सोमबार, साउन ११, २०७८

पद प्रतिष्ठा

सुभचन्द्र राई २०७८ असार १२ गते १८:१५

गाउँमा अन्तरे दाजै पहिले पहिले गाउँमा कहीँ कतै कार्यक्रम भयो भने नाच हेर्न होस् वा खेल देख्न पुगिहाल्नुहुन्थ्यो।बनेम्पा साँईला खबर पाउने बित्तिकै गाउँको कुलोको झिंगे मिटिङदेखि, ठुलोको कागे मिटिङसम्म भ्याईपठाउनुहुन्थ्यो।त्यतिबेला–“आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको“ भन्ने भनाई सबैलाई कण्ठ थ्यो। भलै अलि भुढो पाको भएको घरमा प्राय गफ लाउने मान्छे टुट्दैनथे। काँचोपात बेर्दै पुलुक पुलुक हेर्दै जमानाको कथा जोतेर अनुहारमा हाँसो पोतेरै दिन बिताउनुहुन्थ्यो।

Advertisement


समय फेरियो। छरछिमेक हेरियो।गाँउमा केटाकेटीहरू टिभितिर मोबायलतिर पसे। बुढाहरूको कुरा सुनिन छाड्यो।लोककथाहरू लौ कता? भए! लोप त भए!


युवाहरू लाहुर पसे बाँकि बिदेश हुरहुर पसे।बाँकि शहर पसे।कोही कोही खै किन गाउँ बसे।तर खालि हात वा बिनापद कोही बसेनन्। बस्न पाएनन्।

गाउँबाट युवाहरू निस्केर के भो?र? गाउमा अनेक संघ पस्यो,संगठन पस्यो,संस्था पस्यो,समूह बस्यो।गाउँमा जति थिए मान्छे कोही संगठन,समूह र संस्थाविहिन रहेनन्।


कोही बने वन विकास समितिको अध्यक्ष ,कोहि बने सालघारी संरक्षण समुहको वरिष्ठ सदस्य ।कोही समृद्ध समाज निर्माण गाउँ कमिटीको संयोजक,कोही बगरखोला बगर नापजाँच समितिको प्रवक्ता। उन्नत जातको खरेटो खेति समितिदेखि समुन्नत बातको गोरेटो निर्माण कमिटीसम्म यहीँ गाउँको जनशक्तिले धान्नुपर्याे।

Advertisement

गाँउमा कुलो निर्माण महासंघ र धुलो निर्माण समितिबिच कस्को बरियता कुन? को ठुलो को लुलो?? भन्ने विषयमा विवाद बढेर आउन थाल्यो।तर कुलो बढेर आएन।वास्तविक बाख्रापालन कृषि समूह र उन्नत बोका पालन पसुपालन संस्थाबिच को सच्चा बाख्रापालक? को पक्का किसान भन्ने विषयमा धेरैपटक झगडा भयो। तर साँच्चिकै बाख्रा पालनमा तगडा कोही निस्केनन्।


गाँउमा समूह कति बने कति?? कतै–“ केही गरेर देखाउने।“ भन्दै समूह खुले।के गरेर देखाए केही देखिएन। कतै –“देखेको गर्ने।“ भन्दै समूह खुले।पछि कतिबेला अरूले नदेखि सकिए थाहै भएन।


गाउँमा विभिन्न शक्तिशाली भनिएका पार्टीको कमिटीहरू बने,तर खै एउटा गतिलो बस्ने पाटी बनेन।बरू भएका चौताराहरू बेवारिसे बने। बरू छिमेकिहरू एक अर्काका आहारिसे बने।समितिको नाममा ,कमिटिको नाममा,पदको निहुँमा।

अब एउटा बाटो खन्नलाई पनि सर्वदलिय बैठक चाहिन थाल्यो।सर्वपक्षिय भेला चाहिन थाल्यो।यो त एकदम राम्रो पक्ष भयो। तर कुरा यहाँनीर बिग्रन्थ्यो कि अब त्यो समितिमा कस्को पद कुन हुने? कस्ले भाग कति पाउने? कस्को हैसियत कति हुने?? खनिने बाटोभन्दा लामो त बनिने समितिको निर्माण प्रकृया र खिचातानि लामो हुन थाल्यो। पदमा मिल्नेको मुख बन्द भएपनि नमिल्नेको समूह फेरि एकजुट भैहाल्ने। प्रखर प्रतिरोध र सशक्त संघर्षको कार्यक्रम थालिहाल्ने। अनि बाटो बन्नुपर्ने समयमा गाउँमा फाटो बन्थ्यो।जो क्रम अहिलेसम्म पनि निरन्तर छ।
गाउँमा सबैलाई समेट्नुपर्ने देखियो। सबैले मुख्य पद भेट्नुपर्ने देखियो। त्यसपछि सबैले सबैको हितमा सोचेर होला नयाँ संरचना र नयाँ पदिय बिभाजन प्रचलनमा ल्याईयो।


गाउँमा सार्वजनिक सौचालय निर्माणका लागि आएको एक लाख बजेट फर्च्यौट गर्न देहाय बमोजिमको समावेशी र उन्नत समितिको संरचना तयार गरियो।

“मझुवा छेउटोल व्यावहारिक अलौकिक सार्वजनिक सौचालय निर्माण समिती“

–अध्यक्षः–
–कार्यकारी उपाध्यक्षः–
–शक्तिशाली संयोजकः–
–सर्वमान्य निर्देशकः–
–प्रमुख व्यावस्थापकः–
–आधिकारिक प्रवक्ताः–
–मुख्य सचिवः–
–महा सचिव–
–महा उत्प्रेरकः–
–मुख्य कोसाध्यक्ष–
–विशेष कोषाध्यक्षः–
–सदस्य समन्वय प्रमुखः–
–वरिष्ठ सदस्यहरूः–
–साधारण सदस्यहरूः–

यत्रो तजबिज मिलाएर निर्माण गरिएको समितिमा सबेै मुख्य मान्छे सबै प्रमुख पदमा थिए। वरिष्ठ सदस्यहरूले पनि चित्त बुझाए तर साधारण सदस्यहरूले मन दुखाएरै छोडे।काम गर्दै जाँदा बरियताक्रम र कुर्सिको पोजिसनमा संधै झगडापरिरह्यो।सर्वशक्तिमान कोहो? भन्ने विषयमा छेडखानि चलिरह्ययो।सार्वजनिक सौचालय निर्माण गर्नुपर्ने समितिले सार्वजनिक सोच आलय मात्रै निर्माण गरे। बहस झगडा गरे। आखिर बजेट सकियो। सौचालय सोच मात्रै रह्यो। काम बाँकि रह्यो।बनेन। तर खै कसरी बजेट फर्च्यौट भो।कोही नाप्न आएन,जोख्न आएन।कसैले मनको बह पोख्न आएन। जान्नेहरू समिति भैहाले,नजान्नेहरू रमिते भैरहे।

सायद यसैको छापले। धोकाको रापले यस समितिमा यसो कोरम पुर्याउन साधारण सदस्य बनाईएका झलकमान काकाले आफ्नै समिति बनाए फरक धारमा।आफैँ अध्यक्ष भएर।“बाख्रा पालनमा क्रान्ति ,किशानहरूलाई शान्ति ।“ भन्ने मुल नाराका साथ –“राष्ट्रिय बड्कौँला संकलन तथा प्रवर्द्धन समिति निर्माण गरे।

यस समितिमा पनि मेजर फाईभमा नपरेका धनवर्णेम्पा दाजैले–“ बाँसघारी व्यावस्थापन तथा चोया भाटा उत्थान समिति“ निर्माण गरेर आफुलाई अध्यक्षमा दर्ज गराई छाडे।


गाँउको आमा समूहको अध्यक्ष भएर पनि सम्मानित पद नपाएको निहूँमा झलकमान काकाको खेमाबाट बिद्रोह गर्दै सिरानघरे भाउजुले धनबर्णेम्पा दाजैको समूहमा उपाध्यक्ष सहित महिला बिभाग प्रमुख पड्काउनु भो।


यहिँ समुहमा आफूलाई उपेक्षित महसुस गर्नुभएको मनेम्पा काकाले दाजुभाईलाई संगठित गर्नु भो चोैध घरधुरी रहेको त्यो टोल उत्थान समितिको सचिव पाएपछि झलकमान काकाको समूहमा “बैधानिक जागरणकर्ता“ पदमा रहनुभएका उथानसिंह दाजै उता छाडेर समाजको लागि योगदान गर्ने अठोटका साथ बाँस र चोयाले समृद्धि सम्भव छैन भन्ने विचारसहित यतै गठबन्धन गर्न आउनु भो र चौधघरे सचिव पड्काउनु भो।।
यसरी गाउँमा कुलो समिति,ठुलो समिति,सानो समिति,कानो समिति,रानो कमिटी,उत्थान प्रतिष्ठान,प्रवर्द्धन मञ्च आदि समुहै समूह,समिति नै समिति बनेपछि समिति पद र समिति नभएको कोही भएनन्।तर पद अनुसारको “कद“ भने कसैले बनाएनन्। अध्यक्षहरूले दक्षता देखाउन सकेनन्।संयोजकहरू योजक बन्न सकेनन्। प्रमुखहरूले मुख मात्रै देखाए। प्रवक्ताहरूले भेटेको भत्तामात्रै पचाए।गाउँ जस्ताको तस्तै रह्यो।

अहिले फेरिएको भनेको एउटा संस्कार मात्रै छ।अन्तरे दाजै अहिले लेटर प्याडमा छाप सहितको आधिकारिक पत्र आफ्नै नाममा नआएसम्म आगनकै डिलमा अन्तर्राष्ट्रिय स्तरको झाँकि प्रस्तुति सहित विशाल साँस्कृतिक कार्यक्रम भएपनि जाँदैनन्।बरू दिनभरि खैनि माडेर घाम तापेर बस्छन्।

बनेम्पा साँईला पनि मौखिक निम्तोलाई अमान्य घोषित गर्न थालिसकेका छन्।पत्र संख्या र चलानी नं स्पष्ट उल्लेख गरि स्पष्ट नाम र पद खुलाई प्रेषित पत्रको आधारमा मात्रै उहाँको उपस्थिती हुन्छ। नत्र उहाँको घरको धुरीमै राष्ट्रिय बैठक राखेपनि उहाँ वास्ता गर्नुहुन्न।

कुरा उहाँहरूको मात्रै हैन हर कोही अहिले सजिलै कार्यक्रममा गैदिँदैनन्।बैठकमा उपस्थित भैदिदैनन्।
मुढाको आगो ताप्दैनन्,बुढाको कुरामा कान थाप्दैनन्।गाउँमा अहिले कुनै कार्यक्रम भए दर्शकभन्दा बढी अतिथि हुन्छन्।दर्शक भरसक नहुने गरि पदिय जिम्मेवारी लिएकै छन् सबैले।हुन त बिकास र निकासको त चिहिलबिहिल छ,तर गाउँमा पद विहिन मान्छे भेटिनु मुस्किल छ।

कामभन्दा बढी बैठक हुन्छ। निर्णयभन्दा बढी बकबक हुन्छ।भावनात्मक कमिटमेन्ट नभई संरचनात्मक कमिटी बनाएर मात्रै के हुने रहेछ र??बनेको समितिको र बनाको निति त नराम्रो नहोला। किनकि नीति,नारा र घोषणापत्र कसैले सामान्य बनाउदैन। तर कार्यनिति र नियतमा खोट आएको हो कि??


मेरो गाउँलाई आधार मानेर यसो विचार गर्दा।यस्तै क्रमले चलेर जाने हो भनेत कुनैदिन मलामि जान आफ्नो खेमा हेरिएला समिति सम्झिएला वा स्पष्ट नाम र पद खुलाएर पत्र लेख्नुपर्ला!त्यसैले अब हामिले अलिकति नैतिकता जोगाउँदै समिति र पदभन्दा माथि हाम्रो मानविय “कद“ लाई राखौँ कि??
०००
लेखक राई नेपाल बैकमा कार्यरत छन् ।

प्रतिक्रिया