शुक्रबार, वैशाख १४, २०८१

वैदेशिक रोजगारमा जाने युवालाई खोप प्रमाणित गर्न सास्ती

मेरोन्यूज २०७८ साउन २१ गते १६:२९

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकलाई खोप प्रमाणीकरण गराउन सास्ती भएको छ । खोप लगाइसकेका श्रमिकले खोप लगाएको प्रमाणपत्र लिन सम्बन्धित निकायबीच समन्वयको अभावमा प्रमाणपत्र लिन समस्या देखिएको हो ।

मलेसिया जान लागेका सर्लाहिका अरुण शाहीले खोप प्रमाणीकरणका लागि अस्पतालमा जाँदा हवाइ टिकट माग्ने, म्यानपावर कम्पनीमा जाँदा पहिला प्रमाणीकरण गरेर ल्याऊ भन्दा गारो भएको बताए । उनले बिहानदेखि लाइनमा बस्दासमेत प्रमाणीकरणको कार्य हुन नसकेको पिडा व्यक्त गरे ।

अरुण जस्तै बुटवलका राजेन्द्र कार्कीले विदेश जानका लागि पछिल्लो समय खोप लगाएको प्रमाण अनिवार्य गर्दा सास्ती ब्यहेर्नु परेको बताए । उनले अस्पतालमा खोप प्रमाणीकरण गर्न लामो लाईन लाग्नु पर्ने भएकाले सास्ती भएको बताए । आफू जस्तै अन्य युवा पनि रोजगारको बाध्यताले विदेश जानु परेको भन्दै उनले नेपालमा नै रोजगार दिए कतै नजाने बताए । उनले नेपालमा रोजगारी नदिए पनि रोजगारीमा विदेश जान उपयुक्त वातावरण बनाउनुपर्ने बताए ।

सरकारले पछिल्लो समय ‘क्युआर कोड’मार्फत नै खोप प्रमाणीकरण गर्न भनेको छ । तर, त्यो कार्यान्वयनमा भने आउन नसकेको व्यवसायीको भनाइ छ । सरकारले निर्देशन दिएको भए पनि कर्मचारीका कारण काममा ढिलाइ हुन गएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताएका छन् । पछिल्लो समयको खोप प्रमाणीकरणले श्रमिक र व्यवसायी दुवै पक्ष मारमा परेको वैदेशिक रोजगार व्यवसायीले बताएका छन् ।

सरकारले खोप ल्याउनुभन्दा पहिले नै अनलाइनबाट प्रमाणीकरण गर्ने सिस्टमको विकास गर्नु पर्ने भए पनि त्यसो नगर्दा समस्या उत्पन्न भएको व्यवसायीको भनाई छ । अस्पतालमा भिसा भएपछि प्रमाणीकरण हुनु पर्ने उनिहरुले जोड दिएका छन् । प्रमाणीकरण हुनुभन्दा पहिले नै टिकट काट्दा प्रमाणीकरण भएन भने टिकटको रकम गुम्नेमा व्यवसायी र बैदेशिक रोजगारका लागि तयार भएकाहरुको भनाइ छ ।

प्रतिक्रिया