शनिबार, वैशाख १५, २०८१

अधिवेशन अन्त्यपछि सरकारका प्रवक्ता भन्छन्

प्रधानमन्त्री बन्न रहर भएकालाई अवसर दिएका थियौँ, सरकार परिवर्तनको कुरै गरेनन्

अरुलाई भेला हुन रोक्ने, तर सांसदहरु लाइन लागेर संसद् जाने कुरा हुँदैन

मेरोन्यूज २०७८ वैशाख ६ गते १९:३३

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई अवसर दिइएको भए पनि विपक्षीबाट त्यसको सदुपयोग हुन नसकेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको प्रतिक्रिया दिएका छन् ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि विभिन्न प्रतिक्रिया सार्वजनिक भएको सन्दर्भमा उनले बढ्दो कोरोना संक्रमण तथा संसद्को गतिविधिलाई नै अगाडि बढाउन नदिने केही दलका गतिविधिका कारण सरकारले अधिवेशन अन्त्य गरेको प्रष्ट पारे ।

“संसद्सँग विजनेस नभएकाले धेरै अगाडि स्थगितका लागि सिफारिस गर्नुपथ्र्यो । तर, सरकार परिवर्तन गर्ने र प्रधानमन्त्री बन्न रहर भएकालाई हुने अवसर दिएका हौँ । सरकार परिवर्तनका लागि कुनै गतिविधि नगरेको र समर्थन फिर्ता लिन चाहनेले पनि नलिएकाले स्थगित गरिएको हो”, उनले भने ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, “संसद्मा अविश्वासको प्रस्ताव आउँछ भनेर सरकार भागेको होइन, अविश्वासको प्रस्ताव छल्नका लागि संसद् स्थगित गरिएको पनि होइन ।” कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको र संसदपनि नियमित अगाडि बढ्न नसकेकाले अधिवेशन स्थगित गरिएको उनको भनाइ थियो ।

“अरुलाई भेला हुन रोक्ने, तर सांसदहरु लाइन लागेर संसद् जाने भन्ने हुँदैन, त्यसैले अधिवेश अन्त्य गरेका हौँ”, उहाँले भन्नुभयो । सरकारले आजै अपराह्न १ बजेदेखि लागू हुने गरी संघीय संसद्को चालु अधिवेश अन्त्य गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया