शुक्रबार, वैशाख १४, २०८१

१३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

आफ्नै दिवसबारे बेखबर छन् श्रमिक

किरण अधिकारी २०७८ वैशाख १८ गते ६:५०

काठमाडौं । ‘केको श्रमिक दिवस मनाउने ? काम गरि खानै पर्ने भएकाले, यस्तो लकडाउनमा समेत काम गर्न पाएको छु’ जनकपुरका श्याम यादवको भनाइ हो यो । उनी काठमाडौंको नयाँ बानेश्वरस्थित भवन निर्माणमा सरिया काटिरहेका थिए ।

काठमाडौंको मीनभवनमा बस्ने, अर्घाखाँचीकी शारदा गैरे लुगाधुन, भाँडा माझ्न घरघरमा जाने गर्छिन् । ‘लकडाउनका कारण काम गर्न कमैले मात्र बोलाउँछन्, सबैले नबोलाउने भएकाले खान, लाउन, बस्न र बच्चाबच्चीलाई पाल्न गाह्रो हुन्छ, हाम्लाई किन अन्तराष्ट्रिय श्रमिक दिवस’, उनले प्रश्न गरिन् ।

यी दुई त उदाहरण मात्र हुन् । नेपालका सबै स्थानमा ज्यालादारी गरी खाने, घर चलाउनेको संख्या बढ्दो छ । सरकारीसँगै निजी संस्था, कारखाना, उद्योग तथा घरायसी काम गर्ने श्रमिकको उचित पारिश्रमिक हुनुपर्छ । ‘काम गरे माम, नभए बेकाम’ हुनुहुदैन ।

पछिल्लो समय कोरोनाका कारण श्रमिकको समस्या बढ्दै गएको छ । कोरोनाका कारण स्वदेश तथा विदेशमा अलपत्र परेका श्रमिकका बारेमा तालुकदार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बेखबर छ ।

१३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा सरकारदेखि ट्रेड युनियन सबैले शुभकामना दिन्छन् । गतवर्ष जस्तै शनिबार पनि लकडाउनका कारण कार्यक्रम गर्न नपाएकामा दुखेसो पोख्छन् । तर श्रमको अधिकार नारामा मात्र सीमित हुन्छ ।

आज मे १ । ‘एकदिन त्यस्तो आउने छ, अहिलेको हाम्रो चुपचाप तिम्रो ठूलो आवाजभन्दा शक्तिशाली हुनेछ’ भन्ने नाराका साथ विश्वभर आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । सन् १८८६ को मे ४ मा अमेरिकाको सिगाकोमा हेयर मार्केट काण्ड भएको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।

नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ । तर यस दिनलाई विसं २०६४ बाट मात्र सार्वजनिक बिदाको दिने घोषणा गरियो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउनुको मुख्य उद्देश्य हेयर मार्केट काण्डकाण्डमा मारिएका श्रमिकलाई साँचो श्रद्धाञ्जलि दिनु हो । ८ घण्टा काम, ८ घण्टा आराम ८ घण्टा मनोरञ्जनको माग गर्दै श्रमिक आन्दोलन भएको थियो । हेयर मार्केट काण्डभन्दा अघि संसारभरका श्रमिकले १६ घण्टा काम गर्थे । मे दिवसले श्रम क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद डा बिन्दा पाण्डे स्वदेशी तथा विदेशी जो श्रमिक भए पनि उसलाई समान अधिकार र सम्मान दिनुपर्ने बताउँछिन् । ‘नेपाली श्रमिकको खाडी मुलुकमा दर्दानक छ, दैनिक जीवनयापनका लागि श्रम गर्नेलाई सबै राष्ट्रले सबैलाई सम्मान गर्नुपर्ने हुन्छ’, उनी भन्छिन् ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल श्रमिकका समस्या अझै हट्न नसकेको बताउँछन् । श्रमिकले भोग्दै आएका समस्या हटेमात्र श्रमिक दिवस मनाउनुको उद्देश्य पूरा हुने उनको भनाइ छ ।

विद्यमान शोषणको जरालाई समूल नष्ट गरी शोषणरहित समाज निर्माण गर्नका लागि श्रमिक वर्गको एकता र बलमा आन्दोलन गरी समाजवादी क्रान्ति गर्ने र उनीहरुकै अधिनायकत्वमा वैज्ञानिक समाजवादी शासन व्यवस्था र समाज स्थापना गर्नुको विकल्प नभएको माक्सवादले सिकाएको छ ।

तर अहिले श्रमिक आन्दोलनले विश्वव्यापी रुपमा शक्तिशाली भएको छैन । अन्तराष्ट्रिय श्रमिक दिवस मे १ लाई रीत पुर्याउने किसिमले मात्र नभई नयाँ समयमा नयाँ ढङ्गले कदम चाल्नुपर्छ ।

श्रमविज्ञ डा गणेश गुरुङले कामको सम्मान गर्न जान्नेले मात्र विकासको गति लिन सक्ने बताए । उनले भने, ‘श्रमिक र मजदुर फरक हो, मे १ श्रमको सम्मान चाड अर्थात् श्रमिक दिवस हो यहाँ कार्य पद भन्ने हुँदैन, सञ्चार माध्यमले यो पनि बुझ्न आवश्यक छ ।’

विश्व सर्वहारावर्गका नेता फ्रेडरिक एङ्गेल्सले प्रथम अन्तर्राष्ट्रिय श्रमिक दिवसमा भनेका थिए, ‘अब सबै ठाउँका पूँजीपति र जमिन्दारहरुले महसुस गरेको हुनुपर्छ कि सबै ठाउँका सर्हावरा वर्ग एकजुट भएका छन् । कठै मार्क्स आज मसँगै यो दिन देख्न बाँचेको भए ।”

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया