शुक्रबार, वैशाख १४, २०८१

बैशाख १ गते चुच्चे नक्सा भएको पदक वितरण गरिने

मेरोन्यूज २०७७ चैत २८ गते १७:१६

काठमाडौँ । बैशाख १ गते सरकारले प्रदान गर्ने विभुषणमा नेपालको चुच्चे नक्सा रहेको तक्मा दिने भएको छ । गृह मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै नयाँ अंकित नक्सा भएको तक्मा दिने जनाएको हो ।

सरकारले २०७७ सालको विभुषण पदक २०७८ वैशाख १ गते प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्धारा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई तक्मा दिने व्यवस्था रहेको छ ।

मन्त्रीपरिषदको निर्णयबाट सिफारिस भएअनुसार संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभुषण प्रदान गर्ने घोषणा भएका घोषित विभुषण वैशाख १ गते प्रदान गरिने भएको छ । मानपदवीतर्फ सुप्रसिद्ध जनसेवि प्रथम श्रेणी १ जना, प्रसिद्ध प्रबल जनसेवा श्री (द्धितीय) ४ जना, सुकीर्तिमय राष्ट्रदीप (तृतीय) ७, सुप्रबल जनसेवा श्री (तृतीय) ८६, कीर्तिमय राष्ट्रदीप ८ जना, प्रवल जनसेवा श्री २ सय ४२ जना, जनसेवा श्री १०४ जनाले पाउने छन् ।

यस्तै अलङ्कार तर्फ १ सय १४ र पदकतर्फ २७ गरी जम्मा ५ सय ९३ जनाले पाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । चिकित्सक डा. सन्दुक रुइतसहित यसबर्ष ५ सय ९३ जनालाई मानपदवी र अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषण गरिएको छ । चिकित्सक डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) प्रदान गरिएको छ ।

न्यायाधीश दीपककुमार कार्की, अख्तियारका अवकाशप्राप्त प्रमुख आयुक्त नविन कुमार घिमिरे, प्रधान सेनापति पुर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रसिद्ध प्रबल जनसेवा श्री (द्धितीय) प्रदान गर्ने निर्णय गरिएको छ । अख्तियारका आयुक्त डा. गणेशराज जोशी, बनस्पतिविज्ञ डा. तीर्थ बहादुर श्रेष्ठ, सचिव केदार बहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम के.सी, सशस्त्रका अर्का एआईजी रामशरण पौडेल र नापीविज्ञ बुद्धि नारायण श्रेष्ठलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय) प्रदान गर्ने निर्णय गरिएको छ ।

यस अघि २०७६ सालको विभुषणमा प्रदान गरेको तक्मामा नेपालको अंकित नयाँ नक्सा नभएको भन्दै चौतर्फि विरोध भएको थियो ।

को को पाउँदैछन् पदक

प्रतिक्रिया