शुक्रबार, वैशाख १४, २०८१

भारतमा एक लाखभन्दा कममा कोरोना संक्रमित

मेरोन्यूज २०७८ जेठ २७ गते १२:५०

भारत । भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना संक्रमित भेटिएका छन् ।

एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो । गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ६ हजार १४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसारभरमा नै कोरोना शुरु भएयताको यो सब भन्दा घेरै संख्या हो । प्राप्त समाचार अनुसार बिहारमा कोरोना संक्रमणबाट ३ हजार ९७१ जनाको मृत्यु भएपछि भारतमा एकै दिनमा ६ हजार १४८ को मृत्यु भएको बताइएको हो ।

यद्यपी बिहारबाट प्राप्त यो समाचार एकै दिनको नभएको र मृतकको पूरानो रिर्कडलाई पनि समावेश गरिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ । हाल भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ८३ हजार १२१ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा १ लाख ५१ हजार ३६७ जना संक्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७६ लाख ५५ हजार ४९३ जना कोरोना मुक्त भएका छन् ।

हाल यहाँ ११ लाख ६७ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा बुधबार एकै दिनमा २० लाख ३४ हजार ६९० जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ३६० डोज खोप लगाइएको छ ।

प्रतिक्रिया