आइतबार, वैशाख ३०, २०८१

इरानसँगको ‘छायाँ युद्ध’ मा इजरायलले पाउला अमेरिकाको साथ ?

केशरमणि कटुवाल २०७८ साउन २३ गते १०:०३


गत साता इजरायली तेल ट्यांकर मर्सर स्ट्रिटमाथि भएको ड्रोन हमलामा दुई जना मारिएपछि मध्यपूर्वमा दुई परस्पर विरोधी राष्ट्र इरान र इजरायलबीच आरोप-प्रत्यारोपको शृङ्खला चलिरहेको छ । इरान र इजरायलबीच दशकौदेखि सम्बन्ध चिसिएको छ। त्यसैले यस क्षेत्रमा केही घटना भइहालेमा इजरायलले हतार इरानमाथि आरोप लगाइहाल्छ । दुवै देशले एक अर्कालाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा मान्दै आएका छन् । इरान र इजरायलबीच पछिल्ला केही वर्षदेखि त ‘छायाँ युद्ध’ नै चलिरहेको छ । इरान र इजरायलबीच जमिन र आकाशमा युद्ध चलिरहेको थियो । तर पछिल्लो समयमा समुन्द्रमा युद्ध सुरु भएको छ । ओमानको खाडीको आसपास दुवै देशका केही जहाजमाथि आक्रमण हुँदै आएको छ ।

Advertisement

बेलायत र अमेरिकाको पनि संलग्नता

केशरमणि कटुवाल


यो छायाँ युद्धमा अमेरिका र बेलायत पनि जोडिदै आएका छन् । गत साता इजरायली तेल ट्यांकरमा हमला भएर एक बेलायती र एक जना रोमानियाली नागरिक मारिएको घटनामा पनि इजरायलले जस्तै अमेरिका र बेलायतले पनि इरान जिम्मेवार भएको आरोप लगाए । २९ जुलाईमा एमवी मर्सर स्ट्रिट हमलाको निशानामा पर्‍यो । यो मध्यम आकारको खाली ट्यांकर तान्जानियाको दार–अस–सलाम बन्दरगाहबाट संयुक्त अरब इमिरेट्सकाे फुजैराह रिफ्युलिङ पोर्टतर्फ गइरहेको थियो । यो बन्दरगाह ओमानको खाडीमा पर्छ । जापानका मालिकको स्वामित्व भएको लाइबेरियाको जहाजलाई इजरायलको कम्पनी जोडायक मैरिटाइमले भाडामा चलाउँदै आएको छ । सोही ट्यांकरमा विस्फोटक पदार्थले लैज ड्रोन हमला भएको थियो । जसमा एक रोमानियाका सेक्युरिटी गार्ड र एक जना बेलायती नागरिकको मृत्यु भयो । जहाजले आपतकालीन मद्दत मागेपछि अमेरिकी नौसेनाका दुई वटा जहाजले आफ्नो निगरानीमा बन्दरगाहसम्म पुर्‍याएका थिए ।

इजरायल, बेलायत र अमेरिका तीनवटै देशले यो हमलामा इरानलाई जिम्मेवार ठहर गरेपनि इरानले त्यसलाई अस्वीकार गरेको छ । गत अप्रिलमा लाल सागरमा इरानी सेनाको शाविज नामको आपूर्ति जहाजमा भएको हमलामा इजरायललाई दोषी ठहर गरेको थियो । हालैका महिनामा इजरायल र इरानसँग जोडिएका केही जहाजमाथि हमला भएका छन् । यी दुई घटना यस्तै आक्रमणका उदाहरण हुन् ।

हरेक घटनामा दुई देशले एक अर्कालाई आरोप लगाएका छन् र अस्वीकार पनि गरेका छन् । त्यसैले यस्ता घटनाले पर्दापछि के चलिरहेको छ भन्ने प्रश्न उठाएको छ । दुई देशले एक अर्कामाथि सिधै हमला नगरेर पर्दापछिबाट युद्ध गरिरहेकाले यी घटनालाई पनि यसैको एउटा पाटोका रुपमा हेरिएको छ । गत वर्ष इजरायलले इरानका एक शीर्ष परमाणु वैज्ञानिकको हत्या गरिदिएको थियो । यो घटना इरानको परमाणु कार्यक्रमलाई कमजोर बनाउने एक गम्भीर षडयन्त्र थियो।


दुबै देशमा नयाँ नेता जिम्मेवारीमा

इजरायल र इरानबीच यस क्षेत्रमा हिंसात्मक संघर्ष चलिरहेका बेला दुवै देशमा नयाँ नेता सत्तामा आएका छन् । गत महिना इजरायलमा १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुलाई हटाएर नेफ्टाली बेनेट सत्तामा आएका छन् । निकै सानासाना पार्टीहरुको समर्थनमा उनी २०२३ सम्मका लागि सत्तामा बसेका छन् । उनले सत्तामा आएलगत्तै आफू पूर्ववर्ती बेन्जामिन नेतान्याहुजस्तै इरानको बिरोधी भएको बताइसकेका छन् ।

इरानमा पनि कट्टरपन्थी मानिने इब्राहिम रइसीले सत्ता सम्हालेका छन् । उनी इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खमेनीको निकट मानिन्छन् र इजरायलको खुला विरोधीका रुपमा चिनिन्छन् । रइसी सत्तामा आएलगत्तै इजरायलले निकै कडा शब्दमा उनको आलोचना गरेको थियो । रइसीले पनि इजरायललाई एक खतरनाक देशका रुपमा चर्चा गरेका छन् । अब दुई देशबीचको यो टकराबमा पनि सिधा रुपमा यिनै दुई नेता सामेल हुनेछन् । जसको संकेत पछिल्ला घटनाले पनि दिन्छ। किनकि नयाँ नेता आएर दुई देशबीचको संघर्षमा कुनै परिवर्तन देखिएन ।

नेतृत्वमा आएको परिवर्तनले एक अर्काबीचको नीतिमा भने तात्विक अन्तर आएको देखिएन । कतिपयले अमेरिकाले इरानसँग नयाँ परमाणु सम्झौताको प्रयास गरिरहेका बेला इजरायली प्रधानमन्त्री त्यसलाई रोक्न छायाँ युद्ध’ को सहारा लिइरहेको चर्चा पनि भइरहेको छ । पछिल्ला दिनमा इजरायलले इरान र इरानी पानीजहाजमाथि हमला तीव्र पारेको छ । जसले गर्दा इरानले पनि जवाफी कारबाही गरिरहेको छ । यो संघर्षमा यस्तो समयमा दुई देशबीच हिंसा बढेको छ, कि भियनामा इरानसँगको परमाणु सम्झौतालाई पुनः लागू गर्ने विषयमा वार्ता चलिरहेको छ ।

यदि यो सम्झौता भएमा इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने छ भने बदलमा इरानमाथि लाग्दै आएको प्रतिबन्ध हट्नेछ । इरान र इजरायलमा केही यस्ता नेता तथा अधिकारीहरु छन्, जो पुनः यो सम्झौता होस् भन्ने चाँहदैनन् । इजरायलमा पनि यो सम्झौता इरानको पक्षमा भएकाले कार्यान्वयन नहोस् भन्ने चाहाना राख्नेको कमी छैन । यस क्षेत्रमा इरान बलियो बन्दै जानु इजरायलका लागि खतरा भएको उसको बुझाई छ । तर बेलायत र अमेरिका दुवै देश इरानसँग परमाणु सम्झौता गर्ने पक्षमा छन् ।


इजरायल एक्लिन सक्छ

इरानसँगको पछिल्लो संघर्ष र परमाणु सम्झौता हुन नदिने खेलमा इजरायल एक्लिन सक्ने देखिएको छ । इजरायलले इरानी जहाजमाथि निशाना बनाएर परमाणु सम्झौतालाई हुन नदिन कोशिस गरिरहेको छ । रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटमा मध्य-पूर्व मामलाका जानकार माइकल स्टिफेन्स भन्छन्, ‘इजरायलले इरानी जहाजलाई निशाना बनाएर परमाणु सम्झौतालाई हुन नदिने वा पर धकेल्ने कोशिस गरिरहेको छ । एकतर्फी कारबाही गर्ने यो निकै खतरनाक बाटो हो ।’

इरानमाथि इजरायलले गरिरहेको एकतर्फी हमलालले इरानमाथि परमाणु सम्झौता र यस क्षेत्रका सुरक्षमा उत्पन्न समस्याबारे बलियो तर्क राख्न सक्छ भने कारबाहीले अमेरिकी पक्ष कमजोर बन्न सक्छ । किनकि लामो समयदेखि अमेरिका र इजरायल एक अर्काका सहयोगीका रुपमा रहँदै आएका छन् । अर्कोतिर इरानले पनि जवाफी कारबाही गरेर संसारभरमा इजरायलको हितमाथि हमला गर्न सक्छ । इजरायलले पहिले नै इरानको परमाणुु कार्यक्रममा व्यवधान खडा गर्न सक्छ भन्ने संकेत गरिसकेको छ ।

तर प्रश्न यहाँ मात्रै सीमित छैन । बरु इजरायलले यो काम कुन मूल्यमा गर्न लागिरहेको छ र यसले यस क्षेत्रको शान्तिमा कस्तो असर पार्छ भन्ने महत्वपूर्ण छ ।इरानका नयाँ राष्ट्रपति सर्वोच्च नेता खमेनीसँग निकट छन् । उनको मातहतमा रहेको रिभोल्युसनरी गार्ड छ। उनीहरु पश्चिमा देशसँगको सम्बन्ध सुधार भएको मन पराउँदैनन् । यद्यपि पश्चिमा राष्ट्र इरानसँग सम्झौतामा पुग्न चाहन्छन् । त्यसैले यसमा इजरायलले ठूलो असर पार्न भने कठिन हुन्छ । त्यसो गरेमा बाइडेन प्रशासन इजरायलसँग नकारात्मक हुन सक्छ । यो उसका लागि निकै घातक बन्न सक्छ ।

बाइडेन प्रशासनले सिरियामा इरान समर्थित मिलिसियामाथि हमला सुरु गरेको छ र त्यहाँको लडाईमा अमेरिका र इजरायल सँगसँगै छन् । मध्यपूर्वको संघर्षमा अमेरिकाका लागि इजरायलसँग सम्बन्ध राम्रो बनाउन अमेरिकालाई जति आवश्यक छ, त्यो भन्दा पनि बढी इजरायललाई यस क्षेत्रमा आफ्नो अस्तित्व कायम राख्न पश्चिमा राष्ट्रको आवश्यकता छ । सन् २०१६ को अन्त्यमा अमेरिकाले साथ नदिँदा राष्ट्रसंघ सुरक्षा परिषदबाट प्यालेस्टिनी भूमिमा बस्ती विस्तार गर्ने इजरायलको कदमको विरोध गर्ने एक प्रस्ताव पारित भएको थियो ।

ओबामा प्रशासनसँग त्यसबेला इजरायलको सम्बन्ध चिसिदै गएको थियो । तर त्यसलगत्तै अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि इजरायलले पुनः अमेरिकी साथ हासिल गर्‍यो । ट्रम्मले ओबामा प्रशासनका धेरै नीतिहरु फेरबदल गरे। जसमा इरानसँगको परमाणु सम्झौता पनि थियो । इरानसँगको सम्झौतामा इजरायल खुसी थिएन । त्यसैले ट्रम्प प्रशासनसँग इजरायलको सम्बन्ध सुरुदेखि नै राम्रो हुँदै गएको थियो । हालका राष्ट्रपति जो बाइडेन ओबामा प्रशासनमा उपराष्ट्रपति थिए र उनी इरानसँगको परमाणु सम्झौतालाई पुनः अघि बढाउने तयारीमा छन् । बेलायत यसअघिदेखि नै सम्झौताको पक्षमा छ। त्यसैले यो सम्झौताका लागि इरानलाई धेरै चिढ्याउनु उनीहरुका लागि फाइदाजनक छैन । त्यसैले इरानसँगको छायाँ युद्धमा अमेरिका र बेलायत अघि आए पनि प्रत्यक्ष संघर्षमा इजरायल एक्लिने सम्भावना छ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया