शनिबार, वैशाख १५, २०८१

महामारी

भारतमा नयाँ प्रकारको कोरोना भाइरस, नेपालमा रोक्न के गर्दै छ सरकार ?

सञ्जिता खनाल २०७७ चैत १२ गते १९:४५

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ प्रकारको ‘भेरिएन्ट’ फेला परेसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतको स्वास्थ्य मन्त्रालयले मार्च २३ मा विभिन्न १८ राज्यमा ‘डबल म्यूटन्ट’ अर्थात् दोहोरो उत्परिवर्तन भएको नयाँ कोरोना भाइरस फेला परेको जनाएको थियो ।

तर भारतीय अधिकारीका अनुसार स्थानीयस्तरमा बढिरहेको संक्रमणको दर र नयाँ प्रकारको भाइरसबीचको सम्बन्ध तथ्याङ्कले पुष्टि गरेको छैन् । नेपाल–भारत खुल्ला सीमा, दुई देशका नागरिकको ओहोरदोहोरलगायत कारणबाट नेपालमा पनि भारतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको जोखिम उत्तिकै मात्रामा बढेको छ । भारतमा देखिएको नयाँ प्रकारको ‘भेरिएन्ट’ नेपालमा पनि फैलन सक्ने भन्दै नेपाल सरकारले त्यसको रोकथामको तयारी थालेको छ ।

“यस्तो अवस्था आउन सक्छ भनेर हामीले पहिले नै पूर्वानुमान गरिसकेका थियौँ, त्यही भएर हामी तयारी गरिरहेका छौँ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मेरोन्यूजसँग भने । उनका अनुसार भारतमा कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ देखिएपछि नेपालले अहिलेको अवस्थालाई निगरानी गरिरहेको छ । सरकारले परिस्थिति हेरर थप रणनीति अख्तियार गर्ने उनको भनाइ छ । मन्त्रालयले बढ्दो जोखिमलाई मध्यनजर गरी नेपाल भित्रनेलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरिरसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण पौडेलले सीमा नाका तथा विमानस्थलमा ‘हेल्थ डेक्स’ सञ्चालनमा ल्याइएको बताए । ज्वरो आएका यात्रुको सम्भव भएसम्म एन्टिजेन र मलेरिया परीक्षण शुरु गरिसकिएको उनले बताए । उनले मेरोन्यूजसँग भने, “कोरोना संक्रमण बढेको अवस्था छैन्, अहिले हामी संक्रमण नियन्त्रण गर्न तयारी गरिहेका छौँ ।”

डा पौडेलका अनुसार एन्टिजेन पोजेटिभ देखिएका गम्भीर लक्षण नभएकालाई होम आइसोलेनमा पठाउने गरिएको छ । जटिल अवस्थाका व्यक्तिलाई नजिकैको अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सकको निगरानी वा अस्पताल भर्ना गरेर उपचारको तयारी गरिएको छ । उनले भने, “हालसम्म हेल्थ डेक्समा भारतको महाराष्ट्रबाट आएका ७ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।” कोरोना परीक्षणको दायरासमेत बढाउने डा पौडेलले जानकारी दिए ।

उनका अनुसार क्वारेन्टिनमा रहेकालाई निगरानी गर्न सबै स्थानीय तहलाई निर्देशन दिइएको छ । संक्रमितको सम्पर्कमा आएकाको ‘कन्ट्याक ट्रेसिङ’ गरिने बताइएको छ । समुदायमा लक्षण भएका बिरामीको पहिचान गरी निगरानी बढाइने भन्दै उनले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत आग्रह गरे । मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ । भेला, जुलुस, प्रदर्शन, भीडभाड हुने क्रियाकलाप नगर्न मन्त्रालयले अपिल गरिसकेको छ ।

के नेपालमा पनि नयाँ प्रकार पत्ता लाग्न सक्छ ?
हाल भारतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस परीक्षण गर्न सक्ने क्षमता भएको तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यता प्राप्त प्रयोगशाला र उपकरण नेपालमा छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले नयाँ प्रकारको कोरोना भाइरस पत्ता लगाउने उपकरण झिकाउने काम अन्तिम चरणमा पुगेको बताए ।

“अबको एक सातासम्ममा उक्त उपकरण आउने मन्त्रालयले जानकारी दिएको छ”, उनले भने, “उपकरण सञ्चालन गर्न कर्मचारीलाई तालिम दिइसकिएको छ, उपकरण र रसायन आउनेबित्तिकै तुरुन्तै परीक्षण गछौँ ।” स्वास्थ्य मन्त्रालयले नयाँ प्रकारको भाइरस हो वा होइन भनेर पत्ता लगाउन हङकङस्थित डब्लुएचओको प्रयोगशालामा पठाउने गरेको छ । नेपालमा हालसम्म करिब २३ लाखले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । नेपालले प्राप्त गरेको २५ लाख डोज मध्येबाट बाँकी खोप आगामी वैशाख ७ गतेदेखि अग्रपंक्तिमा खटिनेलाई दोस्रो डोज लगाउने सरकारको तयारी छ ।

यता, भारतले अक्सफर्ड–आस्ट्राजेनेकाले विकास गरेको तथा भारतको सीरम इन्स्टिच्युटबाट उत्पादित ‘कोभिशिल्ड’ खोपको निर्यातमा अस्थायी रोक लगाएको छ । भारतको यस प्रकारको निर्णयबाट नेपालको खोप कार्यक्रम प्रभावित हुने देखिएको छ ।

सरकारको तयारीबारे विज्ञ यसो भन्छन्
नेपाल–भारत खुल्ला सीमाना र अत्याधिक आवतजावत हुने हुँदा संक्रमण दर बढ्ने खतरा रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् । सरकारले झारा टार्ने हिसाबले काम गर्न नहुने, विगतबाट पाठ सिकेर पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने तथा जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीको भनाइ छ ।

उनका अनुसार अहिले पनि सरकारले हवाई मार्गमार्फत आउनेलाई परीक्षण नगर्ने र स्थलमार्ग हुँदै आएकामध्ये पनि ज्वरो देखिएलाई मात्र परीक्षण गर्दा कोरोना फैलने खतरा बढी हुन्छ । उनले भने, “भारतलगायत अन्य देशबाट आउनेलाई अहिलेदेखि नै हामीले व्यवस्थित रूपमा क्वारेन्टिनमा राख्न थाल्यौँ भने जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ ।”

डा मरासिनीले सीमा नाकामा चिकित्सकसहितको टोली राख्न सुझाव दिए । “शंकास्पद संक्रमितलाई आइसोलेनसमा राख्ने अधिकार चिकित्सकलाई दिनुपर्छ”, उनले भने । सरकारले भारतसँगको सीमा क्षेत्रमा कडा रुपले निगरानी गर्नुपर्ने उनको भनाइ छ ।

सरकार र नागरिक दुवै मिलेमात्र संक्रमण फैलनबाट रोक्न सकिने संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न डा पुनले सुझाए ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया