शुक्रबार, वैशाख १४, २०८१

हुम्लामा बैशाखमा पनि हिमपात, स्थानीय अचम्भित

मेरोन्यूज २०७८ वैशाख ९ गते १०:१६

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा स्थानीय अचम्भित भएका छन् ।

पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका उनीहरुलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल बोहराले बताए ।

बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ । सिमकोटको अहिले बिहानको तापक्रम माइनस ४ डिग्रीमा झरेको छ ।

हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधबार दिउँसो १ बजेबदेखि शुरु भएको हिमपात जारी रहेको छ । नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीयवासी सोनाम लामाले बताए ।

विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताए । मङ्गलबार चार हजार ६०० मिटर अग्लो स्थानमा रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधबारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ ।

किसान खुशी
लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान खुशी भएका छन् । मङ्गलबार राति वर्षा र बुधबार रातिदेखि हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भन्दै किसान खुशी भएका हुन् ।

कात्तिकमा उत्पादन हुने बालीका लागि आकासेपानीको भरमा आजभोलिको समयमा खनजोत गरेर यहाँका किसानले छर्कने गर्दछन् ।

यो पटक परेको वर्षा र हिमपातले कात्तिक, असोज महिनामा उत्पादन हुने कोदो, चिनो, कागुनो, मकै, सिमी, फापरका लागि सहज बनाएको छ । (रासस)

प्रतिक्रिया