शुक्रबार, वैशाख १४, २०८१

अक्सिजन अभाव देखाउँदै उपत्यकाका निजी अस्पतालहरुले गरे संक्रमितलाई भर्ना नलिने घोषणा

सञ्जिता खनाल २०७८ वैशाख २९ गते ६:५३

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिएसँगै अक्सिजन अभाव हुन थालेको छ । उपत्यकामा अधिकाशं निजी अस्पतालहरुले अक्सिजन अभाव देखाउँदै कोरोनाका बिरामी भर्ना नलिने घोषणा गर्न थालेका छन् ।

ललिपुरस्थित मेडिसिटी अस्पतालले पनि अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने घोषणा गरेको छ । अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिए ।

अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै चालीस भन्दा बढी भेन्टिलेटरसहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ ।

प्रत्येक दिन ४५० देखि ५०० आवश्यक पर्नेमा १०० सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी दिँदै अस्पतालले यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायसँग अपील गरेको छ ।

स्थिति सामान्य बन्दै आवश्यक अक्सिजन परिमाण र अन्य सामग्रीहरु प्राप्त भएसँगै अस्पतालले नयाँ बिरामी भर्ना लिने जनाएको छ ।

त्यसैगरी, वयोधा अस्पतालले अक्सिजन अभावको कारण देखाउँदै कोरोना संक्रमितलाई भर्ना नलिने जनाएको छ ।

अस्पतालले मंगलबार एक विज्ञप्ती जारी गर्दै अक्सिजन अभाव भएकाले अनिश्चित समयका लागि कोरोनाका कुनै पनि बिरामीलाई भर्ना लिन नसक्ने जनाएको छ ।

अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई भने डिस्चार्ज नहुँदासम्मका लागि अक्सिजनको व्यवस्थापन गर्ने र बिरामीले इच्छा अनुसार अन्य अस्पतालमा रेफर हुन सक्ने समेत जनाएको छ ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अक्सिजन नभएको भन्दै मंगलबार १२ जना कोरोना संक्रमणका बिरामीलाई डिस्चार्ज गरेको छ ।

अस्पतालल मंगलबार एक सूचना जारी गर्दै अक्सिजन आपूर्ति गर्ने कम्पनी सोपान फर्मास्युटिकल्स लिमिटेडको मेसिन बिग्रिएकाले अक्सिजनको अभाव भएको भन्दै ति बिरामी डिस्चार्ज गरेको छ ।

अन्यत्रबाट समेत अक्सिजनको व्यवस्था हुन नसकेपछि बिरामी डिस्चार्ज गर्नुपरेको जनाएको छ । अस्पतालका आवासीय चिकित्सक डा. गुञ्जन खड्काका अनुसार अस्पतालमा अक्सिजन सकिएपछि नयाँ कोरोनाका बिरामी भर्ना लिन नसक्ने अवस्था आएको छ ।

बिरामीहरुलाई अक्सिजन टुटाउनु हुँदैन, सिलिन्डर खालि गरेर भरेर ल्याउन नभ्याउने भएपछि उहाँहरुलाई डिस्चार्ज गरिएको हो– उनले भने । अक्सिजन अभावमा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले पहिल्यै जानकारी गराइएको अस्पतालले जनाएको छ।

मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने बताए ।

ओम अस्पतालले पनि आइतबार नै एक विज्ञप्ती जारी गर्दै अक्सिजन अभाव भएका कारण नयाँ कोरोना संक्रमितलाई भर्ना नलिने घोषणा गरिसकेको छ । मेडिकेयर, एभरेष्ट, हिमाल, अल्का, ग्रान्डी, हेल्पिङ ह्याम्स, दीर्घायु, करुणा अस्पतालले समेत अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी नलिने घोषण सहितको विज्ञप्ती निकालि सकेका छन् ।

स्टार र नर्भिक अस्पतालले पनि अक्सिजनको समस्या आउन सुरु भइसकेको बताइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि मात्र अक्सिजन सहज रुपमा व्यवस्थापन गर्ने भन्दै अस्पतालहरुमा कोटा तोकेर अक्सिजन उपलब्ध गराउने निर्णय गरेको थियो ।

कोटा प्रणालीबाट अक्सिजन उपलब्ध हुने भएपछि अघिकांश निजी अस्पतालहरुमा उपचाररत बिरामीका लागि आवश्यकता भन्दा कम अक्सिजन आपूर्ति भएको अस्पतालहरुले जनाएका छन् ।

निजी अस्पतालहरुले बिरोध गरेपछि सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट अक्सिजनको व्यवस्थापन हुने निर्णय गरेको छ । सिसिएमसीले सोमबार उपत्यकाका ७७ वटा अस्पतालहरुका लागि दैनिक अक्सिजनको कोटा तोकेको छ। तर उक्त कोटा बिरामीको चाप अनुसार निकै कम भएको भन्दै अस्पतालहरुले थप अक्सिजन उपलब्ध गराउन भनिरहेका छन्।

स्वास्थ्य मन्त्रालयले मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन उपलब्ध गराउन अक्सिजन उद्योगलाई पत्राचार गरेपछि अफिनले उक्त निर्णयप्रति खेद व्यक्त गर्दै सहज रुपमा अक्सिजन उपलब्ध गराउन भनेको छ।

निजी अस्पताल मात्र होइन, अक्सिजन अभाव । सरकारी अस्पतालमा पनि कोरोना संक्रमितको उपचारमा अक्सिजनको समस्या भइरहेको अस्पतालहरुले जनाएका छन् ।

वीर अस्पताल, पाटन,त्रिवि शिक्षण अस्पतालले अक्सिजनको समस्या भएकै कारण नयाँ भवन सञ्चालन गर्न नसकेको जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख २३ गते मात्र अक्सिजन सहज रुपमा व्यवस्थापन गर्ने भन्दै अस्पतालहरुमा कोटा तोकेर अक्सिजन उपलब्ध गराउने निर्णय गरेको थियो । तर अधिकाशं निजी अस्पतालहरुले उपचाररत बिरामीका लागि आवश्यकता भन्दा कम अक्सिजन आपूर्ति भएको बताएका थिए ।

उक्त कोटा प्रणाली निर्णयको निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले त विज्ञप्ति नै निकालेर विरोध गरेको थियो ।

मन्त्रालयका सचिव लक्षमण अर्यालले निजी अस्पतालहरुले अक्सिजन प्लान्ट वा लिक्विड अक्सिजन ट्यांकको व्यवस्थापनमा अग्रसर हुनुपर्ने बताउँछन् । उनले अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भइरहेको बताए । उनले भने, ‘अहिले अस्पतालहरूसँग १० हजार सिलिण्डर मात्रै रहेको छ ।’

उनका अनुसार २ सय बेडमाथिका अस्पतालले अक्सिजन प्लान्ट राख्न चाहेमा सरकारले सहयोग गर्नेछ । उनले लिक्विड अक्सिजन ट्याँक किन्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया