शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् त एजेन्डा ?

मेरोन्यूज २०७८ वैशाख ५ गते ८:३७

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक विषय र आसन्न १४ औं महाधिवेशनको विषयमा छलफल गर्न कार्यसमिति बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा राजनीतिक एजेन्डासँगै महाधिवशेनको कार्यतालिकाका विषयमा छलफल हुने नेता प्रदीप पौडेलले जानकारी दिए ।

कांग्रेसले राजनीतिक विषयमा छलफल गर्न भन्दै यसअघि पटक/पटक बोलाएका बैठक कार्यसूचीमा प्रवेश नै नगरी सकिएका थिए ।

यसअघि चैत २१, २७ र ३० गते बोलाएको बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल नभएपछि सर्दै आएको थियो ।

आजको बैठकमा शनिबार भएको सर्वदलीय बैठक, केन्द्रदेखि प्रदेशसम्मको सत्ता समितिकरण लगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएपनि त्यसले सार्थकता पाउन सकेको छैन । नयाँ सत्तासमिकरणका लागि हालसम्म भएका प्रगतिका विषयमा पनि छलफल हुने बताइएको छ ।

एमाले नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउन कांग्रेस सहित माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव खेमा लागि परेको छ । जसपा कै महन्थ ठाकुर र राजेनद्र महतो खेमा भने ओली सरकारलाई नै समर्थन गर्ने मनस्थितिमा छ ।

वागमती र गण्डकी प्रदेशको विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

यस्तै १४ औं महाधिवेशनको कार्यतालिका अन्तर्गत कै क्रियाशील सदस्यता दर्ताको विषयमा पनि छलफल हुने नेता पौडेलले बताए । गत चैत मसान्तसम्ममा क्रियाशील सदस्यता दर्ता प्रक्रिया सक्ने भने पनि हालसम्म ६ लाखको नाम मात्र दर्ता भएको छ ।

९ लाख क्रियाशील सदस्य थप्ने लक्ष्य रहेको कांग्रेसले बताउँदै आएको छ । क्रियाशील सदस्यको नाम दर्ता गर्न अझै समय थप्न पर्ने भएको छ । दर्ताको काम सकिएपछि छानविन गर्नुपर्ने भएकाले आगामी भदौमा महाधिवशेन गर्न यही रफ्तारमा काम गर्दा नभ्याउने पौडेलको भनाई छ ।

भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले अब कार्यतालिका केही संशोधन गरेर भएपनि फास्ट ट्रयाकबाट काम गर्नुपर्ने पौडेल बताउँछन् ।

प्रतिक्रिया