शुक्रबार, वैशाख १४, २०८१

यात्रुसँग बढी भाडा लिने थप ७ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख २५ गते १६:२५

काठमाडौँ । यात्रुहरूसँग बढी भाडा लिएर ठगी गर्ने थप ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यकामा निषेधाज्ञा लागू भएसँगै भएको छड्के जाँचका क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीबाट आएका र अत्यावश्यक काम परी उपत्यका बाहिरका जिल्ला जानु पर्ने यात्रुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई कलंकी र बसपार्क क्षेत्रबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भइ थानकोट बस्ने मनु अर्याल र उनकै छोरा अनु अर्याललाई पक्राउ परेका छन् ।

त्यस्तै, नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौंडाका नवराज घिमिरे, बिपिन सुवेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ इन्चार्ज सुन्धारा काठमाडाँैका ज्ञानेन्द्र साह पक्राउ परेका छन् । उनीहरुले धनुषा, महोत्तरी र वीरगञ्ज जाने यात्रुहरु संकलन गरी प्रति व्यक्ति पच्चिस सयदेखि तीन हजारसम्म भाडा लिने गरेको पाइएको छ । उनीहरु पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गोंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रा.लि.का कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागीराम छिनाललाई पक्राउ गरी थप कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको छ ।

प्रतिक्रिया