शनिबार, वैशाख १५, २०८१

पैसा र पावरले पुग्दैन, राजनीतिमा लाग्दिनः पवन गोल्यान

किरण अधिकारी २०७८ असार २६ गते ८:२७

काठमाडौं । गोल्यान समुहका अध्यक्ष पवन गोल्यान नेपालमा भएको उद्योगहरु विस्थापित नहुने गरी विदेशी लगानी भित्र्याउनुपर्ने बताउँछन् । विदेशी लगानीले नेपालको कुनै पनि क्षेत्रलाई घाटा नहुने गोल्यानको भनाइ छ ।

नेपालमा चप्पलदेखि हाइड्रोसम्मको विकासका निम्ति विदेशी लगानी आवश्यक भएपनि कुन क्षेत्रमा आवश्यक हो किटान साथ आउनुपर्ने तथा नेपालका साना किसान, व्यवसायीहरुको रोजिरोटी गुम्नु नुहुनेमा स्थानीयस्तरका सर्वसाधारणलाई काममा लगाएका छन् ।

विदेशी लगानीको आवश्यकतालाई जोड दिएपनि स्वदेशमा बैंकदेखि उद्योग सञ्चालन गरेर अब्बल देखिएका छन् पवन । मोरङको रंगेलीमा जन्मिएका पवन अहिले ६२ वर्षका भए ।

उनको समयमा १६ वर्ष नपुगी एसएलसी परीक्षा दिन नपाइने भएकाले सरकारी कागजमा २ वर्ष उमेर बढाएर १४ वर्षमा १६ देखाएर मोरङको सत्यनारायण हाइस्कूलबाट एसएलसी पास गरे । नागरिकता, पासपोर्ट अनुसार उनी ६४ वर्षका भए ।

अध्ययनभन्दा घरायसी व्यापारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन लागेकाले स्नातकभन्दा धेरै पढ्न सकेनन् । नपढेको उद्योगी, व्यवसायी भनेर भन्दा पनि चिन्ता छैन पवनलाई । आफूभन्दा पछिल्लो पुस्तालाई जिम्मा लगाउँदैछन् उनले ।

बुबाका डरले पूरा हुन नसकेको सपना
उद्योगी व्यवसायी पवन गोल्यान सिनेमाका सौखिन पनि हुन् । हिन्दी फिल्मका सौखिन उनी फिल्म हेर्ने गर्थे । तर पनि आफु भित्रको खास इच्छा भने उनको पाइलट बन्ने थियो ।

बाटामा साइकल चलाउँदै गित गाउँदै हिडे पनि पाइलट बन्ने इच्छा भने उनको मानस पटलमा संधै ताजा रहन्थ्यो तर बुबाको डरले उनले पाइलट बन्ने सपना कसैसँग शेयर गरेनन् ।उनले भने – ‘म सानैदेखि खेल पनि खेल्ने मान्छे तर डरले बुबाकै पछि लागें ।’

सानैदेखि उनी शारीरिक एक्सरसाइजका लागि पनि उत्तिकै रुची राख्थे । ‘हेल्थ ईज वेल्थ का लागि सानैदेखि अहिलेसम्म पुसअप, बडिबिल्डङ, जिम लगायतका व्यायामलाई निरन्तरता दिएको छु’ – गोल्यानले भने ।

बुबाको पुच्छर पवन !
एसएलसी दिएपछि खाली समयमा बुवा सोहनलाल गोल्यानले उनलाई पुख्र्यौली व्यापार सिकाए । जसले गर्दा गोल्यान समुहको व्यापार उद्योग अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको छ । चप्पलदेखि धागो उद्योग, होटलदेखि हाइड्रोसम्म पवन लागेका छन् । उनले हास्दै भने, ‘आफ्नो चप्पल उद्योगको चप्पल लगाएर नेपालका अधिकांश स्थान हुँदै विदेशमा समेत पुगेको छु, प्रचार प्रसारको लागि आफ्नो व्यवसायबाट उत्पादित वस्तु लगाइले मान्छे सानो हुँदैन ।’

बुबा सोहनलालले पहिलो दिन दिएको दुईवटा खातामध्ये खालीमा पूरै सार्न दिएको कहिल्यै बिर्सदैनन् । दोस्रो दिनबाट नयाँ खातामा हिसाब बनाउन सिके । अहिले त उनको सबै व्यवसायमा लेखापाल छन्, जसलाई पारिश्रमिक दिएर बसेका छन् पवन ।

पवनको व्यवसायीक समुहले ७ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ भने मुलुकको व्यापार घाटा घटाउन अघि बढेका छन् ।
बुबाको सपनाले गर्दा पवन वाणिज्य बैंक, एनएमबी र नेपाल धागो उत्पादक संघ, बीमा, जलविद्युत्, रियलस्टेट, कृषि, होटल र हस्पिटालिटी क्षेत्रमा सहभागि भएका छन्, लगानी सहित ।

बन्द अवस्थामा रहेको विराटनगरको कपडा उद्योगलाई बुबा सोहनलालको विदेशी अनुभवले खुला गरे । विदेशमा उद्योग खोल्नुभन्दा विदेशी लगानी नेपालमा लगाउनुपर्ने ध्याउन्नमा लागेका छन् । अहिले पनि भारतीय औद्योगिक क्षेत्रका मालिकलाई नेपालमा अवसरको पाटो देखाउँदै छन् ।

उनले पस्मिना उद्योगमा लगानी गरेर सबैभन्दा धेरै निर्यात गर्ने उद्यमी बने । केही विदेशी कम्पनीको शेयर होल्डरमा पनि लागेका छन्, पवन । उनी भन्छन्, ‘धागो कपडा उद्योगबाट सन् १९९४ मा एमएस गु्रपको शशीकान्त अग्रवालसँग मिलेर ५०–५० प्रतिशत लगानीमा रिलायन्स स्पिनिङ मिल राख्यौं, जसले आजसम्म चिनाएकोमा खुसी लाग्छ ।’

नेपालमा बनेको सुती र सिन्थेटिक धागो ठूलो परिमाणमा भारत, बंगलादेश, टर्कीतिर पनि निर्यात हुन थाल्यो, जुन अहिले पनि जारी छ ।
गोल्यान समूहको अर्को उद्योग छ, शवम् प्लाष्टिक इण्डष्ट्रिज । जहाँ उत्पादित ८० प्रतिशत भन्दा बढी पोलि–प्रोप्लिन ब्याग (सिमेण्ट राख्ने बोरा), टार्पाेलिन (त्रिपाल) र झोलाहरु भारतमा निर्यात हुन्छ । ‘निर्यात कै हेतुले खोलेको स्वेटर उद्योग भने विभिन्न कारणले सोचे जस्तो हुन सकेन’, पवन भन्छन्, ‘अहिले भतिजले सम्हालिरहेको त्यो उद्योगले आन्तरिक बजार भने राम्रै गरिरहेको छ ।’

नेपाल कृषिप्रधान मुलुक भएपनि कृषि उपजमै परनिर्भर बन्नुपरेको अवस्था छ । कृषिको आयातलाई कम गर्नका लागि नेपालको पूर्वी क्षेत्रबाट अर्गानिक कृषिलाई व्यवसायमा बदलेका छन् । कृषिमा व्यवसायीकता देखाउन बंगलादेशबाट कृषि वैज्ञानिक ल्याएर र नेपालका विभिन्न विश्वविद्यालयमा कृषि पढेका विद्यार्थीको सहभागितामा अर्गानिक खेती विस्तार गर्दैछन् । भन्छन्, ‘नेपालभर गोल्यान समुहको अर्गानिक कृषि भनेर छिट्टै चिनिने छ ।’

बुबाको योजना अनुसार नै आफू यी क्षेत्रमा सहभागि भएको पवनको मुखबाट आइरहन्छ । भन्छन्, ‘पुच्छर जस्तै बुबा जता, पवन उतै ।’


निर्यातमा गोल्यान एक नम्बर !
गोल्यान समूहको उद्योग–व्यावसायले नेपालको कुल वस्तु तथा सेवा निर्यातमा साढे ७ प्रतिशत हाराहारीमा योगदान गरिरहेको पवन गोल्यानको दाबी छ । एउटै व्यवसायिक घरानाबाट यति ठूलो परिमाणमा निर्यात गर्ने सम्भवतः गोल्यान समूह नै हो ।

पछिल्लो सरकारी नीतिले उत्साहित पारेकामा पवन खुसी छन् । सरकारले निर्यातमूलक उद्योगलाई पनि केही सहुलियत दिने नीति लिएकोले हिजो आयात गर्नेहरुलाई धेरै राजश्व दाखिला गरेको माला लगाउने सरकारले निर्यात बढाउन प्रोत्साहन गरेकाले गोल्यान समुह निर्यातको एक नम्बरमा पुगेको गोल्यानको जोड छ । सरकारलाई मात्र गाली गरेर केही नहुने भएकाले सरकारको नीति अनुसार सहमति, सहकार्य र सहभागिका साथ सरकारसँग अघि बढे अपेक्षा र सुझाव लागु हुने पवनको जोड छ ।

बैंकमा पनि पवन !
एनएमबी बैंकले लगातार दुईपटक बेलायतस्थित द फाइनान्सियल टाइम्सको ‘बैंक अफ दी इयर अवार्ड’ पायो २०१७ र २०१८ मा । त्यसमा पनि पवन गोल्यानको प्रमुख भूमिका रहृयो । अहिले उनी एमएमबी बैंकको अध्यक्षका रुपमा सक्रिय छन् ।

तनाब दिएकै कारण बैंकहरुका कार्यकारी अधिकृत (सीईओ)ले राजीनामा दिएको धेरै दृष्टान्त छन् । तर, पवन यस्ता अध्यक्ष हुन्, जसले आफ्नो बैंकका सीईओलाई प्रगति देखाउन प्रेरित गर्छन् । ‘बोर्डले भिजन दिने र व्यवस्थापनले काम गर्ने हो’, उनी भन्छन्, ‘एनएमबी बैंकमा त्यही भएको छ ।’

एनएमबीसँगै एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्यारेन्समा पनि पवन छन्, अर्थात् गोल्यान समूहले बैंकदेखि बीमासम्म हलोदेखि हाइड्रोसम्ममा लगानी गरेको छ ।

होटलतर्फ रेसिडेन्सेस एट हायात प्लेसमा लगानी छ भने वेष्टार प्रपर्टिजमार्फत ललितपुरको बालकुमारीमा हाउजिङ छ । सोलार परियोजनासँगै पवनले विद्युतको लागि छुट्टै समूह बनाएका छन् ।

पैसाले खुसी नदिएकोले समाज सेवामा पवन !
बुबाको पछि लागेर उद्योगी, व्यापारी बनेका पवनले समाज सेवाका लागि छोरा जयन्तको स्मृतिमा छुट्टै संस्था स्थापना गरेका छन् । १४ वर्षको उमेरदेखि बुबाको पछि लागेर हिसाब किताब गर्न सिकेका पवन १४ भनेपछि आँसू झार्छन् ।

कारण १४ वर्षको उमेरका छोरा गुमाएकाले छोराको नाममा खोलेको जयन्त गोल्यान फाउण्डेशनले महिला र कृषकलाई आत्मनिर्भर बनाउने शीप विकास तालीम तथा सहयोग गर्ने गरेको छ । महिलाका लागि सिलाई, कटाई, बुनाई तालिम केन्द्रका साथै आत्मनिर्भरका लागि केहि नहुने तर आत्मबल हुनेलाई कृषिमा सहभागि गराउने गर्छन् ।

पैसाले नै सबै चल्छ । विकासका लागि पैसा चाहिन्छ । त्यसैले सरकारले बजेट र मौद्रिक नीति मार्फत पैसा चलायमान बनाउँछ । सहजै हाम्रो हातमा पैसा आइपुग्छ । पैसा खेलाउनका लागि कमाउनुपर्छ तर पैसाले खुशी किन्न नसक्ने पवनको भनाई छ ।

हरेक काम गर्दा अनेक समस्या आइपर्छन् । कतिपय मानिस समस्या आएपछि भाग्ने, लुक्ने गर्छन् तर, पवन समस्यासँग लड्न योजनासँगै अघि बढ्छन् ।

‘मलाई उद्योग खोलेर रोजगारी सिर्जनासँगै पैसा पनि कमाउन सकिन्छ भने किन दलाल व्यापारमा लाग्ने भन्ने लाग्छ ।’ पवन भन्छन् । त्यसैले पैसाले खुसी दिन नसकेकाले छोराको नाममा समाज सेवामा पवन लागेका छन् ।

‘जीवनमा सम्झँदा सन्तुष्ट लाग्ने कुराहरु छन् भने मान्छेलाई खुशीको दुःख हुँदैन’, ६२ वर्षे पवन भन्छन्, ‘मलाई पैसाले मात्र खुशी किन्न सकिन्छ जस्तो लाग्दैन ।’

तेस्रो पुस्तामा व्यवसाय !
गोल्यान समूहमा अहिले तेस्रो पुस्ता सक्रिय छ । पवन र उनका दाजुले छोरा बुहारीलाई जिम्मा लगाउँदै छन् । पवनका १ छोरा र दाजुका २ छोराले विदेशमा अध्ययन गरे । १ जना भतिज बुहारी पनि विदेशमा पढेरै आएकी हु्न् ।

आफूले कम पढेपनि छोरा बुहारीको अध्ययनसँगै व्यवसायमा छोरा अक्षय, भतिजाहरु शक्ति र अनन्त, भतिज बुहारी लतिकाले जिम्मेवारी लिएका छन् । गर्वका साथ पवन भन्छन्, ‘अब गोल्यान समूहको नेतृत्व तेस्रो पुस्तामा गयो ।’

पैसा र पावरले पुग्दैन राजनीतिमा लाग्दिंन !
व्यवसायदेखि राजनीतिसम्म धेरै व्यक्ति जोडिएका छन् । उद्योग वाणिज्य तथाा आपूर्ती राज्य मन्त्री बनेका मोतिलाल दुगड अहिले प्रधाानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार छन् । लामो समयसम्म एमालेका नेता एंव सांसद बनेका उद्योगी विनोद चौधरी अहिले नेपाली कांग्रेसबाट सांसदसँगै नेता भएका छन् ।

धेरै अर्बपति सुरुका दिनमा साधारण पृष्ठभूमिबाट आएका हुन्छन् । सबै उद्योगी व्यवसायीलाई देशको ठूला व्यक्तिसँगै सबैले सम्मान गर्ने नैतिकवान व्यक्ति र औद्योगिक संस्थामा अब्बल बनाउने ध्यान हुन्छ ।

‘अर्थनीति र राजनीति’ लाई ध्यान दिदै धनाढ्यहरु नेता बन्नु र नेता धनाढ्य बन्नतर्फ आकर्षित भइरहेका बेला पवनले राजनीतिमा आर्थिक व्यवस्थापनको समस्यादेखि लगानी र लाखौंको संख्यामा श्रमिक बाहिरिनुलाई रोक्न लाग्नेमा ध्यान गएकाले राजनीतिमा लाग्ने ध्यान नरहेको दाबी गरे ।

त्यसका लागि नीतिगत प्रभाव पार्न राजनीतिमा लाग्नै पर्ने नरहेकोमा जोड दिदै उनले भने, ‘निजी संस्थाबाट समाज परिवर्तनमा योगदान पुर्‍याउन सकिने भएकाले राजनीतिमा लागेरै नेता, सांसद, मन्त्री बन्नु आफ्नो लाइन होइन ।’

पवनले आफू स्रोत र अर्थ व्यवस्थापनमा कुशल भएकोले राजनीतिमा आर्थिक व्यवस्थापनमा आफू लाग्न नपर्ने उल्लेख गरे । फेरि, पैसा र ‘पावर’ले मान्छेलाई कहिल्यै नपुग्ने भएकाले राजनीतिमा नलागी व्यवासाय, उद्योगसँगै सामाजिक क्रियाकलापमा आफ्नो जीवन बिताउने पवनको योजना छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया