शनिबार, वैशाख १५, २०८१

आइसोलेसन सेन्टर निर्माण गर्दे जुम्लाका सात स्थानीय तह

मेरोन्यूज २०७८ वैशाख ३० गते १५:१३

खलङ्गा । कोरोना भाइरसको दोस्रो लहर रोकथाम तथा सङ्क्रमणबाट बच्न जुम्लाका सात स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । तिला गाउँपालिकाले पाँच शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । सो गाउँपालिको – ३ मा रहेको कोभिड अस्थायी अस्पतालमा आइसोलेसन सेन्टर निर्माण गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गशेष शाहीले बताए ।
उनले गाउँपालिकाको तीन स्थानमा हेल्थ डेस्क स्थापना गरेको जानकारी दिए । सेन्टरमा थप आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउन नेपालगञ्जबाट औषधिको माग गरिएको छ । आवश्यक सामग्री तत्काल व्यवस्थापनका लागि निर्देशन दिइएको छ । कोरोना भाइरस बढ्दै गएमा र शय्याको अभाव भएमा सेन्टरमा थप शय्याको व्यवस्था समेत गर्न गाउँपालिका लागि परेको स्वास्थ्य शाखाका प्रमख शाहीको भनाई छ । कोभिड अस्थायी अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्स र एक कार्यालय सहयोगी कार्यरत छन् ।

चिकित्सक अभाव

स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सकको अभाव भएपछि अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ । सङ्घीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित निर्देशन गरेको छ । तत्काल तीन महिनाका लागि बजेट व्यवस्थापनका लाथि स्थानीय तहमा सङ्घीय सरकारले रु १० लाखका दरले बजेट पनि पठाएको छ ।
जिल्लाका सात स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना गर्न बजेट पठाइए पनि तिला बाहेक अरु ६ स्थानीय तहले एक चिकित्सक पनि पदपूर्ति गर्न नसकेको गाउँपालिका प्रमुख बताउँछन् । सरकारले कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स तथा एकएक ल्याब टेक्निसियन र कार्यालय सहयोगी राख्न बजेटसहितको व्यवस्थापन गरेको थियो । स्थानीय तहले १५ दिनको समयावधिमा दुई पटकसम्म विज्ञापन आह्वान गरेकामा एक चिकित्सकले पनि विज्ञापनमा दरखास्त नदिएको सिञ्जा गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर बुढाले बताए ।
चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले सो नगरपालिकामा मेडिकल अधिकृत छन् । स्टाफ नर्स र अन्य कर्मचारीका हकमा ठूलो सङ्ख्यामा आवेदन परी परीक्षा लिई उत्तिर्ण हुनेलाई भर्ना गरेपनि मेडिकल अधिकृत अहिलेसम्म पाउन नसकिएको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । रु चार लाख ५० हजार तलब र रु पाँच लाख ५० हजार अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाइएको थियो । अहिले जटिल प्रकृतिका सङक्रमित सम्पर्कमा आउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनुपर्ने बाध्यता रहेको कोभिड अस्थायी अस्पतालले जनाएका छन् ।रासस

प्रतिक्रिया