शुक्रबार, वैशाख १४, २०८१

यी हुन् परीक्षाअघि नै प्रश्नपत्र बाहिर ल्याउने पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारी र विद्यार्थी

मेरोन्यूज २०७८ वैशाख १३ गते १६:५७

मोरङ । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको इञ्जिनियरिङ संकायतर्फको बिई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षाअगाडि नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ८ बस्ने ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभा मादी नगरपालिका ६ बस्ने ३५ वर्षीय गोपाल कार्की, रूपन्देही तिलोचन नगरपालिका १२ बस्ने ३० वर्षीय विजय पोखरेल रहेका छन् ।

यस्तै, गोरखा भिमसेन गाउँपालिका १ बस्ने ३२ वर्षीय मिन प्रसाद भट्ट, गोरखा गण्डकी गाउँपालिका ३ बस्ने ३१ वर्षीय भरत पठन, गोरखाकै गोरखा नगरपालिका ४ बस्ने २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ बस्ने २८ वर्षीय निर्मल खड्का, महोत्तरी रामगोपालपुर नगरपालिका ९ बस्ने २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन नगरपालिका ७ बस्ने २९ वर्षीय जीवन कुमार यादव र सप्तरी अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव रहेका छन् ।

परीक्षा हुनुअगाडि नै उनीहरूले प्रश्नपत्र बाहिर ल्याएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धानमा खटिएका थिए । सोही क्रममा उक्त विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर ल्याएको भन्ने खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया