बिहीबार, साउन २१, २०७८

काठमाडौं उपत्यका सहित १० जिल्लामा निषेधाज्ञा, उलङ्घन गरे के कारवाही हुन्छ ?

मेरोन्यूज २०७८ वैशाख १६ गते ७:५७

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सोमबार नै जारी गरेका छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको हो ।

Advertisement

सूचनाअनुसार तीन जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्ले १५ दिन भनेपनि तत्काललाई ७ दिने सूचना मात्रै जारी भएको हो।

अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । यस्तै डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् । विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ ।

ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न दिइएको छ ।

Advertisement

यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन सञ्चालनमा रोक लगाइएको छैन ।

सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाइने छ भने विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था मिलाइएको छ ।

यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने उल्लेख छ ।​

संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाएको छ ।

तीन जिल्लाको जारी आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ ।
काठमाडौं उपत्यकाका तीन सहित १० जिल्लाले पनि निषेधाज्ञा जारी गरेका हुन् । कोरोना संक्रमणको हव बन्दै गएका जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

उल्लंघन गरे के सजाय हुन्छ ?
निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने छ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

संक्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया