शनिबार, वैशाख १५, २०८१

‘ग्राउण्ड जिरो’

‘अक्सिजन’ खाेज्दै टेकु अस्पतालको इमर्जेन्सीमा…!

सञ्जिता खनाल २०७८ वैशाख २९ गते १९:०१

काठमाडौं । मंगलबार दिउँसो करिब २ बजे । आकाश पुरै धुमिएको थियो । टेकु अस्पतालको इमर्जेन्सी निकै भिड थियो । तर त्यो भिड कोरोनाका कारण समस्या देखिएर अक्सिजन लिन आउनेको थियो ।

सोही भिडको बीचमा साइरन बजाउँदै एउटा एम्बुलेन्स आयो । मानिसहरुले बाटो छाडिदिए । इमर्जेन्सी अगाडि टक्क रोकियो । एम्बुलेन्स चालकले हतारहतार ढोका खोले । भित्र करिब ४० वर्ष उमेरका एक पुरुष छाती फुट्ने गरी खोकी रहेका थिए ।

उनलाई हतारहतार घोप्टो पारेर एम्बुलेन्स चालक आफ्न्तले निकाले । अस्पतालको इमर्जेन्सी अगाडिको फलामको बेन्चमा राखे । दोडिदै तीन/चार जना स्वास्थ्यकर्मी आए । कसैले अक्सिजन लेबल जाँच गरे भने कोही अक्सिजन सिलिन्डको ल्याउन दौडिए ।

खोक्दाखोक्दै उनको अनुहार रगत नभएको जस्तो पुरै पहेलो थियो । आँखाले केही भन्न खोजे जस्तो देखिन्थ्यो तर न बोल्नै सक्थे, न आफ्नो शरीर नियन्त्रणमै लिन । शरीर पुरै शिथिल थियो ।

स्वास्थ्यकर्मीले हतारहतार मुखमा अक्सिजनको ‘टुटी’ गाडिदिए । एक जना स्वास्थ्यकर्मी दौडिएर डाक्टर बोलाउन गइन् । डाक्टर आएर उनको औँलामा पुनः पल्स अक्सिमिटर राखेर हेरे । ‘हतारहतार ट्रली ल्याउनुहोस्, आइसीयूमा लैजानुहोस्’ ती डाक्टरले हडबडाउँदै भने । त्यति भन्दा नभन्दै एक सिलिन्डर अक्सिजन उनले शरीरले लिइसकेको थियो ।

अर्को सानो अक्सिजन सिलिन्डर ट्रलीसँगै लिएर बाटो छोड्नुहोस्, भीड नगर्नहोस् भन्दै बिरामी कुरुवालाई कराउँदै दुई स्वास्थ्यकर्मीहरु ती पुरुषलाई लिएर इमर्जेन्सी छिरे । उनी हाल आइसीयूमा उपचाररत छन् ।

अस्पतालका एक डाक्टरका अनुसार उनी अस्पताल पुग्नु ठिक अघि अर्का एक संक्रमितको मृत्यु भएको थियो । ‘त्यो स्थानमा उहाँलाई राख्न सकियो नभए खै भन्नु भन्नुपर्ने अवस्था थियो’, ती चिकित्सकले भने ।

तरकारी बजारबाट सर्याे काेराेना
रौतहत स्थायी घर भएका ती पुरुष जावलाखेलमा डेरा गरी बस्थे । उनको कालिमाटीमा तरकारी पसल पनि थियो । उनी हरेक दिन बिहानै पसल खोल्न र तरकारी बेच्न व्यस्त हुन्थे । गत सोमबार पनि बिहान कालिमाटी पसल गएका थिए । सधैँ झै तरकारी बेचेर डेरा फर्किए । सोही दिन दिउँसो ज्वरो आयो ।

‘बुबाले सिटामोल खानुभयो तर ज्वरो घटेन, खोकी पनि थपियो’, उनको छोरा हरिले भने, ‘मंगलबार बिहानै बुबालाई लिएर टेकु अस्पतालमा कोरोना परीक्षणका लागि गए । सोही दिन बेलुका मोबाइलमा कोरोना पोजेटिभको रिपोर्ट आयो ।’

उनलाई श्वास फेर्नसमेत गाह्रो हुन थाल्यो । अक्सिजनको लेबल ९२ मा झर्यो । एम्बुलेन्स खोज्दा दुई घण्टासम्म पनि भेटिएन् । कतै फोन नउठ्ने त कतै अक्सिजन छैन भने । बेड पनि खालि छैन कहाँ लैजानु हुन्छ भने चालकले उल्टै प्रश्न पनि गरे । हरिले आक्रोश पोख्दै भने, ‘सरकारले समयमा कोरोना नियन्त्रणका कदम चालेको भए यस्तो अवस्था आउँदैन थियो ।’

खोजेको २ घण्टापछि बल्ल उनले एम्बुलेन्स भेटे । बुबालाई लिएर पाटन अस्पताल पुगे । पाटनले अक्सिजन नभएको भन्दै भर्ना लिएन । सोही एम्बुलेन्समा राखेर वीर अस्पताल पुगे । ‘ढोकैबाट अक्सिजन छैन्, अन्तै लैजानुहोस् भने टिचिङ गयौं, त्यहाँ पनि अक्सिजन छैन भनेर लिएन् । बानेश्वरको सिभिलमा गयौं, त्यहाँ पनि बेड छैन भन्दै फर्कायो’, हरिले हैरानीका फेहरिस्त सुनाए ।

‘अस्पतालबाहिर पुगेर स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गरे । जतिखेर पनि नजिकको अस्पताल जानुस् भन्थ्यो । टेकुको अवस्था सोध्दा बेड छैन भनेपछि हामी बेड खोज्न वीर, टिचिङ सबै अस्पताल गयौं कसैले राख्न मानेनन्,’ गहभरी आँशु पाँदै उनले भने ‘अनि टेकुमै हारगुहार गरेर भए पनि उपचार गरिदिन आग्रह गर्ने भन्दै आयौं ।’

बल्ल १५ घण्टामा बेड
टेकु अस्पतालकै इमर्जेन्सी अगाडिको सिडीमा बसेकी लगनखेलकी ६० वर्षीया महिला प्लास्टिकको कुर्सीमा बसेकी थिइन् । उनलाई पनि अक्सिजन लगाइएको थियो । सात वटा अस्पतालले भर्ना नलिएपछि उनलाई छोरीले टेकु लिएर आएकी थिइन् । उनीहरू टेकु अस्पताल बिहान ७ बजे आइपुगेका थिए । आएको १५ घण्टापछि राति १० बजे मात्र बेड पाइन् ।

‘आमाको अक्सिजन लेबल घटेको पाइएपछि अक्सिजन दिएर राखिएको छ,’ छोरीले भनिन्, ‘भित्र बेड छैन भनेर बाहिर राखिएको छ । अन्यत्र लैजाउँ यही अक्सिजन पनि पाइँदैन ।’

ती महिलालाई सोमबार बिहान ३ बजे श्वासप्रश्वासमा समस्या देखियो । एकाएक अक्सिजनको मात्रा घट्यो । ‘बिहानै चार बजेदेखि निजी र सरकारी सबै अस्पतालमा फोन गर्दा पनि अक्सिजन नभएको भन्यो । आमालाई झनै गाह्रो भयो,’ उनले भनिन्, ‘आमालाई एम्बुलेन्समा राखेर वीर पाटन, त्रिविलगायत सात वटा अस्पताल चार्दा पनि कतै अक्सिजन पाइएन ।’

टेकु अस्पतालका निर्देशक राजभण्डारी भन्छन्- बिरामी फिर्ता पठाएका छैनाैं

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारी कोरोना संक्रमण भएर अक्सिजन चाहिने बिरामीलाई फिर्ता नपठाइएको जिकिर गर्छन् । ‘हामीले अस्पताल आएका बिरामीलाई फर्काएका छैनौं, कुर्सीदेखि बेञ्च र भुइँमा म्याट्रेस ओच्छ्याएर पनि उपचार गरिरहेका छौँ’ उनले भने ।

अस्पतालमा आएका बिरामीलाई भएको ठाउँमा जसरी सकिन्छ, त्यसरी नै व्यवस्थापन गरिरहेको अस्पतालले जनाएको छ ।

काठमाडौं उपत्यकाका अधिकांश निजी तथा सरकारी अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना नलिने घोषणा गरेका छन् । सरकारी अस्पताल कोरोनाका बिरामीले भरिएका छन् । संक्रमितको उपचारमा अक्सिजनको अभाव भइरहेको अस्पतालहरुले जनाएका छन् ।

वीर अस्पताल, पाटन, त्रिवि शिक्षण अस्पतालले अक्सिजनको समस्याका कारण थप शय्या सञ्चालन गर्न नसकेको जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयका सचिव लक्षमण अर्याल निजी अस्पताल अक्सिजन प्लान्ट वा लिक्विड अक्सिजन ट्यांको व्यवस्थापनमा अग्रसर हुनुपर्ने बताउँछन् । अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजनको माग भइरहेको छ । ‘अहिले अस्पतालसँग १० हजार सिलिण्डर मात्रै रहेको छ’, उनले भने ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया