शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय सभा सदस्य उम्मेदवार विरुद्ध उजुरी दिने आज

बीके कालिकोटे २०७८ वैशाख २५ गते ८:३०

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा वागमती प्रदेशबाट रिक्त पदका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ ।

शुक्रबार मनोनयन दर्ता गरेका तीन जना उम्मेदवारविरुद्ध कुनै उजरी भए वागमती प्रदेशको राजधानी हेटौंडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजरी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यमा वागमती प्रदेशबाट रिक्त एक पदका लागि तीन जनाको मनोनयन दर्ता भएको छ । एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले मनोनयन दर्ता गरेका छन् ।

एमाले कै माधव कुमार नेपाल समूहसहित कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको विपक्षी मोर्चाबाट डा. खिमलाल देवकोटाको उम्मेदवारी छ ।

नेपाल मजदुर किसान पार्टी नेमकिपाका कृष्णबहादुर तामाङले छुट्टै उम्मेदवारी दिएका छन् ।

आज दर्ता हुने उजरी र हिजो दर्ता भएको मनोनयन पत्रमा भोलि आइतबार र पर्सी सोमबार जाँचबुझ गरी सोमबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

२८ गते मंगलबार उम्मेदवारलाई नाम फिर्ताको समय दिएको आयोगले २९ गते बुधबार अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने छ ।

आयोगले राष्ट्रिय सभा सदस्यमा वागमती प्रदेश तर्फको रिक्त पदका लागि मतदान गर्ने समय भने आगामी जेठ ६ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकेको छ ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवारलाई प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने छन् ।

आयोगले सार्वजनिक गरेको मतदाताको नामावली अनुसार प्रदेश सभा सदस्य ११० र स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना छन् । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ ।

आयोगले प्रदेश सभा सदस्यका लागि हेटौंडा–४ स्थित भुटनदेवी माविको मतदान केन्द्र क र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि सोही माविको मतदान केन्द्र ख तोकेको छ ।

राष्ट्रिय सभामा वागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा आफु निर्वाचित दल माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि रिक्त भएको सो पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित चन्द्रबहादुर खड्काले पनि आफु निर्वाचित दल त्याग गरेपछि रिक्त भएको सो पदमा आगामी जेठ १७ गते उपनिर्वाचन हुँदैछ । खड्का आफु निर्वाचित दल माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया