शुक्रबार, वैशाख १४, २०८१

तीन दलको वैठक

कांग्रेसको प्रस्तावलाई माओवादीले गर्यो स्वागत तर जसपाले माग्यो समय

मेरोन्यूज २०७७ चैत २७ गते १७:३३

काठमाडौं । नयाँ सत्ता समीकरणबारे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । सत्ता समीकरणबारे निर्णय गर्न शुक्रबार बसेको ३ दलको बैठकमा जनता समाजवादी पार्टी ( जसपा) ले समय मागेपछि आजको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयबारे दलहरूलाई औपचारिक जानकारी गराएका थिए । उनले भने, “आजको बैठकमा सकारात्मक छलफल भएको जसपाको पार्टी बैठक बसेपछि पुन ३ दलको बैठक बस्ने सहमति भएको छ।”

कांग्रेसले ल्याएको प्रस्तावका विषयमा पार्टीको वैठक बसेर आधिकारिक निर्णय गर्ने जसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

उनले भने “हाम्रो पार्टीको तर्फबाट हामीले संविधानको स्प्रीड विरुद्ध गएको , प्रतिनिधिसभालाई विघटन गरेको र सम्पुर्ण रुपले निरंकुश दिशातिर अघि बढ्न खोजेको र क्रियाकलाप गरिरहेको केपी ओलीको सरकारलाई हटाएर संविधान र लोकतन्त्रलाई रक्षा गर्न चाहने शक्तिहरुको सरकार बनाउनु आवश्यकता छ भनेर हामीले भन्दै आएका छौ । अहिले नेपाली कांग्रेसले औपचारिक रुपमा निर्णय गरेर त्यसो गरौ न भनेर जुन प्रस्ताव राखेको छ । यसलाई हामी सकारात्मक रुपमा लिएर स्वागत गर्छौ । र जसपाले छिटै निर्णय गर्ने भनेकाले हामी छिटो भन्दा छिटो यो निर्णय होस् भन्ने चाहन्छौ । भनेर भन्यौ ।”

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसले ल्याएको प्रस्ताव स्वागत योग्य रहेको बताए । उनले बैठकमा नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव सभापति देउवाले गरेको बताए । प्रधानमन्त्री ओली सर्वसत्ताबादी भएको र उनले राज्यसत्ता कब्जा गर्न खोजेको भन्दै देउवाले ओलीबाट लोकतान्त्रीक चुनाव हुन नसक्ने भन्दै ओलीको विकल्पमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव अघि सारेको उनले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय गरेको थियो।

प्रतिक्रिया