आइतबार, वैशाख २३, २०८१

के हो तालिवान ?, प्रमुख नेतृत्वमा ३० वर्षीय युवासम्म

सत्ताच्युत भएको २० वर्षपछि फेरी सत्तामा

दया दुदराज २०७८ साउन ३१ गते १८:२८

काठमाडौंँ। यतिबेला विश्वको ध्यान अफगानिस्तानमा परेको छ । कट्टरपन्थी संगठन तालिवानले एकपछि अर्को सहर कब्जा गर्दै राजधानी काबुलमा प्रवेश गरेको छ । २० वर्ष आफ्नो सेना राखेर तालिवानमाथि हमला गर्दै आएको अमेरिकासहित विश्वका अधिकांश देशहरूले आफ्ना नागरिक फर्काएका छन् ।

Advertisement

देशलाई कब्जा गर्न सक्ने क्षमता बोकेको तालिवानको अर्थ विद्यार्थी भन्ने हुन्छ । तालिवान पश्तो भाषाबाट आएको शब्द हो । सन् १९९० को दशकमा सोभियत संघ (रूस)का सैनिक अफगानिस्तानबाट फिर्ता भएसँगै तालिवानको उदय भएको थियो । पश्तो आन्दोलन मदरसा (विद्यालय)को विद्यार्थीहरूले सुरू गरेका थिए ।

साउदी अरबको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट तालिवान अभियान सुरु भएको भन्ने विश्वास धेरैको छ । आन्दोलनको रूप अफगानिस्तानसँगै पाकिस्तानमा फैलिन थाल्यो । पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने बाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिवानको उद्देश्य थियो । सोही क्रमम दक्षिण पश्चिम अफगानिस्तानमा तालिवानको प्रभाव तीव्र गतिमा बढ्न पुग्यो ।

तालिवानले पहिलोपटक सेप्टेम्बर १९९५ मा इरानको सीमामा रहेको हेरात प्रान्त कब्जा गर्यो । यसको ठिक एक वर्षपछि अफगानिस्तानको राजधानी काबुल कब्जा गर्यो । दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो । चोरी गरेको प्रमाणित भए अंगभंगको दण्ड दिइन्थ्यो ।

तालिवानको प्रभावित क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिने गरी बुर्का लगाउनु पर्ने नियम लागु गरियो । टिभी, चलचित्र र संगीतमाथि प्रतिबन्ध लगाइयो । १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान रोक लगाइयो ।

नेतृत्वकर्ता को-को छन् ?

तालिवानका संस्थापकक मुल्लाह मोहम्मद ओमर हुन् । सन् २००१ सेप्टेम्बरमा भएको हमलापछि ओसामा बिन लादेन तथा तत्कालीन तालिवान प्रमुख मुल्ला मोहम्मद ओमरलाई अफगानिस्तानबाट हटाउन अमेरिकी सेना सफल भएका थिए ।

उनीहरू अफगानिस्तानबाट भागेर पाकिस्तानको एक शहरमा लुकेका थिए । गुमनाम भएका ओमरको अवस्थाबारे मृत्यु भएको दुई वर्षपछि मात्रै उनका दुई छोराहरूले सार्वजनिक गरे । ओमरको मृत्यु सन् २०१३ मा भएको थियो ।

झण्डै २० वर्षपछि पुनः सत्ता कब्जाका लागि तम्सिएको तालिवानलाई अहिले कसले नेतृत्व गर्दैछ ? यस संगठनलाई कसले सहयोग गर्दै छ ? संगठनको रेखदेख कसले गरेको छ ? यो बारे बुझ्नु आवश्यक छ । तालिवानकाे नेतृत्व गर्ने नेताहरूमा वृद्धदेखि ३० वर्षीय युवासमेत रहेका छन् ।

१.हेइबुतल्लाह अखुन्जादा

तालिवान समूहको सबैभन्दा शीर्ष नेता हुन्, हेइबुतल्लाह अखुन्जादा । उनले यो समूहको नेतृत्व सन् २०१६ देखि लिएका थिए । सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा प्रमुख अख्तर मन्सुर अफगान–पाकिस्तान बोर्डरमा मारिएपछि अकुन्जादाले तालिवान समूहको नेतृत्व सम्हालेका छन् ।

अखुन्जादाले यसअघि दक्षिणपश्चिम पाकिस्तानस्थित कुचलक सहरको एक मस्जिदमा पढाउने काम गर्ने गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजिजारले जनाएको छ । उनले त्यहाँ १५ वर्षसम्म पढाए । सन् २०१६को मेदेखि उनी त्यहाँबाट अचानक सम्पर्कविहीन बनेका थिए ।

उनलाई तालिवानको राजनीतिक, धार्मिक तथा सैन्य मामिलासँग सम्बन्धित सबै विषयहरूमा निर्णय लिने अधिकार छ । उनलाई समूहभित्र ’विश्वासयोग्य नेता’को रपमा चित्रण गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम जनाएका छन् । ६० वर्षीयको उमेरको हाराहारीमा रहेका अखुन्जादा पछिल्लो अवस्थाबारे कोही जानकार छैनन् ।

२.मुल्लाह अब्दुल घानी बरादार

तालिवानका संस्थापक नेतामध्येका एक नेता मुल्लाह अब्दुल घानी बरादार । उनी तालिवानको राजनीतिक कार्यालयका प्रमुख हुन् । उनी यो समूहको वार्ता टोलीको एक हिस्सा हुन् जुन समूह दोहामा बसेर राजनीतिक सम्झौता गर्ने प्रयास गर्छ । यो समूहले गरेको वार्ता युद्धविरामको बाटो प्रशस्त गर्न पनि सक्ने बताइन्छ ।तर पछिल्लो समय यो वार्ता कार्य रोकिएको छ ।

बरादारा मुल्लाह ओमरका सबैभन्दा विश्वासिला व्यक्ति हुन् । उनी सन् २०१० मा पाकिस्तानको कराँची सहरबाट सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए । उनी सन् २०१८मा रिहा भएका थिए ।

३.मुल्लाह मोहम्मद याकुब

तालिवानको अर्को नेता हुन् मुल्लाह मोहम्मद याकुब । उनको उमेर ३० वर्षको हाराहारीमा रहेको बताइएको छ । उनी तालिवानका संस्थापक मल्लाह ओमरका छोरा हुन् । नेतृत्व हस्तान्तरणको विषयमा टसल हुँदा उनलाई धेरैपटक सर्वोच्च नेताको रुपमा प्रस्ताव गरिएको थियो । तर, उनले अखुन्जादालाई अघि सारेका थिए ।

अफगानस्तानमै रहेका याकुबले तालिवान समूहका सम्पूर्ण सैन्य गतिविधि तथा आक्रमणको निरीक्षण तथा व्यवस्थापकीय कार्य हेर्ने गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

४.सिराजुद्दीन हक्कानी

तालिवान समूहका अर्का नेतृत्वकर्ता हुन्, सिराजुद्दीन हक्कानी । उनको उमेर ४० देखि ५० को बीचमा रहेको बताइएको छ । उनी मुज्जाहद्दीन कमान्डर जालालुद्दिन हक्कानीका छोरा हुन् । हक्कानी समूह अफगानस्तामा हुने विभिन्न ठूला आत्मघाती बम विस्फोटका घटनाहरुमा संलग्न हुने गरेको बताइएको छ ।

सिराजुद्दीन हक्कानी सम्बन्धी अमेरिकाले निकालेको सूचना ।

सिराजुद्दीनले तालिवानको हक्कानी नेटवर्कको नेतृत्व गरेमन छन् । यो समूह अफगान–पाकिस्तान सीमामा तालिवानको वित्तिय तथा सैन्य सम्पत्तिको निगरानी र व्यवस्थापन गर्छ । यो समूहले तत्कालीन राष्ट्रपति हमिद कर्जाईको हत्या प्रयास र भारतीय दूतावासमा आत्मघाती विस्फोट प्रयास गराएका थिए ।

५.सेर मोहम्मद अब्बास स्तानिकजाई

तलिवान सरकारका तत्कालीन उपप्रधानमन्त्री सेर मोहम्मद अब्बास स्तानिकजाइ हुन् । उनले करिब एक दशक दोहामा बसेका छन् । उनी सन् २०१५ देखि दोहास्तित राजनीतिक कार्यालयको प्रमुख पनि भएका थिए ।

उनी अफगान सरकारसँग हुने वार्तामा सहभागी हुने गरेका छन् भने विभिन्न कूटनीतिक वार्तामा पनि सहभागी हुने गरेका छन् ।

६.अब्दुल हकिम हक्कानी

तालिवानी वार्ता समूहका प्रमुख व्यक्ति हुन् अब्दुल हकिम हक्कानी । उनी तालिवानका पूर्व छाया प्रधानन्यायाधीश हुन् । उनी यो समूहको धार्मिक परिषद् समूहको प्रमुख हुन् । उनी अखुन्जादाका विश्वासिला व्यक्तिरको रुपमा चिनिन्छन् ।

पुन: सत्ता कब्जा

अफगानिस्तानमा तालिवानको कब्जा पहिलोपटक होइन । दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिवानले आफ्नो प्रभाव विस्तार गर्याे । सन् १९९५ को सेप्टेम्बर महिनामा तालिवानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिवानको नियन्त्रणमा पुगेको थियो । तत्कालीन राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिवानले देश कब्जा गरेको थियो ।

AFP

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिवानको नियन्त्रणमा आइसकेको थियो । सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो । तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो । डिसेम्बर महिनाको पहिलो हप्तामा तालिवान सत्ता धराशायी बन्न पुग्यो ।

तालिवान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो । त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र तालिवानलाई औपचारिक मान्यता दिएका थिए । दुई देशले तालिवानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो । जसका कारण तालिवान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्दै आएको छ । यद्यपि इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ ।

तालिवानको सत्ताच्युत

११ सेप्टेम्बर २००१ मा अमेरिकाको न्युयोर्कमा रहेको वर्ल्ड ट्रेड सेन्टरमाथि भएको हमलाले विश्वभरको ध्यान तालिवानमा पर्न गयो । न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल कायदालाई तालिवानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो ।

योसँगै ७ अक्टोबर २००१ मा अमेरिकी सेनाको सैन्य गठबन्धनले अफगानिस्तानमाथि हमला सुरू गर्न थाल्यो । अमेरिकी सेनाको हमलापछि डिसेम्बरमा तालिवानलाई सत्ताच्युत गरियो ।

अफगानिस्तानमा नेपालीको अवस्था

राजधानी काबुल नियन्त्रणमा लिएर सत्ता कब्जा गर्ने तयारीमा रहेकाे तालिवानको गतिविधिसँगै नेपालीहरू अन्योलमा रहेका छन् । अफगानिस्तानमा रहेका नेपालीहरू कसरी सुरक्षित हुने भन्ने चिन्तित भएका छन् । नेपालकाे संसददेखि सडकसम्म अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउनु पर्ने माग भइरहेको छ ।

सरकारले यसअघि अफगानिस्तानमा करिब एक सय जना नेपाली नागरिकहरू रहेको बताउँदै आएको थियो । तर, भारतको दिल्लीस्थित नेपाली दूतावासले १५ सयदेखि २ हजारको संख्यामा नेपालीहरु रहेको बताएको छ ।

तर काबुलमा हुने नेपालीको संख्या त्यसभन्दा बढी भएको आँकलन गरिएको छ । गत साता ग्रीन जोनमै अफगान रक्षामन्त्रीको घरमा आक्रमण भएपछि त्यहाँ कार्यरत नेपालीहरूमा केही त्रास बढेको छ । विसं २०७३ सालमा राजधानी काबुलको ग्रीन जोनमा कार्यरत १३ नेपालीको बम हमलामा ज्यान गएपछि सरकारले केही समय अफगानिस्तान जान कडाइ गरेको थियो ।

सरकारले अधिकांश नागरिकहरु काबुलको ग्रीन जोन (अत्यन्तै सुरक्षित) मानिने कुटनीतिक र सरकारी कार्यालय रहेको क्षेत्रमा रहेको जनाएको छ । तर विभिन्न माध्यमबाट काबुल पुगेका नेपालीहरु तालिवानको प्रवेशसँगै असुरक्षित बनेका छन् ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया