शनिबार, वैशाख १५, २०८१

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज पनि

मेरोन्यूज २०७८ वैशाख १० गते १०:१७

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज पनि बस्दै छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान ११ बजे बस्ने गरी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै आएको माधव नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

यसअघि वैशाख ६ गते सोमबार बसेको महाधिवेशन आयोजक समितिको बैठक नेपाल पक्षले बहिस्कार गरेको थियो । यद्धपी नेपाल पक्षका केही नेता उपस्थित थिए ।

सो बैठकले नेपाल पक्षका २७ जना संघीय सांसदलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टी अनुशासन विपरीत गुटबन्दी गरेको आरोप ओली समूहले नेपाल समूहलाई लगाउँदै आएको छ । यही बीचमा कर्णाली प्रदेशसभामा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएपछि अध्यक्ष ओली झन रुष्ट भएका छन् ।

प्रतिक्रिया