शुक्रबार, वैशाख १४, २०८१

खानेपानी सुविधाले हटायो सामाजिक द्वन्द्व

मेरोन्यूज २०७८ असार ११ गते ८:११

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित राममन्दिरमा खानेपानी सुविधासँगै सामाजिक द्वन्द हटेर शान्ति र मेलमिलाप कायम भएको छ ।

राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ । गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा निजी धारामार्फत खानेपानी सुविधा विस्तार गर्ने योजना पहिलो पटक राममन्दिरमा कार्यान्वयन भएको हो ।

घरघरमा जडित निजी धारामा नियमितरूपमा पर्याप्त मात्रामा खानेपानी आपूर्ति हुन थालेपछि पानीकै कारणले हुने सामाजिक द्वन्द हटेर मेलमिलाप र सद्भाव कायम गर्न सहयोग मिलेको राममन्दिर टोल विकास संस्थाका अध्यक्ष कृष्णध्वज कार्कीले बताए ।

“यसअघि सार्वजनिक धारा, कुवा, पँधेरा र खोल्साको पानी उपभोग गर्दै आएका थियौं । पानीको स्रोत कम हुँदा विवाद र झगडा हुने गरेको थियो । विवादले हैरान भएका थियौं,” उनले भने, “घरघरका धारामा पानी आउन थालेपछि विवाद र झगडा हुन छाडेको छ ।”

रघुगङ्गाको ४९ लाख रुपैयाँ अनुदान सहयोग र स्थानीयवासीको १२ लाख बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो । घट्टटोलको मुहानबाट ल्याइएको पानी दुई वटा छ हजार र दुई वटा पाँच हजार लिटर क्षमताका ट्याङ्कीमा सङ्कलन गरी आठ किलोमिटर पाइप लाइनमार्फत घरघरमा वितरण गरिएको छ ।

खानेपानीको पाइपलाइन निर्माण र धारा जडानका लागि उपभोक्ताले प्रतिघर सात दिनका दरले श्रमदान गरेका थिए । राममन्दिर, ओखरबोट, बिसौना, रानीचौतारी, च्युरीबोट, रोहोटेपानी, सिरुवारी र स्यानोघर टोलमा खानेपानी सुविधा भएको छ ।

आँगनकै धारामा सफा र शुद्ध पानी आउन थालेपछि सुविधासँगै समयको बचत भएको स्थानीयवासी घ्युकुमारी शाहीले बताए ।

“धारामा जान र आउन ३० मिनेट लाग्थ्यो, खडेरीमा घण्टौं पालो कुरेर बस्नुपर्दा निकै दुःख थियो”, उनले भने, “अहिले चाहिएको बेलामा आवश्यकतानुसार पानी उपभोग गर्न पाएका छौं । सरसफाइ सुधार र दैनिकी सहज भएको छ ।”

वडाध्यक्ष रिम कटुवालका अनुसार गाउँपालिकाले विसं २०७५ मा ५० लाख विनियोजन गरेर गौरवको आयोजनाका रूपमा करिब दुई हजार घरधुरीको बसोबास रहेको भगवतीमा निजी धारासहितको खानेपानी योजना शुरु गरेको थियो ।

प्रतिक्रिया