शुक्रबार, वैशाख १४, २०८१

जाजरकोट र रुकुमपश्चिमका गाउँगाउँमा विद्युतको केन्द्रीय प्रसारण लाइन

मेरोन्यूज २०७८ वैशाख १४ गते १०:१९

जाजरकोट । विद्युतको केन्द्रीय प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुमपश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ ।

जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत पुगेसँगै गाउँले खुशी भएका छन् ।

त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–३ खदीमा सल्लीको दियालोबाट उज्यालो गर्ने दिन हटेको छ । नेपाल विद्युत प्राधिकरणले रुकुमपश्चिमको दुर्गम खदीगाउँमा केन्द्रीय लाइन विस्तार गरेपछि खदीवासीले दियालोबाट मुक्ति पाएका हुन् ।

नगरपालिकाका १४ वडामध्ये ३ नम्बर वडाको खदीमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो । पुस्तौंदेखि नै सल्लाको दियालो प्रयोग गर्ने स्थानीयवासी बिजुली पाउँदा खुशी भएका छन् ।

अहिलेसम्म खदीका ६० घरमा मिटरबक्स जडान गरी बिजुली बालिएको छ । दुई सय ५७ घरमा विद्युत पु¥याउने गरी केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको वडाध्यक्ष केशरमान विकले बताए ।

गत पुस २५ गते खदीको ट्रान्सफर्मरमा बिजुली बलेको थियो । प्राधिकरणको लाइन विस्तार परियोजनाअन्तर्गत जिल्लाका अन्य ठाउँमा पनि विद्युत विस्तार तीव्र पारिएको छ । हाइड्रो इनर्जी÷महाशक्ति जेभीले जिल्लामा विद्युत विस्तारको काम गरिरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि हरि चन्दका अनुसार १९ करोड ३७ लाख रुपौयाँ लागतमा विद्युत विस्तारको काम भइरहेको छ । जिल्लामा प्राधिकरणका झण्डै १२ हजार उपभोक्ता छन् ।

रुकुमपश्चिममा सल्यान र जाजरकोटका सबस्टेशनबाट विद्युत आपूर्ति शुरु भएको छ । सल्यानको शीतलपाटी र जाजरकोटको कुदु सबस्टेशनबाट विद्युत आपूर्ति थालिएको हो । यसअघि सल्यानको शीतलपाटीबाट मात्र विद्युत आपूर्ति भइरहेको थियो ।

कुदु सबस्टेशनबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा विद्युत आपूर्ति शुरु गरिएको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए ।

रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ धैरेनीचौरमा पनि विद्युत सबस्टेशन बन्दैछ । यसै महिनाभित्र उक्त सबस्टेशनबाट पनि विद्युत आपूर्ति थालिने भट्टराईले बताए ।

उनका अनुसार धैरेनीचौरमा ३३ केभी क्षमताको विद्युत आपूर्ति हुने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको हो । कुदु सबस्टेशनको विद्युतलाई जिल्लाका झण्डै १२ हजार ग्राहकसँग लिङ्क गरिएको छ ।

त्यस्तै जाजरकोटको भेरी नगरपालिका, पश्चिम छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाका अधिकांश ठाउँमा विद्युत सेवा शुरु गरेको बताएको छ । केही महिनाभित्र नलगाड नगरपालिकामा समेत विद्युत् सञ्चालन गरिने छ । (रासस)

प्रतिक्रिया