शनिबार, वैशाख १५, २०८१

बालिका अपहरण गरी भारत लैजाने एक जना जेल चलान

मेरोन्यूज २०७८ असार १६ गते १०:४२

काठमाडौँ । बालिकालाई अपहरण गरेको आरोपमा सप्तरी अदालतले मंगलबार एक जनालाई कारागार चलान गरेको छ । न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज २ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो ।

अपहरणको खबरलगत्तै सक्रिय बनेको जिल्ला प्रहरीले १५ मिनेटमा बालिकाको सकुशल उद्धार गरेको थियो । राजविराजबाट अपहरित १४ वर्षीय बालिकालाई भारत लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय रुपनीले देवलाई पक्राउ गरी बालिकालाई सकुशल उद्धार गरेको थियो ।

राजविराजस्थित घरबाट आरोपीले जेठ २० गते ललाइफकाई बुवाको साथी भनी मोटरसाइकलमा लिएर गएको पीडितले बयान दिएकी छन् । राजविराजबाट ९ किलोमिटर उत्तर रुपनी नजिक पुगेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेपछि मात्रै बालिकाले अपरहणमा परेको जानकारी पाएकी थिइन् ।

प्रदेश २–०३–०१३प ४६८२ नंको अपाची मोटरसाइकलमा आएका आरोपीले बुवाको साथी भन्दै बालिकालाई लगेका थिए । समयमा नै सबै नाकामा कडाइ गरी जाँच गर्दा आरोपी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

प्रतिक्रिया