शुक्रबार, वैशाख १४, २०८१

ओलीद्वारा विश्वासको मत लिने निर्णय : के गर्ला अब कांग्रेसले ?

कांग्रेस नेता भन्छन्,-‘हामी प्रतिपक्षी दल हौं । जताततै असफल भएका प्रधानमन्त्रीलाई विश्वास मत सहजै पुग्न दिने त कुरै हुँदैन । आज पहिला संस्थागत निर्णय गरेर दलीय छलफल गछौं ।’

मेरोन्यूज २०७८ वैशाख २१ गते ११:३७
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पुरयाउन नदिन प्रयास गर्ने भएको छ । सत्तारुढ दल नेकपा एमालेको असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, एक-एक सिट भएका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चासँग पनि विश्वासको मतबारे यसअघि पनि पटक÷पटक छलफल भइसकेको र फेरि पनि गर्ने तयारी भइरहेको कांग्रेस नेताहरू बताउँछन् ।

सोमबार साझ मात्रै कांग्रेस सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग महाराजगञ्जस्थित होटल सम्बालामा भेट भईसकेको छ । प्रचण्ड देउवा भेटन जानु अगाडी एमालेको वरिष्ठ नेता माधव नेपालसँग भेट गरेर पुगेका थिए । साझ पौने ८ वजेसम्म देउवा र प्रचण्डका वीचमा साझ ६ वजेवाट उक्त होटलमा भेटवार्ता भएको थियो । त्यसमा ओलीले लिने भनेको विश्वासको मत कसरी तुहाउने भन्ने रणनीतिमा केन्द्रीत रहेर कुराकानी भएको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ ।

यस विषयमा थप छलफल गर्न पहिला संस्थागत निर्णय गर्न कांग्रेसले मंगलबार (आज) दिउँसो दुई बजे पदाधिकारी बैठक बोलाएको छ । बैठकबाट संस्थागत निर्णय गरेर विश्वासको मत पुग्न नदिन पुनःदलीय छलफल चलाइने केन्द्रीय सदस्य एनपी साउदले बताए ।

‘हामी प्रतिपक्षी दल हौं । जताततै असफल भएका प्रधानमन्त्रीलाई विश्वास मत सहजै पुग्न दिने त कुरै हुँदैन । पहिला संस्थागत निर्णय गरेर दलीय छलफल गछौं,’ साउदले भने, ‘सत्तारुढ एमालेको पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट माधवकुमार नेपाल, झलनाथ खनाल समूह, माओवादी, जसपा र एक÷एक सिट भएका दलहरूसँग विश्वासको मत सफल हुन नदिन छलफल गछौँ ।’

प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन भन्दै २७ बैशाखमा प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्बाट निर्णय गरेर सिफारिस गरेका थिए । सरकारको सिफारिस अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले २७ बैशाख, सोमबार दिउँसो एक बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी छन् ।

कांग्रेसका प्रतिनिधि सभामा प्रमुख सचेतक बालकृष्ण खाणले विश्वासको मत पुग्न नदिन कांग्रेसले भरमग्दुर प्रयास गर्ने बताए । ‘महामारीका बेला संविधान र लोकतन्त्रविपरीतका काममा ध्यान दिने र तानाशाह बन्न खोज्ने प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिन हामीले भरमग्दुर प्रयास गर्छौं,’ खाणले भने ।


स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता नेपालबीच सकभर आजै साँझ पनि पूनः र नभए भोलि बिहान छलफल गर्ने तयारीमा सचिवालयहरू लागिरहेका छन् । माओवादी केन्द्रबाट निर्वाचित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पदमुक्त भएपछि २७५ सदस्यीय प्रतिनिधि सभा २७१ सदस्यीय भएको छ । त्यसमा ओलीले बहुमत पुर्याएर विश्वासको मत लिन १३६ सिट आवश्यक पर्छ ।

प्रतिनिधि सभामा सत्तारुढ दल नेकपा एमाले एकढिक्का भए १२१ सांसद छन् । तर, नेता नेपाल समूह असन्तुष्ट रहेकाले एक ढिक्का हुने नहुने निश्चित छैन । नेपाली कांग्रेसका ६१(विजयकुमार गच्छदार र मोहम्मद अफताव आलम निलम्बितबाहेक), माओवादीका ४९ (सभामुख अग्निप्रसाद सापकोटासहित), जनता समाजवादी पार्टी (जसपा)का ३२ (रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित बाहेक) छन् । ओलीविरुद्ध बहुमत पुर्याउन कांग्रेस, माओवादी र जसपा पूरै एकढिक्का हुनुपर्छ । तर जसपा पनि एउटा धार ओलीको पक्षमा छ, भने अर्को धार विपक्षी गठबन्धनमा छ ।
विपक्षमा बहुमत पुग्न जसपाले एकढिक्का विपक्षमा मत हाल्नुपर्छ । तर, ओलीलाई एमाले एक रहेमा जसपाका १५ सांसदले मात्रै मत दिए पनि पुग्छ । ओलीले जसपा फुटाएर भएपनि आफ्नो विश्वासको मत पुर्याउने रणनीति बनाइरहेका छन् । जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ओलीको विपक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओलीको पक्षमा छन् । महन्थ र राजेन्द्र महतो पक्षले आफना सांसदहरुलाई हिजो नै जुनकुनै बेला जे पनि निर्णय लिनुपर्ने भएकोले काठमाडौंमा आएर बस्न निर्देशन गरिसकेका छन् ।

कांग्रेस नेता साउदले कांग्रेस र माओवादी मिल्दा १०९ मात्रै पुग्ने भएकाले जसरी हुन्छ जसपालाई एक ढिक्का बनाएर विपक्षमा मत दिन बनाउने प्रयासमा आफूहरू रहेको बताए । ‘जसपा एक ढिक्का भएर विपक्षमा नआउँदै हाम्रो पक्षमा बहुमत र ओलीजीको विपक्षमा बहुमत पुग्दैन । तसर्थ हामीले जसपालाई एकढिक्का विपक्षमा लाग्ने बनाउन प्रयास गरिरहेका छौं,’ साउदले भने ।


कांग्रेस सभापति देउवाले ठाकुर र यादवलाई छुट्टाछुट्टै रूपमा ओलीको विपक्षी मोर्चामा आउन टेलिफोनबाट र भेटेरै आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया