शुक्रबार, वैशाख १४, २०८१

राजा महेन्द्रसँग जोडिएका एक अन्तर्राष्ट्रिय गाँजा व्यापारी

पुरुषोत्तम पौडेल २०७७ चैत १४ गते ९:१७
जोसेफको पुस्तक ‘द किङ अफ नेपाल : लाइफ विफोर द ड्रस वार’


पिटरकेली : म केही दिनदेखी तनावमा छु। नेपालबाट उच्च गुणस्तरको गाँजा आउँदै छ । मेरा अन्य काम (पिटर गायक पनि थिए)ले गर्दा म विमानस्थल जान सक्दिन। के तिमी मेरा लागि यो काम व्यवस्थापन गर्न सक्छौँ ?

जोसेफ : ठीक छ । तर, मलाई आधा भाग चाहिन्छ ।


गाँजा व्यापारका क्रममा मेरो र पिटरको परिचय भएको थियो र हामी दुईले मिलेर यसअघि पनि यस्ता काम गरेकाले मैले त्यो प्रस्तावलाई सहज रुपमा स्वीकार गरें ।
अमेरिकामा हजारौं
पर्ने गाँजालाई नेपालमा सय डलरसम्म आउँदो रहेछ । त्यो बेला नेपालमा अमेरिकी डलरको सटही दर १ डलर बराबरको १० रुपैयाँ थियो । नेपालबाट आएको गाँजा लिन म न्यूर्योकको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्छु । तिब्बतियन चित्र अङ्कित प्लाइवुडको बाकस र मास्टिफ प्रजातिको कुकुरको साहयतमा गाँजा अमेरिका ल्याइएको रहेछ । अहिले जस्तो विमानस्थलमा मेटल डिटेक्टर नहुँदा भन्सार कटाउन खासै गाह्रो हुँदैन थियो । देशभित्र गर्दै आएको गाँजाको व्यापार पैसाकै लागि अन्तर्राष्ट्रिय रुपमा गर्ने थालेको यो मेरो पहिलो घटना थियो ।

सन् २००७ मा प्रकाशित जोसेफको पुस्तक ‘द किङ अफ नेपाल : लाइफ विफोर द ड्रग वार’ मा उनले यो कुरा उल्लेख गरेका छन् । सन् २००१ मा नेपालमा भएको दरबार हत्याकाण्डलाई मुख्य विषय बनाएर जोसेफले उक्त पुस्तक लेखेका हुन् । जोसेफको पुरा नाम भने जोसेफ आर पियट्री हो ।

अमेरिकी भन्सार कटाएर नेपाली गाँजा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याए पनि प्रत्यक्ष रुपमा जोसेफको सम्बन्ध नेपालसँग त्यसअघि थिएन । नेपालसँग सम्वन्ध बनाउने यो अवसर पनि उनलाई साथी पिटरका माध्यमबाट नै जुर्‍यो । गाँजा अमेरिका पुर्‍याउन खेलेको समन्वय वापत पिटर उनीसँग गाँजा कारोबार गर्ने नेट दम्पतीलाई उनीहरुको हिस्साको पैसा दिन चाहन्थे ।

तर उनी विविध कारण यात्रा गर्न असमर्थ हुन्छन् । जसका कारण उनी त्यो पैसा दिएर जोसेफलाई भारत पठाउँछन् । नेट दम्पतीले यो कारोवार भूमिगत रुपमा सञ्चालन गरेकाले पनि विश्वसनीय मान्छेको हातमा नै पैसा पठाउनु दुवै पक्षका लागि बाञ्छनीय हुन्थ्यो ।

तत्कालीन समयमा गाँजा प्रयोग नेपाल र भारत दुवै देशमा गैरकानूनी थिएन । तर, त्यसको व्यपार गर्न भने रोक थियो । नेपालको गाँजा विदेश पैठारी गर्ने भएकाले नेट दम्पतीले यो काम भूमिगत रुपमा सञ्चालन गरेको ‘द किङ अफ नेपालः लाइफ विफोर द ड्रग वार’ पुस्तकमा बताइएको छ ।

यी दम्पतीलाई भेट्न जोसेफ भारतको बम्बई (हालको मुम्बई) हुँदै गोवा पुग्छन् । त्यहाँबाट जोसेफको पहिलो नेपाल यात्रा सुरु हुन्छ । यस यात्रामा नेट र उनका साथी टोड स्थलमार्ग हुँदै नेपाल आउँछन् भने जोसेफ र नेटकी श्रीमती जिफ, बम्बईबाट हवाईमार्ग हुँदै नेपाल आएको पुस्तकमा वर्णन छ ।

बौद्ध बसाई र महेन्द्र कनेक्शन

बौद्ध नजिकै नेट दम्पतीको आफ्नै डेरा हुन्छ । उनीहरुको डेरा नजिकैको तत्कालीन डबल दोर्जे होटेलमा जोसेफलाई बस्ने व्यवस्था मिलाइन्छ । ‘कुनै पनि ट्याक्सी त्यो बेला बौद्ध जान मान्दैन थिए,’ १९६० को दशकको अन्त्य तिरकोे बौद्धको वातावरण सम्झदै उनी लेख्छन्,‘चावहिलमा ट्याक्सीबाट उत्रिएर यात पैदल हिड्नु पर्थ्यो वा सार्वजनिक यातायतबाट बौद्ध जानुपथ्यो ।’

यसो हुनुमा गाँजा खाने मानिसको बौद्ध आसपासमा हुने वाक्लो उपस्थितिलाई उनी एक कारण मान्छन् । बौद्ध तत्कालीन समयमा खम्पा विद्रोहीहरुको अखडा भएको पनि उनी सम्झन्छन् । ‘तिब्बती पठारमा विद्रोह गर्न अमेरिकी गुप्चतर संस्था सिआईएले खटाएको अर्ध सैन्य दस्तालाई खम्पा विद्रोही भनिन्थ्यो’, उनी भन्छन् ।

गाँजा व्यापारका लागि पश्चिमा देशबाट नेपाल आउने जोसेफ पक्कै पहिलो व्यक्ति थिएनन् । यो कुराको पुष्टि नेट, उनकी श्रीमती जिफ् र साथी टोडको नेपालमा उनीसँगै भएको उपस्थितीले बताउँछ । जोसेफ भने नारायणहिटीसँग जोडिन पुगे । तर, कसरी ?

जोसेफको भेट बौद्ध स्तुपाका तत्कालीन प्रमुख सिने लामासँग हुन्छ, नेट पत्नी जिफ् मार्फत । सम्पन्न देखिने जोसेफसँग लामाले हार्दिक सम्बन्ध स्थापित गर्छन् र उनलाई आफ्नो छोरा बनाउँछन् । यो देखेर नेटकी श्रीमती दङ्ग परेको जोसेफ आफ्नो पुस्तकमा बताउँछन् ।

‘लामाले मलाई आफ्नो हातको सुनको औठी लगाई दिए’, जोसेफ सम्झन्छन्,‘ लामाले मसँग यस्तो व्यवहार गरे की म उनको वषौँ अघि हराएको सन्तान हुँ ।’ तत्कालीन राजा महेन्द्रको पालामा दरबारका लागि लागु औषधको करोवार गर्ने गरेको केही समयअघि मसँग कुरा गर्दै जोसेफले भनेका थिए ।

‘मेरो भेट राजा महेन्द्रसँग सन् १९६५ पछि भएको हो,’ भर्चुअल कुराकानीका क्रममा महेन्द्रसँगको भेट सम्झदै जोसेफ भन्छन्, ‘महेन्द्रसँग मेरो भेट सिने लामाको माध्यमबाट भएको हो ।’ सन् १९६० को दशकमा नेपालमा राजा विरोधी गतिविधि बढ्दा त्यसलाई नियन्त्रण गर्न लामाले महेन्द्रलाई हातहतियार उपलब्ध गराएको उनी दाबी गर्छन् । यो कुरा उनको पुस्तकमा पनि वर्णन गरिएको छ । सिने लामाको थप परिचय दिदैँ उनी भन्छन्, ‘लामा बौद्धनाथ स्तुपाको प्रमुख भएर पनि काम गरेका व्यक्ति हुन् ।’

बौद्ध क्षेत्रमा सिने लामा सामन्ती राजा जस्ता थिए जोसेफ सम्झन्छन् । त्यो क्षेत्रका सबैले उनलाई चिन्थे र उनले सबैलाई । २८ भाषाका ज्ञाता लामाबारे केही पर दरबारमा बस्ने राजा अनविज्ञ रहने कुरै भएन ।

सिने लामासँगको परिचयपछि लामाको सहयोगमा जोसेफले नेट र उनकी श्रीमती जिफलाई नेपाली गाँजा बजारबाट विस्थापन गर्छन् । निजी गुप्तचरका मान्छे लगाएर नेटले आफूमाथि साङ्घातीक आक्रमण गर्ने कोशिस गरेपनि लामाका कारण त्यो सफल नभएको उनी बताउँछन् ।
यसैबीच उनलाई अमेरिकाको अनुसन्धान सम्बन्धी संघीय ब्यूरो (एफबिआई) ले नियन्त्रणमा लिने कोशिस गरेको उनी कुराकानीको क्रममा बतउँछन् ।

एफबिआईको त्यो प्रयासलाई महेन्द्रले विफल पारेको उनको दाबी छ । ‘एफबिआई नेपाल आउने खबर पाएर तत्कालीन राजा मेहन्द्रले मलाई विरगञ्जको बाटो हुँदै भारत निर्वासनमा पठाए,’ उनी थप भन्छन्, ‘ राजा महेन्द्र कै सहयोगका कारण म नियन्त्रणमा नपरेको हो ।’

महेन्द्रले आफूलाई बचाउनुमा सिने लामाले आफूलाई छोरा समान व्यवहार गर्नु कारण भएको उनी बताउँछन् । तर के सिने लामासँग सम्बन्ध भएकै आधारमा महेन्द्रले जोसेफलाई एफबिआईबाट बचाए होलान् त ? हाम्रो यो प्रश्नमा उनी भन्छन्,‘सायद म राजदरबारप्रति अलिक बढी नै बफादार थिए की ?’

जोसेफसँग गरिएको कुराकानीका केही अंश


गाँजा खोज्न हेलिकप्टर चार्टर

नेट दम्पतीको नेपाल बहिर्खमनपछि नेपालबाट हुने अन्तर्राष्ट्रिय गाँजा व्यापार सिने लामा र जोसेफको एक्लौटी भयो । यसक्रममा गाँजा खोज्नकै लागि जोसेफ हेलिकप्टर चार्टर गरेर पश्चिम नेपालको रारा तालसम्म पुगेको उनले पुस्तकमा लेखेका छन् ।

यसरी ल्याइएका गाँजा अमेरिका नियात गर्नुअघि सिने लामाले सबै धार्मिक विधि अपनाएर बौद्ध स्तुपामा पूजा पाठ लागाउने गरेको उनी सम्झछन् र, उपर्युक्त साइत हेरेर गाँजा निकासी गरिएको उनीसँग सम्झना छ ।

‘त्यसबेला गाँजा बेच्न सरकारी इजाजतपत्रका लागि नेपाली हजार रुपौँया लाग्थ्यो भने विदेश पठाएको पाइएमा दण्ड स्वरुप त्यती नै पैसा लिइने व्यवस्था थियो,’ उनी भन्छन्, ‘त्यसो हुन नदिन गणेश लामा भन्सारको सबै काम मिलाउँथे भने म बाहिरको अरु काम।’ गणेश लामा सिने लामाका छोरा हुन् ।

उमेरले ७१ लागेको जोसेफ हाल संयुक्त राज्य अमेरिका छोडेर ल्याटिन अमेरिकामा बसोबास गर्ने सोचमा रहेको केही समयअघि भएको कुराकानीमा उनले बताएका थिए । जीवनको करिब ५० वर्ष अन्तर्राष्ट्रिय गाँजा व्यपारमा संलग्न उनी नेपालमा गाँजालाई अवैध बनाउनमा अमेरिकाको हात रहेको मान्दछन् ।

तत्कालीन समयका अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले सन् १९७३ मा नेपालका तत्कालीन राजा विरेन्द्रलाई नेपालमा गाँजालाई अवैधानिक घोषणा गर्न पचास मिलियन अमेरिकी डलर दिएको पुस्तकको प्ररम्भमा नै बताइएको छ। यसको स्पष्ट कारण उल्लेख नगरे पनि उनले अमेरिकाको विदेशी लागुऔषध नीतिका कारण नेपाल लगायत देश मर्कामा परेको दाबी गर्छन् ।

आफूले राजा महेन्द्रको प्रत्यक्ष संरक्षणमा नेपालमा गाँजा व्यापार गरेको बताउने जोसेफ महेन्द्रका तीन छोरा तत्कालीन राजा विरेन्द्र, धिरेन्द्र र पूर्वराजा ज्ञानेन्द्रसँग भने आफ्नो कुनै सम्बन्ध नभएको दाबी गर्छन् ।

प्रतिक्रिया