, पार्टी विभाजनमा उनले आफ्नो जिल्लामा खासै उपस्थित देखाउन नसकेको बताइएको छ ।

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया