शुक्रबार, वैशाख १४, २०८१

‘प्रतिस्पर्धा धेरै छ, अभिनय गरेर बाँच्न सकिँदैन कि’

नरेन्द्र रौले २०७८ साउन ९ गते १७:४५

एक टकले हेर्दा उनी चलचित्रकी नायिका नीता ढुंगाना जस्तै लाग्छिन् । उस्तै छ, हेराई र मुस्कान । तर, ठूलो पर्दामा देखिनै बाँकी छिन्, उनी । म्युजिक भिडियोमा भने क्विन नै हुन् । दुई सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

अछामको साँफेबगरबाट १० वर्षअघि काठमाडौँ छिरेकी उनी अर्थात रोजी कुँवर बोल्ड एण्ड ब्युटिफुल लाग्छिन् । सुदूरपश्चिमका देउडा गीतमा उनी परिचित नाम हुन् ।

सुरुमा उनी कल्चरल डान्समा गर्थिन् । देउडा, टप्पा, झ्याउरे, नेवारी र शेर्पा डान्स गर्थिन् । बिस्तारै म्युजिक भिडियोतिर तानिइन् । पहिलोपटक उनले तीजको गीतमा नाचिन् । प्रसिद्धि कला समूहमा पाँच वर्ष आबद्ध भएकी उनीका नाच गुरु तथा कोरियोग्राफर देगु ओरा हुन् ।

रोजीले अभिनय गरेकी पहिलो म्युजिक भिडियो हो, मेरा ढकमक्क फूली । रक्षा म्युजिकले ल्याएको यो गीतमा नरेन्द्र रावलले स्वर भरेका छन् । पहिलो गीत चर्चित भएपछि उनलाई कामका अफरको कुनै कमी भएन । यसै गीतले उनको पहिचान स्थापित गराइदियो ।

रक्सीको नशा, यो लोटाउनु राँगो, भुक्तोलीका राम, हरिया सौलको जस्ता २ सयभन्दा बढी गीतमा अभिनय गरिसकेकी छन् । आधा दर्जन जति गीतहरु बजारमा आउन बाँकी छ ।

रोजी म्युजिक भिडियोमा मात्र सीमित छैनन् । उनले रेडियो नाटक, सडक नाटकमा समेत अभिनय गरेकी छन् । हाल रमाइलो टिभीबाट प्रशारण भइरहेको मादलको खरी नामक टेली शृंखलामा उनले अभिनय छ । यसमा उनले मुख्य पात्र पुकुलीको भूमिका निभाएकी छन् ।

रोजीको म्युजिक भिडियोको यात्रा ०७४ सालदेखि भएको हो । सुरुमा कम बोल्ने बानी थियो । तर, यो क्षेत्रमा लागेपछि साथीभाइसँग घुलमिल गर्नु पर्ने बाध्यतासँगै स्वभाव फेरिएको छ ।

अछामको साँफेबगरस्थित जनकल्याण उमाविबाट एसएलसी उत्तिर्ण गरेकी रोजीले मदन भण्डारी कलेजबाट प्लस टु र स्नातक उत्तिर्ण गरिन् । कलाकारितासँगै आफ्नो अध्ययनलाई निरन्तरता दिइन् । चाबहिलको पशुपति क्याम्पसबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दै छिन् ।

यो क्षेत्रमा प्रवेश गर्न बुबा शिव बहादुर कुँवरको हात रहेको उनी बताउँछिन् । उहाँले दिनु भएको स्वतन्त्रता र विश्वासका कारण आफू यो स्थानसम्म आइपुगेको बताउँछिन्, उनी ।

पहिलो पारिश्रमिक

उनले पहिलोपटक म्युजिक भिडियोमा अभिनय गर्दा ५ हजार रुपैयाँ हात पारेकी थिइन् । त्यसपछि जब कामका अफरहरु आए, उनको पारिश्रमिक पनि बढ्यो । सुटिङका लागि उपत्यका बाहिर जाँदा एउटै गीतको ६० हजार रुपैयाँसम्म पारिश्रमिक लिएकी छन् ।

लकडाउन अगाडि मासिक १०-१५ वटा म्युजिक भिडियोका लागि अफर आउने गर्थे । लकडाउनपछि केही कमी भएको उनी बताउँछिन् ।

खानपान

उनी आफै विभिन्न परिकार बनाउन रुची राख्छिन् । ‘चिकेनका आइटम, अचार मीठो बनाउँछु,’ उनी भन्छिन्, ‘घरमा पाहुना आउँदा किचेनमा मलाई नै अघि सार्छन् ।’

भावी योजना

रक्सीको नशामा डुबेकाहरुले भन्छन्, रक्सीबिना बाँच्न सकिदैन । रोजीका लागि पनि अभिनय एक प्रकारको नशा नै बनिसकेको छ । यो बिना बाँच्न सकिन्न जस्तो लाग्छ, उनलाई । तर, बेलाबेलामा अभिनय मात्रै गरेर बाँच्न नसक्ने हो कि भन्ने लाग्छ । केही उद्यम, व्यवसाय गर्नु पर्ने सोच्छिन् उनी ।

प्रतिस्पर्धा गरेर अगाडि बढ्न गाह्रो हुने उनले सोचेकी छन् । कोरोनापछि लकडाउनले पनि त्यही कुरा सिकाएको छ । केही न केही आफ्नै उद्यम, व्यवसाय भइदिए जीवन चलाउन सहज हुने उनको सोचाई छ । ‘हिम्मत हारेको छैन,’ उनले सुनाइन्, ‘आफैले केही व्यवसाय गरौँ भन्ने सोचेको छु ।’

प्रेम र विवाह

रोजीलाई प्रेम र विवाहको प्रस्ताव आइरहेको छ । तर, उनलाई लाग्छ, मायाले मात्र संसार चल्दैन । फोनमा झुण्डिएर मात्र हुँदैन । काम र पेशालाई बुझिदिने मान्छे होस् भन्ने लाग्छ ।

अरुबाट मात्र होइन आफूले पनि माया, प्रेम र विश्वास दिलाउन सकूँ भन्ने लाग्छ । आफूले विवाह गर्न चाहेको मानिसलाई सम्मान गरौँ भन्ने लाग्छ ।

प्रतिक्रिया