शुक्रबार, वैशाख १४, २०८१

‘नेपालीहरू बियर किनेर खान्छन्, किताब किन्दैनन्’

मेरोन्यूज २०७८ असार १२ गते १८:०१

सन् २००५ मा जापान पुगेका काठमाडौँका हरिश कल्पितका दुई वटा पुस्तक प्रकाशित छन् । साहित्यिक पत्रिका मधुपर्कमा कथा लेखेर साहित्यमा प्रवेश गरेका उनका विभिन्न सञ्चार माध्यममा कथाहरू प्रकाशित छन् ।

२०५७ सालमा उनको आस्था कथा संग्रह प्रकाशित छ । उनले जापानमा बस्दा त्यहाँकै चर्चित टिभी सिरियलमा अभियन गरेका छन् । उनले मुख्य अभिनय गरेको टिभी सिरियल फुजी टिभीबाट प्रशारण भएको थियो ।

जापानमा रहेका उनले साहित्य लेखनलाई निरन्तरता दिइरहेका छन् । स्वदेशको मायाले बरोबर उनी नेपाल आइरहन्छन् । ०७७ मा उनले ग्याब्रियले कथा संग्रह बजारमा ल्याएका छन् । हरिश कल्पितसँग नरेन्द्र रौलेले गरेको कुराकानी :

दोस्रो किताब बजारमा ल्याउन निकै समय लाग्यो नि, किन यति लामो समय लाग्यो ?

फुटकर रचनाहरू छापिए । संग्रह निकाल्न पनि गाह्रो छ । लगानी डुब्ने डर हुन्छ । यतिबेला साहित्य अनुत्पादक भएको छ । धन्न लेखकले निकालिरहेका छन् । किन त्यसै पैसा खर्च गर्नु भन्ने लाग्यो । मानिसहरू बियर मज्जाले किनेर खान्छन् । तर, किताबमा एक सय रुपैयाँ तिर्न गाह्रो मान्छन् । साहित्य कम पढ्छन् जस्तो लाग्छ । किताब निकालिहाल्यो भने बिक्री हुँदैन कि भन्ने डर लाग्छ । त्यसैले नयाँ किताब ल्याउन समय लाग्न पुग्यो ।

पछिल्लो कथा संग्रह ग्याब्रियले बजारमा गएपछि कस्तो प्रतिक्रिया पाउनु भयो ?

एकदमै राम्रो प्रतिक्रिया पाएँ । साथीभाइ तथा अग्रजबाट राम्रो प्रतिक्रिया आएको छ । एक हजारप्रति छापिएको थियो । सबै बिक्री भएपछि एक प्रकारको उत्साह थपिएको छ ।

तपाईं कुनबेला लेख्न मन पराउनु हुन्छ ?

प्राय : राति लेख्छु । निद्रा लाग्दा उकुसमुकुस भएपछि लेख्न बस्छु ।

डायस्पोरामा बसेर लेख्न कत्तिको सजिलो छ ?

लेख्ने हो भने सजिलो नै छ । विषयवस्तु पायो भने लेखिन्छ । पहिलो कुरा त विषय वस्तुले छुनु पर्यो । त्यसलाई कथा बनाउन मजा आउछ । विषय वस्तुले छोए लेख्न सक्छु ।

तपाईलाई प्रभाव पारेका लेखकहरू को–को हुनु हुन्छ ?

गुरुप्रसाद मैनाली, प्रेमा शाह, माया ठकुरी, भागिरथी श्रेष्ठ, महेशविक्रम शाह, राजुबाबु श्रेष्ठका किताबहरूले मन छोए । पुराना लेखकहरूका रचना पढ्दा बेग्लै रमाइलो लाग्छ । हालै प्रभा बरालको फिलिङ्गो पढेँ । यो पनि राम्रो पुस्तक लाग्यो । विदेशी लेखकहरूमा एन्टोन चेखबले मलाई प्रभाव पारेका छन् ।

अरु लेखकका कृतिहरू कत्तिको पढ्नु हुन्छ ?

एकदमै पढ्न मन पर्छ । पहिला उपन्यासहरू धेरै पढ्थेँ । म्याक्सिम गोर्की, ओ हेनरीका पुस्तक एकदमै पढ्थेँ । पुस्तकको संसार अर्कै लाग्छ । इन्टरनेटले गर्दा अहिले अलि बिगारेको छ । दिनमानका कथाहरू फेरि एकपटक पढिरहेको छु ।

कुन विधा सबैभन्दा बढी मनपर्छ ?

नियात्रा, उपन्यास, कथा विधा सबैभन्दा बढी मनपर्छ ।

साहित्य केका लागि लेख्नु हुन्छ ?

सुरुमा आत्म सन्तुष्टिका लागि लेख्ने गर्थेँ । मनमा आएका ज्वारभाटा निभाउन लेख्ने गर्छु । समाजमा केही चेतना जागोस् भन्ने इच्छाले पनि लेख्छु ।

एकपटक लेखे सकेपछि पुर्नःलेखन कत्तिको गर्नु हुन्छ ?

पुर्नःलेखन गर्छु । सबै हैन, कुनै कुनै पुर्नःलेखन गर्ने बानी छ ।

कुनबेला सबैभन्दा बढी खुसी लाग्छ ?

सबैभन्दा बढी कथा छापिदा खुसी लाग्छ । अझ कसैले पढेर प्रतिक्रिया दिँदा झन् खुसी दोब्बर हुन्छ । मानिसहरू प्रशंसाका भोका हुन्छन् । तर, म फेक प्रशंसाको भोको चाहिँ होइन । वर्तमानमा खुसी हुनु पर्छ । विगतका मीठा पल सम्झिनु पर्छ । कसैले तपाईको नराम्रो पक्षलाई राम्रो छ भन्यो भने त्यो त विष बराबर हो ।

अब कस्ता खालको विषय वस्तुमा लेख्न मन छ ?

नयाँ नयाँ विषय वस्तुमा लेख्न उत्सुक हुन्छु । त्यस्तो विषय पायो भने लेख्न आतुर हुन्छु । तर, केही नौलो विषय मन छुनु पर्छ । सामाजिक र मानविय संवेदनाका कथा लेख्न रुचाउछु । मेरा कथाहरू पढेर कसैले केही सिकोस्, केही जानकारी पाओस् भन्ने लाग्छ । मेरा कथाहरूमा बढी प्रेमको विषय हुन्छ । हुन त यो संसार नै प्रेममा अडेको छ ।

नेपाली साहित्यलाई जापानी भाषामा अनुवाद गर्नेबारे सोच्नु भएको छैन ?

एकदमै रहर छ । जापानीहरू पढन् एकदमै रुचाउँछन् । हामी नेपालीहरू बढी गफ गर्छौं । जापानीहरू काम र अध्ययनमा बढी जोड दिन्छन् । उनीहरू बढी मिहिनेती छन् । कामप्रति इमानदार हुन्छन् ।

प्रतिक्रिया