शुक्रबार, वैशाख १४, २०८१

बेनी अस्पतालले शुरु गर्‍यो ‘हेलो डाक्टर’ सेवा

मेरोन्यूज २०७८ वैशाख १६ गते १५:४६

बेनी । बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशनअनुसार बुधबारदेखि बहिरंग सेवा बन्द भएपछि ‘हेलो डाक्टर’ सेवा शुरु गरेको छ । तीव्ररूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि अस्पतालले सिकिस्तबाहेकका बिरामीलाई अस्पताल नआउन अनुरोध गर्दै मोबाइलबाटै चिकित्सकले परामर्श दिने सेवा शुरु गरेको हो ।

अस्पतालका नौ चिकित्सक, आकस्मिक, भर्ना कक्ष र व्यवस्थापन समितिका अध्यक्षको मोबाइलमा सम्पर्क गरेर बिरामी अथवा आफन्तले फोन गरेर चिकित्सकबाट परामर्श लिन पाउने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । अस्पतालले नियमित औषधि सेवा गर्ने बीमा गरेका सेवाग्राहीका लागि समेत अस्पतालको सेवा लिनका लागि समय तालिका बनाएर सार्वजनिक गरेको छ ।

बेनपाका वडा नं ७ र १ का बासिन्दाका लागि आइतबार, बेनपा–२, मालिका र मङ्गला गाउँपालिकालाई सोमबार, जलजला गाउँपालिका, बेनपा–४ र १० लाई मङ्गलबार, बेनपा–८ र ९ लाई बुधबार, बेनपा–४, ६ र धवलागिरि गाउँपालिकालाई बिहीबार तथा रगुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनपा–५ लाई शुक्रबारको समय तालिका बनाइएको छ ।

अस्पतालमा भीडभाडका कारण कोरोना सङ्क्रमण फैलने जोखिम बढेकाले आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द गरेको छ । केही दिनयता म्याग्दीमा लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ । बुधबार म्याग्दीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया