शुक्रबार, वैशाख १४, २०८१

साताको अन्तिम दिन बढ्यो नेप्से

मेरोन्यूज २०७८ असार २४ गते १६:४८

काठमाडौँ । अघिल्ला ४ कारोबार दिन लगातार घटेको नेप्सेले कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले वृद्धि भएको छ ।

स्टक एक्ससचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २३ दशमलब ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलब ८९ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा करिब १ प्रतिशत बढी हो ।

गत आइतबार करिब साढे ६, सोमबार करिब १२ र मंगलबार ५ दशमलब २४ अंकले नेप्से घटेको थियो । यस्तै चौथो दिन हिजो बुधबार १६ दशमलब ९७ अंकले नेप्से घटको स्टक एक्सचेञ्जले जनाएको छ ।

स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकसँगै अघिल्ला दिन कारोबार रकम पनि लगातार घटेको थियो । तर, बुधबारको तुलनामा बिहिबारको कारोबार रकम र शेयरमा सुधार भएको छ ।

बिहिबार करिब ५१ हजार ८ सय ६८ कारोबारबाट २ सय २३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २ सय ४० कित्ता सेयर किनबेच भए  । ती किनबेचमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनकोभन्दा बढी हो ।

बुधबार कुल २ सय २२ कम्पनीको ४६ हजार १ सय ८३ कारोबारबाट ४ अर्ब ५८ करोड ५८ लाख १ हजार ९ सय ७६ रुपैयाँ बराबरको १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता शेयर किनबेच भएको एक्सचेञ्जको तत्थ्यांक छ ।

नेप्से बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर ३९ खर्ब २९ अर्ब रुपैयाँ कायम भएको छ  ।

कोभिड–१९ को कारणले सिर्जित लकडाउनका कारण अर्थतन्त्रका अन्य गतिविधि ठप्प भएकाले लगानीकर्ता शेयर बजारमा भित्रिएका थिए । यही कारण शेयर बजारले उच्च गति लिएको थियो । अहिले आर्थिक वर्षको अन्तिम साता भएकाले पनि सेयर बजारमा उत्साह नदेखिएपनि अन्तिम दिनमा सुधारको संकेत देखिएको हो ।

साउन पहिलो साता राष्ट्र बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिमा पुँजीबजार सम्बन्धमा के कस्तो नीतिगत व्यवस्था गर्छ त्यसका आधारमा पुँजीबजारको गति निर्धारण हुने शेयर लगानीकर्ता नवराज अधिकारीले बताए ।

कारोबार हुने साताको अन्तिम दिन बिहिबार शेयर बजारमा कारोबारमा आएकामध्ये व्यापार सुमह र नेपाल टेलिकम आबद्ध अन्य समुहको उपसुचकबाहेक सबैको परिसूचक बढेको छ  ।

तर, लघुवित्तको ६८ दशमलब २९ र वित्त समुहको ६४ दशमलब ९५ अंकले बढेको छ  । व्यापार समुहको सेन्सेटिभ परिसूचक २० दशमलब ६ र अन्यको १२ दशमलब १ अंकले शेयर कारोबार मापक घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया