शनिबार, वैशाख १५, २०८१

बिमस्टेक बैठक आज

मेरोन्यूज २०७७ चैत १९ गते ७:०१

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) का सदस्य मुलुकहरूको १७औं परराष्ट्र मन्त्रीस्तरीय बैठक बिहीबार हुँदै छ ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका केही सदस्य मिलेर बिमस्टेक बनेको हो । यसमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान छन् ।

बिमस्टेकको अहिलेको अध्यक्ष श्रीलंका हो । हरेक दुई वर्षमा हुनुपर्ने बिमस्टेकको शिखर सम्मेलन सन् २०१८ मा नेपालमा चौथोपटक भएपछि रोकिएको छ । पाँचौं शिखर सम्मेलनको तयारीका रूपमा पनि अहिलेको १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठकलाई हेरिएको छ ।

मन्त्रीस्तरीय बैठकका एजेन्डा तय गर्न बुधबार परराष्ट्र सचिवस्तरीय बैठक बसेको थियो । सचिव स्तरीय बैठकमा सदस्य राष्ट्र म्यान्मारको नरसंहारको विषय भने उठेन । सदस्य राष्ट्र म्यानमारमा सैनिक शासकविरुद्ध प्रदर्शन चर्किरहेको छ ।

विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठकमा नेपालको तर्फबाट वरिष्ठ अधिकारीहरुको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए ।

बैठक पूर्वनिर्धारित एजेन्डा अनुसारै अघि बढेको र बीचमा कसैले पनि म्यान्मारमा भएको घटनाबारे नबोलेको स्रोतले जनायो । सचिव पौड्यालले बैठकमा सन् २०१८ मा नेपालमा आयोजना गरिएको चौथो विमस्टेक शिखर सम्मेलन र त्यसपछिका अन्य उच्चस्तरीय बैठकहरुको निर्णयहरु कार्यान्वयनमा भएको प्रगतिको मूल्यांकन गरेका थिए ।

उनले विमस्टेक क्षेत्रका जनताको प्रगति र समृद्धिका लागि सदस्य राष्ट्रबीच गहिरो सहयोगको माध्यमबाट विमस्टेकलाई प्रभावकारी संगठन बनाउन ठोस प्रयास गर्न जोड दिएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया