शनिबार, वैशाख १५, २०८१

गठबन्धनमा देउवाको प्रस्ताव : कुन पार्टीलाई कति मन्त्रालय ?

मेरोन्यूज २०७८ साउन १ गते १२:१०

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डको प्रस्ताव गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेससहित, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूह र राष्ट्रिय जनमोर्चाको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

यो गठबन्धनमध्ये राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गर्ने तर, सरकारमा सहभागी नहुने संस्थागत निर्णय गरिसकेकाले चार दललाई देउवाले सरकारमा सहभागी बनाउने प्रस्ताव शीर्ष नेताहरूसँग गरेको उनी निकट स्रोतले बतायो । प्रधानमन्त्रीको सचिवालय निकट स्रोतका अनुसार सत्ताको नेतृत्व गरेको कांग्रेसलाई ४० प्रतिशत, माओवादी केन्द्रलाई ३०, एमालेको नेपाल समूहलाई २० र जसपाको यादव समूहलाई १० प्रतिशत सत्ताको हिस्सा दिने देउवाको प्रस्ताव छ । तर, कुन कुन मन्त्रालय क कसलाई दिने भन्ने देउवाले नखुलाएको स्रोतले बतायो ।

नेता नेपाललाई बुधबार उनकै निवासमा भेट्न जाँदा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष यादवलाई बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको शीर्ष नेताहरुको बैठकपछि यस्तो प्रस्ताव राखेको स्रोतले बतायो ।
स्रोतका अनुसार सकभर एमालेको नेपाल समूहलाई पनि सरकारमा ल्याउने र नआएमा त्यो प्रतिशत पनि तीन दलले मिलेर बाड्ने प्रस्ताव देउवाको छ ।

प्रतिशतमा नेताहरुले कुनै प्रतिक्रिया नदिए पनि पहिला मन्त्रालय कुन कुन दिने हो स्पष्ट गर्न भनेका छन् । देउवाले भने संसद् अधिवेशन सुरु भएपछि त्यस विषयमा छलफल गरौँला भनेका देउवा निकट एक नेताले बताए । शीर्ष नेताहरूको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद् विस्तार र भागवण्डाबारे सैद्धान्तिक छलफल भएको तर, कुनै सहमति भइनसकेको बताए ।

सत्ता साझेदार शीर्ष नेताहरुसँग बार्गेनिङका लागि देउवाले सो प्रस्ताव राखे पनि माधव नेपाल पक्ष सरकारमै आएको अवस्थामा भने कांग्रेसले २५ प्रतिशत अर्थात ६ मन्त्रालय मात्रै लिएर अरु सबै मन्त्रालय भागबन्डा गर्नुपर्ने अवस्था आउनसक्ने आफू निकटलाई बताउने गरेका छन् ।

उनले माओवादीलाई थोरै मन्त्रालयमै कन्भिन्स गराउन सकिने भएकाले कांग्रेस र माओवादीले थोरै मन्त्रालय लिएर भए पनि नेपाल समूह र जसपाको यादव-भट्टराई समुहलाई चित्त बुझ्ने गरी मन्त्रालय दिने गरी गृह कार्यअघि बढाएका छन् । यादव-भट्टराई समुहलाई महन्थ ठाकुरका सांसद तान्नुपर्ने भएकाले उनीलाई पनि चित्त बुझाउने गरी मन्त्री दिन सकिने देउवाको भनाई छ ।

अहिले प्रधानमन्त्रीसहित कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल बनेका छन् ।

प्रधानमन्त्रीबाहेक अहिले २१ मन्त्रालय छन् । तीन राज्यमन्त्री थपेर २५ सदस्यीयसम्म मन्त्रिपरिषद् बनाउन सक्ने व्यवस्था २०७२ मा जारी संविधानमा छ ।

प्रतिक्रिया