शुक्रबार, वैशाख १४, २०८१

कर्णाली प्रदेशका मूख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने

मेरोन्यूज २०७७ चैत १८ गते १०:४४

काठमाडौं । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत लिन ध्यानाकर्षण गराउनु भएको छ ।

प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १८८ को २ बमोजिम विश्वासको मत लिन ध्यानाकर्षण गराएको हो । संविधानको उक्त धारामा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन यही चैत ४ गते फिर्ता लिने निर्णय गर्दै सरकारमा रहेका आफ्ना मन्त्रीलाई समेत फिर्ता बोलाएको थियो ।

पार्टी एकता हुनुअघि नै एमालेले २०७४ फागुन ३ गते माओवादी केन्द्रका नेता शाहीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । सर्वोच्चको फैसलाले पूर्ववत अवस्थामै फर्किएपछि एमालेले सकरारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

कर्णाली प्रदेशसभामा सभामुखसहित एमालेका २० सदस्य, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सदस्य छन् । एमालेले समर्थन फिर्ता लिएपछि मूख्यमन्त्री शाहीलाई बहुमत पु¥याउन कठिन देखिएको छ ।

प्रतिक्रिया