शनिबार, वैशाख १५, २०८१

कोरोनाले थला पर्दै पर्यटन उद्योग, २०२१ को लक्ष्य भेट्न मुस्किल

किरण अधिकारी २०७७ चैत १७ गते ८:४८

काठमाडौं । कोरोना संक्रमणका कारण सन् २०२१ मा लक्ष्यअनुसार विदेशी पर्यटक नभित्रने प्रारम्भिक संकेत देखिन थालेको छ । सन् २०२१ को तेस्रो महिना सकिन लाग्दासमेत पर्यटक आगमनमा देखिएको कमीले त्यस्तो संकेत गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० मनाउँदै गर्दा विश्वभर फैलिएको कोरोनाले नेपाललाई समेत प्रभावित पार्न थालेपछि सरकारले भ्रमण वर्षलाई नै स्थगन गरेको थियो । सन् २०२१ मा क्रमशः यस क्षेत्रमा सुधारको अपेक्षा गरिएपनि अवस्था सुधारोन्मुख देखिएको छैन ।

विश्वभर नै कोरोना संक्रमणमा कमी आएको तथा कोरोनाविरुद्धको खोपले आपतकालीन प्रयोगको अनुमति पाएसँगै पर्यटन आवागमन बढ्ने अपेक्षा गरिएको भएपनि पछिल्ला दिनमा विश्वव्यापीरुपमा कोरोनाको लहर देखिन थालेपछि फेरि पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेकोे तथ्याङ्कले पर्यटक आगमन १३ दशमलव ८२ प्रतिशतले घटेको देखाएको छ । होटल व्यवसाय संघ (हान) का अध्यक्ष सिर्जना राणाले कोरोनाका कारण पर्यटक नआउँदा विगत एक वर्षदेखि होटल व्यवसाय नै ठप्प बनेको बताइन् ।

‘अहिले होटलमा व्यापार छैन, तर होटल खोलेपछि कर्मचारीलाई तलब नदिइ हुन्न । होटल खोल्नु भनेको कर्मचारीलाई तलब दिनुबाहेक केही छैन,’ राणाले मेरोन्यूजसँग भनिन्, ‘समस्या होटललाई मात्र होइन पर्यटक घुमाउने ट्रेकिङ गाइडलाई समेत अफ्ठ्यारो परेको छ ।’ स्वास्थ्य मापदण्डका सबै उपायलाई अवलम्बन गरेर यो क्षेत्रलाई सक्रिय तुल्याइ राख्नुपर्ने उनको भनाइ छ ।

‘अब स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ, कोरोनाको त्रासमै रहने हो भने श्रम गर्नेदेखि अन्तर्राष्ट्रिय व्यापार, सम्बन्ध विस्तार गर्ने सबै क्षेत्र थलापर्ने निश्चित छ । यसलाई उकास्नका लागि विकल्प तयार पार्नु पर्ने हुन्छ,’ राणाले भनिन् । छिमेकी देश भारतमा नयाँ प्रकारको कोरोना देखिन थालेपछि नेपालमा थप चिन्ता बढाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा आन्तरिक तथा बाह्य पर्यटक भ्रमण आय १९ दशमलव २ प्रतिशतले कमी आई ६० अर्ब ८९ करोड रहेको तथ्याङ्क छ । अघिल्लो वर्षमा (आव २०७५/०७६) पर्यटन भ्रमण आय १० प्रतिशतले बढेको थियो । तर आव २०७७/०७८ को पछिल्लो ९ महिनाको तथ्यांक सार्वजनिक भइसकेको छैन । गत आर्थिक वर्षमा भ्रमण आय ७ अर्ब ७५ करोड रुपैयाँ रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

नेपालको संविधानले पर्यटन संस्कृतिको विकास गर्दै प्राप्त लाभको वितरणमा स्थानीयलाई प्राथमिकतामा जोड दिएको छ । संविधानको भावनालाई कार्यान्वयन गर्न थुप्रै संकल्प र प्रयास भएका छन् । पर्यटकीय सम्पदाको पुनर्निर्माण, प्राचीन सम्पदाको संरक्षण, पर्यटकको सुरक्षा र पर्यटन सेवा–सुविधाको गुणस्तरीयता, भरपर्दो हवाई सेवा, पर्यटनमैत्री पूर्वाधार, पर्याप्त सूचना र पर्यटकीय गन्तव्यको विविधीकरणका साथै स्वास्थ्य सन्तुलन कार्यान्वयन गरेर नेपाली पर्यटन व्यवसायलाई मजबुत बनाउनुको विकल्प छैन ।

पर्यटन विकासका लागि निजी, सहकारी, नागारिक, समाज तथा सामुदायिक क्षेत्रको सहभागिता अपरिहार्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालको भनाइ छ । उनले मेरोन्यूजसँग भने, ‘कोरोना समस्याका कारण पर्यटनले हुने आर्थिक सम्पन्नतामा लाभांश हुन सक्दैन तर समस्या लगातार नहोला भन्नेमा आशावादी रहेका छौँ, केही समयपछि पर्यटनमा प्रगति हुन्छ ।’

पर्यटन क्षेत्रलाई सहुलियत प्रदान गर्न सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत कर, शुल्क, व्याजलगायत सुविधाको व्यवस्था गरिएको छ । १ अर्ब २६ करोड रुपैयाँको बजेट छुट्ट्याएर एक प्रदेश एक पर्यटकीय गन्तव्यको अवधारणाअनुरुप मौलिक संस्कृतिको विकास र प्रवर्दन गर्न पर्यटन पूर्वाधारको विकास गर्ने तयारी सरकारको छ ।

पर्यटन क्षेत्रलाई शीघ्र पुनःस्थापित गर्न पर्वतीय, कृषि, ग्रामीण, जलयात्रा, सांकृतिक, मनोरञ्जन, खेल, स्वास्थ्य तथा पर्यापर्यटनलगायत नयाँ पर्यटकीय सेवा विस्तार गर्न आवश्यक पूर्वाधार विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ । पर्यटन आगमन, पदयात्रा, हिमाल आरोहण र उद्धारलाई थप व्यवस्थित एंव सुरक्षित बनाउन नवीन पर्यटन सूचना व्यवस्थापन लागू गर्ने बजेटमा उल्लेख भए पनि कोरोनाका कारण कार्यले पाइला टेकेको छैन ।

पर्यटन विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन कागजमा मात्र सीमित छ । पर्यटन विकासका लागि सरकारले राष्ट्र सेवक कर्मचारी तथा संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई समेत देशदर्शन गर्न प्रोत्साहित गरिने भनिएको भएपनि कारोनाका कारण समस्या ज्यूँका त्यूँ छन् ।

अब सरकारको योजना के छ त ? पर्यटनमन्त्री ढकाल भन्छन्, ‘विश्व समस्याको बेला सबै योजना लागू हुँदैन, केही समय पर्खेर हेर्दा सहज वातावरण बन्न सक्छ । चालू आर्थिक वर्षमा सबै कार्य गर्न नसकिए, आगामी आर्थिक वर्षमा यसलाई निरन्तरता दिन सकिन्छ ।’

पर्यटक आगमन घट्नुको प्रमुख कारण कोरोना भाइरसको संक्रमण नै हो । नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घट्नुमा पर्यटकको स्वागतदेखि सेवा सुविधामा ध्यान दिन नसक्नु रहेको पर्यटन व्यवसायीको भनाइ छ । जसको असर कूल गार्हस्थ उत्पादन (जिडिपी)मा नै परेको देखिएको छ । तर सरकार भने पर्यटन क्षेत्रको योगदान जिडिपिमा २ प्रतिशत मात्र रहेको तथ्य मान्न तयार छैन । जिडिपीमा पर्यटन उद्योगको योगदान ७ प्रतिशत रहेको सरकारको जिकिर छ ।

अहिलेको अवस्थामा पर्यटन क्षेत्रको डामाडोलको अवस्थालाई सुधार गर्न पनि पर्ख र हेरको विकल्प नभएको उपप्राध्यापक एंव पर्यटन विज्ञ सुमन धितालको भनाइ छ । उनी भन्छन्, ‘नेपालमा आउने विदेशी एवं एक ठाउँबाट अर्को ठाउँमा जाने स्वदेशी पर्यटकलाई खुसी राख्न के–के गर्ने भन्नेभन्दा पनि कोरोनाबाट बच्न र छिटो कोरोनाको अन्त्य गर्ने उपायमा लागे मात्र पर्यटन क्षेत्र उकालो लाग्ने देखिन्छ ।’

१५औँ योजनाको अन्तिम वर्षसम्ममा ३५ लाख विदेशी पर्यटक ल्याउने, बसाइ अवधि सरदर १५ दिन र औसत खर्च प्रतिदिन एक सय डलर बनाउने लक्ष्य लिइएको छ । कोरोनाबाट जोगिँदै पर्यटकीय गतिविधि अगाडि बढाउनुको बिकल्प छैन ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया