शुक्रबार, वैशाख १४, २०८१

जसपाको च्याँखे दाउ : पाए प्रधानमन्त्री नपाए मन्त्री

मेरोन्यूज २०७७ चैत २३ गते १४:३६

काठमाडौँ । नयाँ सत्ता समीकरणमा कांग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच रस्साकस्सी परिरहेका बेला जनता समाजवादी पार्टी च्याँखे दाउमा रहेको छ ।
नेपाली कांग्रेसको शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले केपी ओली नेतृत्वको सरकारको राजिनामा माग गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेसँगै देशमा नयाँ सरकार बन्ने आँकलन गरिरहेका बेला जसपा भने आफ्नै नेतृत्वमा सरकार बनाउने च्याँखे दाउ सुरु गरेको छ ।

नयाँ सरकार निर्माणका लागि निर्णायक रहेको जसपालाई एमालेले एकातर्फबाट फकाउने र कांग्रेस / माओवादीले अर्कोतर्फबाट फकाउँदै जाँदा उसको राजनीतिक बजार मूल्य आकासिएको छ । यसको फाईदा उठाउँदै जसपाले मौकामा चौका हान्ने प्रयास स्वरुप एकाएक आफुले प्रधानमन्त्री पाउनुपर्ने माग राख्न सुरु गरेको छ ।

आईतबार जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न पुगेका कांग्रेस नेता रामचन्द्र पौडेललसँग ठाकुरले प्रधानमन्त्री पदको माग गरेसँगै पुनः राजनीतिक वृत्त तरंगित भएको छ । यससँगै सो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार डा. बाबुराम भट्टराई कि महन्थ ठाकुर भन्ने समेत चर्चा सुरु भएको छ । यद्यपि पार्टी एकीकरणपछि जसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गरिसकेको छैन ।


जसपामा नेता ठाकुर र राजेन्द्र महतो समूह ओलीसँग नजिक छ, भने नेता डा.बाबुराम भट्टराई र उपेन्द्र यादव कांग्रेस / माओवादी गठबन्धनसँग नजिक देखिएका छन् । जसपाका दुबै समुहले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै यसलाई प्रतिष्ठाको विषय समेत बनाएका छन् ।

आवश्यक परे फुट्न तयार हुने तर नझुक्ने नीति लिएका दुबै समुहले आफु अनुकुलको सरकार बनाउन प्रयासरत छन् । एमालेको सहयोगमा सरकार बने आफु प्रधानमन्त्री बन्ने ठाकुरको योजना छ भने कांग्रेस / माओवादी सहयोगमा सरकार बने डा. भट्टराई प्रधानमन्त्री हुने योजना छ ।

दुबै समुहको च्याँखे दाउ भने पाए प्रधानमन्त्री । नपाए आफ्नो समुहका बढी भन्दा बढी सदस्यलाई मन्त्री बनाउने योजना छ । तर दुबै समुह आफुले भनेकै पार्टीसँग गठबन्धन बनाउनुपर्नेमा टसमस देखिएका छैनन् । ठाकुर र महतोले एमालेसँगै गठबन्धन बनाउनुपर्ने र डा.भट्टराई र यादव कांग्रेस / माओवादीसँगै गठबन्ध बनाउनुपर्नेमा जुटिरहेका छन् ।


दुवैतिरबाट सरकारमा सहभागी हुने प्रस्ताव आएपछि जसपाका शीर्ष नेताहरू मात्र होइन,दोस्रो तहका नेता पनि दुई कित्तामा बाँडिएका छन् ।
बाबुराम भट्टराई, उपेन्द्र यादव र उनीहरू निकट नेताहरू कांग्रेस / माओवादी केन्द्रसँग मिलेर सत्ता साझेदारी गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर,राजेन्द्र महतोलगायत नेताहरू ओलीसँग निकट देखिएका छन् ।

सत्ता समीकरणका विषयमा नेपाली कांग्रेसका नेताहरूले पनि जसपासँग भेटघाट र कुराकानी जारी राखेका छन् । माओवादी केन्द्रसँगको कुराकानीमा धेरैजसो जसपाका संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष यादव सहभागी हुने गरेका छन् ।

जसपाको मुख्य माग रेशम चौधरीको रिहाई रहेको छ । सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्धामा प्रधानमन्त्री केपी ओलीसँग सत्ता साझेदारी गरे चौधरीको रिहाइ गर्न सकिने अनुमान जसपाको रहेको छ । खासगरी महन्थ ठाकुर र राजेन्द्र महत्तोले चौधरीको रिहाइलाई मुख्य शर्त बनाएका छन् ।

त्यसका लागि गत सोमबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा थारु आन्दोलनकारीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन भएको थियो । अर्कोतर्फ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा जसपा नेता लक्ष्मणल कर्ण लगायतको वार्ता टोलीसँग एमालेसँग वार्ता गरिरहेको छ । ‘ओलीसँग सत्तासमीकरण गरे तत्काल हाम्रा माग पूरा गर्ने तहमा कुराकानी भैरहेको छ । हाम्रो कांग्रेससँगपनि कुराकानी चलिरहेको छ तर कांग्रेस सभापति आफैले वार्ता गर्न त्यति रुचि देखाईरहनुभएको छैन’, जसपाका एक उच्च नेताले भने ।


ती नेताका अनुसार ओलीसँग सहकार्य भए तत्कालै माग पूरा हुने संभावना छ, तर देउवासँग सहकार्य हुँदा तत्काल माग पूरा हुनेभन्दा पनि सरकारमा जाने हतारो मात्रै हुन्छ । उनका अनुसार तत्काल ओलीसँग नै मिल्दा जसपालाई फाइदा हुनेछ । ‘लामो समय सरकारबाहिर रहेको अवस्थामा रेशम चौधरीको रिहाइसँगै सरकारमा जाँदा आउदो निर्वाचनमा जसपालाई राजनीतिक फाइदा हुने अवस्था छ’, ती नेताले भने । जसपाका अध्यक्ष महन्थ ठाकुरलेे सार्वजनिक रुपमै केेेपी ओली आफुहरुको मागमा सकारात्मक रहेेेको र ओलीसँग सहकार्य गर्न सहज हुुने अभिव्यक्ति दिईरहेेका छन् ।

चौधरीको रिहाइ शर्त राखेर जसपासँग सत्ता समीकरण गर्न देउवालाई कठिन छ । सुदुरपश्चिमकै डडेल्धुरामा घर भएका देउवा अखण्ड सुदुरपश्चिम आन्दोलनमा सहभागीहरु समूदायलाई चिढ्याउन चाहँदैनन् । अखण्ड सुदुरपश्चिमको आन्दोलन हुँदा थरुहट आन्दोलनको मूख्य नेताको रुपमा चौधरी देखिएका थिए ।

‘सरकार बनाउने नाममा रेशम चौधरीको रिहाइलाई मूख्य शर्त देउवाका लागि गरुङ्गो पर्ने अवस्था छ’,सुदुरपश्चिमका एक कांग्रेस नेताले भने ।
गत २०७४ सालको संसदीय निर्वाचनमा आफु डडेल्धुरा र पत्नी आरजुलाई कैलालीबाट उठाएका देउवा यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट आफु र पत्नी आरजुलाई उठाउने तयारीमा छन् ।

थारुहट आन्दोलनका नेता चौधरीलाई छाड्ने शर्तमा जसपालाई साथ लिए कैलालीमा देउवालाई कठिन हुनेछ । देउवाले जसपासँग गठबन्धन गर्न नचाहनुको अर्को कारण मधेसको भोट बैंक पनि हो । विगतमा पहाडलाई कम्युनिष्टको भोट बैंक र तराई / मधेसलाई कांग्रेसको भोट बैंकको रुपमा लिईन्थ्यो ।
तर मधेसवादी दलको उदयसँगै मधेसमा कांग्रेसको भोट बैंकमा क्षति भयो । कांग्रेसको यो मनस्थिति बुझेका जसापका नेताहरु ओलीसँग नजिक भएर चौधीलाई रिहा गर्न चाहन्छन् ।‘ओलीजीहरु हाम्रो मागमा सहमत भैसक्नु भएको छ कहिले हस्ताक्षर गर्ने हो त्यसको मिति पर्खाइमा हामी रहेका छौ’, जसपाका नेता लक्ष्मण लाल कर्णले भने ।

यद्यपि प्रधानमन्त्री ओलीले रेशम चौधरीको रिहाइको बारेमा अदालतले निर्णय गर्ने बताइसकेका छन् । सर्वोच्च अदालतमा चौधरीको मुद्धा विचराधिन अवस्था छ । सो मुद्धाबारे जसपाले सहजीकरण खोजिरहेका बेला प्रधानमन्त्री ओलीले महान्याधिवक्ताको कार्यालय मार्फत सहजीकरण गर्ने आश्वासन दिइसकेकाले पनि जसपा ओलीसँग सहकार्य गर्ने र जतिसक्दो धेरै नेताहरुलाई मन्त्री बनाउने योजनामा छन् । राजपा निकट उच्चस्राेतका अनुसार केपी ओली सरकारलाई सुरुमा विश्वासकाे मत लिन नदिई संसद विघटनको वातावरण बनाईदिने र संसद विघटनपछिकाे चुनावी सरकारमा सहभागी हुने विकल्पमा समेत छलफल भईरहेकाे छ ।

प्रतिक्रिया