सोमबार, वैशाख २४, २०८१

कोरोनाको दोस्रो लहरसँगै कति भित्रियो विदेशी सहयोग ?

मेरोन्यूज २०७८ जेठ १८ गते १९:१५

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर देखिएपछि विदेशी मुलुक तथा संघ–संस्थाबाट सहयोग आउने क्रम जारी छ । गत वैशाख १ देखि जेठ १८ सम्म विभिन्न देश, अन्तर्राष्ट्रिय संस्था, विदेशमा रहेका नेपाली संघ–संस्था तथा व्यक्तिगत रूपमा सहयोग प्राप्त भइरहेको छ ।

Advertisement

परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपालस्थित विभिन्न दूतावासका अनुसार नेपाललाई पछिल्लो डेढ महिनामा कति सामग्री प्राप्त भएको छ त ?

चीन
कोरोनाको दोस्रो लहर सुरु भएसँगै सबैभन्दा पहिले छिमेकी राष्ट्र चीनले ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालसहित दक्षिण एसियाका अन्य मुलुक पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश सम्मिलित ‘भर्चुअल’ बैठकमा चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले वैशाख १६ मा नेपाललाई उक्त रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने वाचा गरेका थिए । वैशाख २८ गते चीनको होङ्सी सिमेन्टले कोरोना रोकथामका लागि २०० अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको थियो ।

उक्त समयमा चीनबाट अक्सिजन ग्यास सिलिन्डर, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री प्राप्त भयो । सोही अनुदानअन्तर्गत नेपालले चीनबाट ३५ सय अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री प्राप्त गरेको हो । उक्त सामग्री हवाई र स्थलमार्ग हुँदै नेपाल आइरहेको छ ।

यही जेठ १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँगको टेलिफोन संवादमा खोप सहयोग गर्न आग्रह गरेकी थिइन् । उक्त संवादलगत्तै चिनियाँ राष्ट्रपतिले नेपाललाई तत्काल १० लाख डोज खोप सहयोग गर्ने घोषणा गरेका थिए । त्यसमध्ये ८ लाख डोज मंगलबार नेपाल भित्रिएको छ । बाँकी २ लाख तिब्बत सरकारले स्थलमार्गबाट नेपाल पठाउनेछ । उक्त खोप बिहीबारसम्ममा नेपाल आइपुग्ने बताइएको छ ।

त्यस्तै एक हजार ५०० थान अक्सिजन सिलिण्डर एवम् ५ लाख २७ हजार ५०० थान एन–९५ मास्क रसुवाको टिमुर आइपुगेको छ ।

अस्ट्रेलिया
कोभिड–१९ सँग सामना गर्न अस्ट्रेलियाले पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भाल्कले कोरोना भाइरस रोकथामका लागि अस्ट्रेलियन सरकारका तर्फबाट नेपाललाई ७० लाख अस्ट्रेलियन डलर सहयोग गरिन् ।

स्पेन
जेठ ७ गते स्पेनले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि नेपाललाई १० लाख युरो (करिब १४ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । स्पेनले १५ रेस्पिर्टर, १० ओटा अक्सिजन कन्सन्ट्रेटर र त्यसलाई आवश्यक अन्य सामग्री, एक लाख ४४ हजार फेस मास्क तथा एक लाख २५ हजार एन्टिजेन टेस्ट किट हस्तारण गरेको थियो ।

बंगलादेश
नेपालमा कोरोनाका जटिल बिरामी बढेपछि बंगलादेश सरकारले नेपाललाई १५ हजार ९९ भाइल रेम्डेसिभिर औषधि सहयोग गरेको थियो । वैशाख २७ गते ११ हजार ९०० र जेठ ७ गते ३ हजार १९९ भाइल रेम्डेसिभिर नेपाल आएको थियो ।

सिंगापुर
जेठ ८ गते टेमासेक फाउन्डेसन सिंगापुरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरसविरुद्ध लड्नको लागि स्वास्थ्य सामग्री सहयोग गर्यो । उक्त फाउन्डेसनले ४ हजार पल्स अक्सिमिटर, स्वाव किट ५ हजार ११५, भेन्टिलेटर २०, फरटिरुड किड्स १७५, सेनिटाइजर १ हजार थान, फेस माक्स ५० हजार, प्लस ओडोमेटर १ हजार सहयोग गरेको थियो ।

स्वीटजरल्यान्ड
स्वीटजरल्याण्डले जेठ ८ गते ८० लाख अमेरिकी डलर रबराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । ११ लाख एन्टिजेन किट, भेन्टिलेटर ८० थान, केएन–९५ मास्क १० हजार, ग्लोब ५० हजार, पिपिई १५ हजार, नर्साल कर्नवल १ हजार र अक्सिजन सिलिन्डर (फिलिप) १० थान नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।

थाइल्यान्ड
कोरोना रोकथामका लागि थाइल्यान्डले नेपाललाई दुई पटक स्वास्थ्य सामग्री सहयोग गरेको छ । परराष्ट्र मन्त्रालयकाका अनुसार जेठ २ गतेमा थाइल्यान्डको विदेश मामिला मन्त्रालयसहित थाई प्रवासी धर्मदूता भिख्खुस र थाइल्यान्डको भेरापुगोङ्ग फाउन्डेसनले नेपाललाई ४६ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको थियो । जेठ १६ गते थाइल्यान्डका राजपरिवारले दिएका स्वास्थ्य सामग्री थाई एयर फोर्सको जहाजमार्फत नेपाल आएको थियो ।

अमेरिका
गत वैशाख १७ गते अमेरिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाललाई थप ८५ लाख अमेरिकी डलर दिने घोषणा ग¥यो । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत उक्त सहयोग गर्ने गरेको थियो ।

वैशाख ३० मा अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालका लागि नागरिक सहयोगअन्तर्गत कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो ।

उक्त कमान्डले अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांक खरिद गर्न गराउन थप २७ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग दिएको छ । अमेरिकामा रहेको सेवा अन्तर्राष्ट्रियले पनि नौवटा प्लेटसहित १०९ अक्सिजन कन्सन्ट्रेटर, ७६० वटा अक्सिमिटर र अन्य स्वास्थ्य सामग्री वासिङ्टनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ ।

ओमान
जेठ २ गते ओमानको मस्कटस्थित नेपाली दूतावासको संयोजनमा ५६० अक्सिजन सिलिन्डर नेपाल पठाइएको थियो । अक्सिजन सिलिन्डर पठाउने क्रममा कतारमा रहेका नेपालीले ३५ लाख, बहराइनमा रहेकाले २१ लाख, ओमानमा रहेकाले १५ लाख, कुवेतमा रहेकाले १३ लाख ५० हजार , यूएईमा रहेकाले १५ लाख र साउदी अरेबियामा रहेकाले १२ लाख जुटाएका थिए ।

उनीहरुबाट संकलित पैसा ओमानमा पठाएर त्यहाँबाट सिलिन्डर खरिद गरेर नेपाल पठाइएको हो ।

अन्य
कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनबाट अक्सिजन कन्सेन्टेटर ३१ थान नेपाल भित्रिएका छ । वान हर्ट वल्र्डवाइजबाट अक्सिजन सिलिन्डर १२५ थान, युनिसेफबाट १ लाख ५५ हजार टेस्ट किट, युएएसएआइडीबाट हाइफ्लो नसाल कानुला ३९, अक्सिजन सिलिन्डर, बिपाप मेसिन, ग्लोब्सलगायत स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।

सेभ द चिल्ड्रेनले ५ वटा भेन्टिलेटर र २० वाटा हाइफ्लो नसाल कानुला तथा कोरियाबाट ६ हजार २०० स्टान्डर्ड कोभिड–१९ एजी टिजी किट नेपाल आइपुगेका छन् ।

प्रतिक्रिया