शुक्रबार, वैशाख १४, २०८१

रोपिसकेको खेत बगरमा परिणत, किसान भन्छन् – ‘फेरि रोपाइँ गर्न न बीउ छ, न त खेत नै’

मेरोन्यूज २०७८ असार १७ गते ९:०८

दमौली । अविरल वर्षाका कारण तनहुँको म्याग्दे खोलामा आएको बाढीले धानखेत डुबाउँदा कृषक चिन्तित भएका छन् ।

असारको दोस्रो साता आठ रोपनीमा रोपेको धान खोलाले डुबाएको म्याग्दे गाउँपालिका–६ का दीर्घबहादुर भण्डारीले बताए । वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेको उनले जानकारी दिए ।

धान रोपेको चार दिनमै खेत बगरमा परिणत भएको छ । उनले भने, “यसपालिको बाढीले रोपेको धान पूरै सखाप भयो । फेरि रोपाइँ गर्नका लागि न बीउ छ, न त खेत नै ।” खेत रोप्दा बीउ र ज्याला गरी २० हजारभन्दा बढी खर्च भएको उनले बताए ।

उत्पादन भएको धान बेचेर गुजारा टार्दै आएका भण्डारीले यस वर्ष आफैंलाई पनि जीविकोपार्जन गर्न समस्या हुने गुनासो गरे ।

खोलाको धार खेततर्फ सोझिएपछि भण्डारीलाई जमीन पुरानै अवस्थामा कसरी फर्काउने भन्ने चिन्ता पनि थपिएको छ । मङ्गलबार राति आएको बाढीले खेत बगर बनाएपछि यहाँका १०० बिघाभन्दा बढी खेत डुबानमा परेको छ ।

अर्का कृषक शिव भण्डारीले खेत डुबानमा परेर खेतमाथि खोला बगिरहेको बताए । “खेत डुबानमा परेर खेतमा खोला बगिरहेको छ, केही खेतमा भेल पसेर बालुवा र गेग्रान थुप्रिएको छ”, उनले भने ।

खोलाले कटान गरेको खेत बिगाएर धान रोप्ने अवस्था यो वर्ष नरहेको उनको गुनासो छ । “अब धानको बीउ पनि पाइँदैन, पाइहाले पनि छिप्पिसकेको बीउ रोप्न मिल्दैन”, उनले भने ।

उनका अनुसार रोपाइँमा करिब १० हजार खर्च भएको थियो । रोपेको एक साता नबित्दै उनको खेत बगर बनेको छ ।

तटबन्ध तथा बाढी रोकथामको अभावमा बर्सेनि बाढीले दुःख दिने गरेको किसानको गुनासो छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले दीर्घकालीन रूपमा बाढी रोकथामका लागि तटबन्धको व्यवस्था गर्न पहल गर्नुपर्ने किसानको माग छ ।

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार म्याग्दे, व्यासलगायत अन्य केही पालिकामा धान खेतमा क्षति पुगेको छ ।

मुचुल्कासहित क्षति विवरण सङ्कलन गर्न थालिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । तनहुँमा बुधबारसम्म ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।

प्रतिक्रिया