शुक्रबार, वैशाख १४, २०८१

व्यक्तिगत घटना दर्ता अभियान आज सुरु हुँदै

मेरोन्यूज २०७८ वैशाख १ गते ८:०५

काठमाडौँ । सरकारले आजदेखि ‘घटना दर्ता विशेष अभियान’ शुरु गर्दैछ ।

सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्‍याउने तथा अन्य घटना दर्ता उल्लेख्य रूपमा वृद्धि गर्ने उद्देश्यले सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च महत्व दिँदै देशव्यापीरुपमा सञ्चालन गर्न लागेको हो ।

प्रत्येक वर्ष वैशाख १ गतेलाई व्यक्तिगत घटना दर्ता दिवसको रूपमा र वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै आएकोमा यस वर्षको घटना दर्तालाई विशेष अभियानका रूपमा वैशाख १ देखि १६ गतेसम्म सबै स्थानीय तहमा सञ्चालन गर्न लागेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

विभागले सबै स्थानीय तहलाई वैशाख १ देखि १६ गतेसम्म आ आफ्नो वडा तथा नागरिकलाई लक्षित गरी पायक पर्ने स्थानमा शिविर सञ्चालनमार्फत व्यक्तिगत घटना दर्तालाई अभियानका रूपमा सञ्चालन गर्न आवश्यक समन्वय तथा सहयोग गरेको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए ।

शिविरमा व्यक्तिगत घटना दर्ता गर्नेदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको निवेदन सङ्कलन र व्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धी गुनासो दर्ता गर्न सकिने निर्देशक जोशीले बताए ।

देशभरका ६ हजार सात सय ४३ वटै वडा कार्यालय तथा स्थानीय तहले तोकेको स्थानमा अभियान सञ्चालन हुने विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए ।

सरकारले सञ्चालन गर्न गइरहेको अभियान सफल बनाउन सञ्चारमाध्यमको ठुलो भूमिका रहेको बताउँदै आम नागरिकले सही समयमा सूचना प्राप्त गरेको अवस्थामा मात्रै उल्लेख्य सहभागिता रहने र सरकारको अभियान सफल हुने बताए ।

२०७२ साल चैत्र १३ गतेदेखि काठमाडौँ महानगरपालिकाको वडा नं. १ र १६ बाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुचारु गरेको विभागले हाल देशभरका ६ हजार सात सय ४३ वडामध्ये ४ हजार दुई सय ९६ वडामा अनलाइनमार्फत घटना दर्ता गरिरहेको छ ।

प्रतिक्रिया