शनिबार, मंसिर ११, २०७८

आगलागी पीडितको पालमुनी बास

मेरोन्यूज २०७८ वैशाख २ गते १३:०४


बाजुरा । सामुदायिक वनमा लागेको डडेलो पसलमा पस्दा आगलागीमा परेर घरवारविहीन भएका पीडितको पालमुनी बास भएको छ । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ भट्टी बजारमा उनीहरु पालको टहरो बनाइ रात बिताउन बाध्य छन्।

Advertisement

सामुदायिक वनमा लागेको आगो एकाएक जोरायल गाउँपालिका–२ भट्टी बजारमा मङ्गलबार राति आउँदा त्यहाँका तीन पसल जलेर नष्ट भएका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायक उपरीक्षक ईन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट स्थानीय होटल सञ्चालक नवलसिंह परियारको एक भान्सा, एक होटेल तथा उहाँकी छोरी दुर्गा दमाइँको एक पसल जलेर नष्ट भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बुडर शाखाले उपलब्ध गराएको पालको छानो बनाएर उनीहरु रात बिताउन बाध्य भएका जोरायल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रमिला जोशीले बताए । उनले भने, “आगलागी पीडित तीन दिनदेखि सडकमै पाल टाँगेर बसेका छन्, उनीहरुलाई खान, बस्न, सुत्नमा समस्या छ, राहतका लागि पहल हुनसकेको छैन् ।” आगलागीका कारण कम्तीमा पनि ३० लाख बराबरको पक्की घरसहित अन्य सम्पत्ती क्षति भएको बताइएको छ ।

पछिल्लो एक महिना अघिदेखि उक्त सामुदायिक वनमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन नसक्दा गाउँघरमा आगलागी हुन थालेको छ ।

उनले भने, “वैशाख महिनाको टन्टालापुर घाममा पीडित खुला सडकमा पाल टाँगेर बसेका छन्, केही स्थानीयवासीले खानलाई दिए पनि सरकारी निकायबाट राहतका लागि कुनै पहल भएको छैन, जो आफैमा दुःखको कुरो हो ।”
जिल्लास्थित एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन् । यहाँका नौवटै स्थानीय तहमा रहेका सामुदायिक वनमा एक महिना पहिलेदेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा जलेर पनि नष्ट भएका छन् ।

Advertisement

दिपायल सिलगढी, पूर्वीचौकी, केआइसिंह, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन नष्ट हुनुका साथै आगो गाउँ बस्तीमा आउन थालेको दिपायल सिलगढी नगरपालिका– ६ की स्थानीय ऐश्वर्या विष्टले जानकारी दिए ।

उनका अनुसार पानी नपर्दा सुख्खायामले जङ्गलमा आगलागी भएको छ, सयौँ हेक्टर जमीन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर नष्ट भएका छन् । स्थानीयवासीका अनुसार जङ्गल क्षेत्रका दर्जनौंँ सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गइरहेको छ ।

डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीको आरोप छ । जिल्लामा करीब ३५० सामुदायिक वन छन् । रासस

प्रतिक्रिया