शनिबार, वैशाख १५, २०८१

उपत्यकामा दुई साता ‘लकडाउन’ गर्न तीन जिल्लाका सिडियोको प्रस्ताव

आजको मन्त्रिपरिषद बैठकमा छलफल हुने

मेरोन्यूज २०७८ वैशाख १३ गते ९:१७

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र बनेपछि काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोले कम्तीमा पनि दुई साता लकडाउन गर्न प्रस्ताव गरेका छन् । गृह मन्त्रालयमा आइतबार भएको बैठकमा उपत्यकाका तीनै जिल्लाका सिडियोले कोरोनाको ‘चेन ब्रेक’ गर्न कम्तीमा दुई साता निषेधाज्ञा जारी गर्न अत्यावश्यक भइसकेको बताएका थिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रमुख जिल्ला अधिकारीको सुझावलाई कोभिड–१९ संकट व्यवस्थापक केन्द्र (सिसिएमसी) र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताएका थिए । बैठकमा गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो ।

लकडाउननै काेराेना नियन्त्रणकाे उपाए नभए पनि तीव्र गतिमा फैलिएकाे संक्रमण राेक्न तत्काल कुनै न कुनै कदम चाल्न सकारमाथि दबाब परेकाे छ । जनजीवन प्रभवित हुने गरी लकडाउन नगर्ने सरकारकाे तयारी छ । गतवर्ष कडा खालकाे लकडाउन गर्दा सर्वसाधारणले निकै सास्ती व्यहाेरेका थिए ।

आइतबारै साँझ बसेको सिसिएमसीको बैठकले पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित नाघेपछि निषेधाज्ञा जारी गर्न सिफारिश गरेको थियो । यस्तै सिसिएमसीले सबै तहका परीक्षा तत्कालका लागि स्थगन गर्ने निर्णय पनि गरेको थियो ।

उपत्यकामा कोरोना संक्रमण बढेसँगै तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । कोरोना नियन्त्रण गर्न अख्तियार गर्नुपर्ने निर्णय लिन आजै काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोको संयुक्त बैठक बस्दैछ । आजै अपराह्न ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । बैठकमा सिसिएमसीको सिफाशिबारे छलफल हुनेछ ।

प्रतिक्रिया