शुक्रबार, वैशाख १४, २०८१

देउवा निवासमा तीन दलको बैठक

विपक्षी गठवन्धनको निश्कर्ष : ओलीको कदम हेरेर आगामी रणनीति

मेरोन्यूज २०७८ वैशाख ३१ गते १४:२८

काठमाडौं । विपक्षी तीन दल कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (उपेन्द्र बाबुराम समुह)ले प्रधानमन्त्री केपी ओलीको आगामी कदम हेरेर मोर्चावन्दीको नयाँ रणनीति बनाउने निश्कर्ष निकालेका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकन्ठमा बसेको तीन दलको शीर्ष नेताहरुको बैठकले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको ओली मोह प्रवृति र एमालेभित्रकै मधव नेपाल पक्षको भूमिका दैद्य चरित्रको प्रवृतिका कारण विपक्षी गठबन्धनले बहुमतको सरकार निर्माण गर्न सफल नभएको निश्र्कष निकाल्दै अव ओलीको कदम हेरेर थप रणनीति बनाउने विषयमा छलफल गरेका छन् ।

बहुमत नजुटेकै कारण सरकारको दावी गर्न राष्टपति कार्यालय नजानु उपयुक्त नै भएको तीन दलको समान धारणा छ । ओलीले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोलाइृ प्रलोभनमा पार्ने देखि माधव नेपाल समुहलाई समेत भुलभुलैयमा सम्झौतापरस्त नीतिमा लैजाने काम गरेका कारण संसदको अंकगणित आफुहरुको अनुकुल बन्न नसकेको तीन दलले ठहर गरेका छन् ।

ओली संसदको सबैभन्दा ठूलो दलको हैसियतमा सरकारको नेतृतवमा फेरि दोहोराएर पुगेपनि अव ओलीले जसपाको महन्थ र राजेन्द्र पक्षलाई तटस्थ राखेरै मध्यावधीमा जाने या विश्वासको मत लिएर सरकार चलाएर जाने कुन विकल्प रोज्छन् भन्ने कुराको राजनीतिक विश्लेषण गरेर तीन दलले पनि सामुहिक मोर्चाबन्दी गरेर जाने कांग्रेस, माओवादी र जसपा उपेन्द्र पक्षले निश्कर्ष निकालेका छन् ।

‘हामीले सरकार बनाउन कि जसपा सिङ्गैले मतदान गर्नुपर्थ्यो, कि माधवकुमार नेपालहरूले गर्नुपर्थ्यो । त्यो हुन सकेन । त्यसकारण राष्ट्रपतिकहाँ गठबन्धन सरकारका लागि दाबी लिएर नजानु नै उपयुक्त हो भन्ने समीक्षा हामी तीन दलले गरयौं ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकपछि भने,- ‘अब केपी ओलीले के गर्छन् चुनावको दिशातिर जान्छन् कि, महन्थहरूलाई हात लिएर विश्वासको मत लिन्छन्, त्यो हेरेर हामी थप रणनीति तय गरेर जान्छौं । ’

देउवा निवासको छलफलमा कांग्रेस सभापति शेरहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पार्टी प्रवक्ता श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल , अनेसरी घर्ती र जसपाका उपेन्द्र यादवको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया